© 2026
काठमान्डौँ ।
सरकारले पूर्वराजा वीरेन्द्र, रानी ऐश्वर्य र उनीहरूको परिवारका नाममा रहेको चल तथा अचल सम्पत्तिको खोजी थालेको छ । यसका लागि संघीय सरकारले देशभरका सबै स्थानीय तहलाई पत्राचार गरेको छ ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयअन्तर्गतको प्रदेश तथा स्थानीय तह समन्वय शाखाले सबै गाउँपालिका र नगरपालिकालाई पत्र लेख्दै सम्पत्ति खोजबिनमा सहजीकरण गरिदिन अनुरोध गरेको हो ।
नेपाल ट्रष्ट ऐन, नेपाल ट्रष्ट नियमावली, २०६४ तथा सम्पत्ति खोजबिन कार्यविधि, २०६७ बमोजिम पूर्वराजा वीरेन्द्र, रानी ऐश्वर्य तथा उनीहरूको परिवारको नाममा रहेको वा उनीहरूको हक, स्वामित्व तथा भोगाधिकार कायम हुन सक्ने नेपालभित्रको चल तथा अचल सम्पत्तिको खोजबिन र अभिलेखीकरण गर्न पत्राचार गरिएको मन्त्रालयले जनाएको छ ।
यस विषयमा नेपाल ट्रष्टको कार्यालय, कमलादीले गत कात्तिक ९ गते छलफल गरी आवश्यक सहजीकरणका लागि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा पत्र पठाएको थियो ।
सोही पत्रका आधारमा मन्त्रालयका शाखा अधिकृत प्रकाश पन्थीले सबै स्थानीय तहलाई पत्राचार गरेका हुन् ।
पत्रमा पूर्वराजा वीरेन्द्र, रानी ऐश्वर्य र उनीहरूको परिवारका नाममा रहेको जग्गाधनी प्रमाणपुर्जा, जग्गाधनी दर्ता स्रेस्ता, फिल्डबुक तथा सोसँग सम्बन्धित अन्य विवरण र कागजात संकलन गरी नेपाल ट्रष्टको कार्यालयमा पठाइदिन अनुरोध गरिएको छ ।