© २०२३
माघ, १९ रोल्पा । साविक तुल्सीपुर नगरपालिका ९ दाङका चित्रबहादुर नेपालीसँग १६ वर्षमै बिवाह वन्धनमा बाँधिईन देवी नेपाली । विवाह पछि नेपाली दम्पत्तीले जन्मथलो दाङबाट रोल्पा आई छाला जुत्ता पसल गर्न थाले । रोल्पा सदरमुकाम लिवाङमा पहिलो पटक व्यवसायिक ढंगले नेपाली दम्पत्तीले नै छाला जुत्ता पसल सुरु गरेका हुन ।
एकदिन उनको जीवनमा सोच्दै नसोचेको दुःखद घटना आई लाग्यो । पसलको सामान लिन मोटरसाईकलबाट तुल्सीपुर जाँदै गरेका श्रीमान चित्रबहादुर नेपालीको दुर्घटनामा परि घटनास्थलमै मृत्यु भएको खबर आयो । विवाह भएको ८ वर्षमै श्रीमान गुमाउँदाको पीडा अहिले देवीले वर्णन गर्न सक्दैनन् । उनी २४ वर्षको कलिलो उमेरमा एकल जीवन जीउन बाध्य भईन । चार कक्षा पढ्दा पढ्दै घरको गरिबीले उनको पढाई अघि बढ्न सकेन । श्रीमान समेत गुमाएपछि उनी साहारा विहिन भईन । न भने जस्तो पढाइ न त साथ दिने जीवन साथी ।
आफन्त भेट्न दाङ झरेकी देवि फेरी रोल्पा फर्किन । सधैका लागि आफू र नाबालक छोरा छोडेर श्रीमान स्वर्गे भए पछि देवी निकै मर्माहत भईन । अव वाँकी जीवन कसरी जीउने, छोराहरूको भरणपोषण कसरी गर्ने उनलाई यही चिन्ताले सताउन थाल्यो । श्रीमानको काजक्रिया सकेर आफन्तको साथ देवी कर्मथलो रोल्पा फर्र्किन ।
शुरु सुरुमा देवीको आँखा ओभानो हुन पाएनन । साना छोराहरूले वावा खोई भनेर सोध्दा उहाँको मुटु गाँठो परेर आउँथ्यो । सधै रोएर बसेर मात्रै त भएन । उनले श्रीमानले गर्दै आएको पेशालाई निरन्तरता दिने सोच बनाईन । जुत्ता मर्मत गर्ने सामान्य काम त श्रीमानबाट सिकेकी थिईन । छालाका जुत्ता तयार पार्ने काम पनि बिस्तारै सिक्दै गईन । कडा मेहनतका साथ काम गर्दै जान थाले सँगै उनको पसल राम्रोसंग चल्न थाल्यो । बिस्तारै बिस्तारै उनी सबै काममा परिपक्व वन्दै गईन । उनको जीवनमा सकारात्मक परिवर्तन हुन थाल्यो । आम्दानी बढ्दै जान थाल्यो । श्रीमानले व्यापार गर्दा लागेको ऋण २ लाख रूपैयाँ पनि तिरिन ।
सीप र सिर्जना कुनै जात, लिंग र समुदायको हुँदैन । जुन पेसा गरेर जीविकोपार्जन गर्न सकिन्छ, त्यही काम गर्नुपर्छ भन्ने सोंचले जुत्ता–चप्पल बनाउने काम श्रीमान बाट सिकेको उनले वताईन । श्रीमानले ‘निकै कर गरेपछि मात्रै सिप सिकेको बताउँदै अहिले आफ्नो जिविकोपार्जको मुख्य माध्यम नै यही पेशा भएको उनको भनाइ छ । सिप सिकेर दुवै जनाले बराबर काम गर्नेुपर्छ भनेर नै जुत्ता–चप्पल बनाउन सिकेको हुँ देवीले भनिन ।
आफ्नो श्रीमानले सिकाएको काम गरिरहेकी उनले श्रीमानले रोजेको पेशा बचाउन पनि यस कामलाई निरन्तरता दिएको वताईन । विभिन्न निकायहरूले तालिम दिने गरेको सुने पनि आफूले भने अहिले सम्म तालिमको कुनै अवसर नपाएको उनको भनाइ छ । जे जति सिके श्रीमानबाट सिके, थप आफ्नो मेहनतले सिके उनले भनिन् ।
