Butwal Today

बर्दघाटमा २८ विद्यार्थी नगरप्रमुख छात्रवृत्तिबाट लाभान्वित

माध्यमिक तहदेखि चिकित्सा शास्त्रसम्मका विद्यार्थीका लागि ७ लाख छात्रवृत्ति विनियोजन
१४ कार्तिक २०८३, शनिबार
अ
अ+
अ-

नवलपरासी ।

आर्थिक अभावका कारण माध्यमिक तहदेखि उच्च शिक्षा हासिल गर्न कठिनाइ भोगिरहेका विद्यार्थीलाई प्रोत्साहन गर्ने उद्देश्यले बर्दघाट नगरपालिकाले २८ जना विद्यार्थीलाई नगरप्रमुख छात्रवृत्ति प्रदान गरेको छ । नगरपालिकाले विभिन्न तहमा अध्ययनरत विद्यार्थीलाई कुल ७ लाख रुपैयाँ बराबरको छात्रवृत्ति वितरण गरेको हो ।

नगरप्रमुख छात्रवृत्ति कार्यक्रमअन्तर्गत माध्यमिक तहदेखि विश्वविद्यालय तह तथा चिकित्सा शास्त्र अध्ययन गर्ने विद्यार्थीसम्मलाई समेटिएको छ । छात्रवृत्तिका लागि ८९ जना विद्यार्थीले आवेदन दिएका थिए । प्राप्त आवेदनमध्ये छनोट भएका २८ जनालाई न्यूनतम १२ हजारदेखि अधिकतम ५५ हजार रुपैयाँसम्म छात्रवृत्ति उपलब्ध गराइएको नगरपालिकाले जनाएको छ ।

नगर प्रमुख शम्भुलाल श्रेष्ठले शिक्षामा सबैको पहुँच स्थापित गर्न र आर्थिक अवस्थाकै कारण कुनै पनि विद्यार्थीको पढाइ प्रभावित हुन नदिन नगरपालिकाले छात्रवृत्ति कार्यक्रमलाई प्राथमिकता दिएको बताए ।

उनले शिक्षा व्यक्तिगत भविष्य निर्माणको आधार मात्र नभई समाज र नगरको समग्र विकाससँग जोडिएको विषय भएको उल्लेख गर्दै आर्थिक रूपमा कमजोर तथा अध्ययनमा रुचि राख्ने विद्यार्थीलाई प्रोत्साहन गर्नु स्थानीय सरकारको दायित्व भएको उल्लेख गरे ।

नगर प्रमुख श्रेष्ठका अनुसार विद्यार्थीको शैक्षिक यात्रामा सहयोग पुर्‍याउने उद्देश्यले सञ्चालन गरिएको छात्रवृत्ति कार्यक्रमले उच्च शिक्षा हासिल गर्ने विद्यार्थीलाई थप हौसला प्रदान गर्ने विश्वास लिइएको छ ।

नगरपालिकाले माध्यमिक तहदेखि विश्वविद्यालय तथा चिकित्सा शिक्षासम्मका विद्यार्थीलाई समेटेर छात्रवृत्ति वितरण गर्नुलाई शैक्षिक अवसर विस्तार र विद्यार्थी प्रोत्साहनको प्रयासका रूपमा लिइएको नगरका शिक्षा अधिकृत डिल्लीराम ढुङ्गानाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?