शुरुआतमा निकै अप्ठेरो भयो, न भने जस्तो सिप थियो न सामान बेच्ने कला विगत संझदै देवीले भनिन । केही गर्छु भन्ने हिम्मतका साथ अघि बढेकाले अब केही सहजता भएको छ देवीले भनिन । २०६६ साल तिर जुत्ता सिलाएको रु. ३० बाट सुरु गरेको काम अहिले १२० रूपैयाँ भएको छ उनले भनिन् । अहिले नयाँ डिजाईनका जुत्ता चप्पलहरू विभिन्न विद्यालय, कलेज, सरकारी कर्मचारीको लागि आवश्यक पर्ने डे«सका जुत्ता उत्पादन गर्दै आएको उनले वताईन । १० हजारको लगानी बाट रोल्पा सदरमुकाम लिवाङमा सुरु गरेको दंगाली छाला जुत्ता उद्योगमा अहिले ५ लाख वढीको लगानी भएको उद्योगका प्रोपाईटर देवीले वताइन ।
आफ्नो दुई सन्तानको लालनपालनको लागि बिहान ५ बजे देखि साँझ ७ बजे सम्म उद्योगमा बसेर काम गर्छिन । उद्योगको आमदानीवाट दुई सन्तान पढाएकी छिन । जेठो छो्ररा राकेश १७ वर्षको भए भने कान्छो राजु १४ वर्षका भए । उनीहरू अहिले जिल्ला सदरमुकाम लिवाङमा रहेको बालकल्याण माविमा क्रमशः कक्षा १० र कक्षा ६ मा पढ्छन । छोराहरूको पालनपोषण र माया ममतामा कमी नहोस भनेर आफुले दोश्रो विवाह पनि नगरेको उनको भनाई छ ।
गरिवीका कारण आफूले पढ्न नपाए पनि छोराहरूलाई पढाएर ठूलो मान्छे वनाउने धोको छ उनको । छोराहरूको भविष्यका लागि आफूले दुःख गरेको बताउँदै देवी आफूले पढ्न नपाएकोमा पछुतो लागेको वताईन । श्रीमानको मृत्युपछि समाजमा धेरै दिदी वहिनिहरू आँशुमै डुवेर बाँच्ने गरे पनि आफु भने धैर्यता र साहस पूर्वक श्रीमानकै पेशामा आएकोमा गर्व लागेको छ । कि जीवनभर शोकको आसुमै डुब्ने, कि त अर्को विवाह गर्ने यही परिवेशवाट अधिकांश दिदी वहिनीहरू गुज्रिएका छन देवीले भनिन । दह्रो आत्मविश्वास भए एकल भएर पनि वाकी जीवन आत्मनिर्भरताका साथ जीउन सकिन्छ देवीले भनिन ।
देवीको हिम्मत र आत्मनिर्भर जीवन शैली देखेर जिल्लामा विभिन्न संघ संस्थाले सम्मान समेत गरेका छन । महिला दिवसको अवसरमा महिला तथा वालवालिका कार्यालय रोल्पाले केही वर्ष अघि देवीलाई नगद पुरस्कार र प्रशंसा पत्र प्रदान गरेको थियो । व्यापार व्यवसाय र उद्योग धन्दा पुरुषले मात्रै गर्न सक्छ महिलाले सक्दैनन भन्ने समाजको गलत धारणालाई उनले चूनौती दिइन । एकल भएर पनि जुत्ता उद्योग सञ्चालन जस्तो चूनौती पूर्ण कामलाई सफलताका साथ अघि वढाएर महिला प्रतिको गलत सामाजिक सोचाई र मूल्य मान्यतालाई समेत तोड्न सफल भएकी छिन उनी । युवाहरू रोजगारीका लागि विदेशिने क्रम रोकिएको छैन, पछिल्लो पटक यो मात्रा झनै वढेर गएको छ । सानै उमेरमा श्रीमान गुमाएकी, साना छोराहरू पालेर बस्दै आएकी एकल महिलाको यो प्रेरणादायी काम साँच्चिकै रोजगारी नपाएको भन्दै विदेशिने युवाहरूको लागी प्रेरणादायी छ ।