© २०२३
पूर्व राष्ट्रिय खेलाडी शक्ति गौचनले नेपाली क्रिकेटमा अमिट छाप छाडे । खेलाडी जीवनमा खेलाडीको भूमिका दिएका उनी खेल जीवनबाट रिटायर्ड भएपनि अझ बढी नेपाली क्रिकेटको ग्रासरुटमा लागेका छन् । उमेर समूहका खेलाडी तयार गर्नेदेखि क्रिकेट खेलको पूर्वाधारमा समेत उनी निरन्तर खटिएका छन् । ओमसतिया उनै क्रिकेटर शक्तिको कर्मथलो हो । उनले स–साना खेलाडीलाई क्रिकेटको कखरा सिकाउने स्टार क्रिकेट एकेडेमी यही ओमसतिया गाउँपालिका, वडा नं. २ मा रहेको छ । उनको एकेडेमीमा १२ वर्षदेखि १८ वर्ष उमेर समूहका ६० भन्दा बढी खेलाडीहरू नियमित अभ्यास गर्छन् ।
एकेडेमीमा क्रिकेटको कखरा सिक्न आउनेमा ६० प्रतिशत बढी स्थानीय नै हुन्छन् । त्यसबाहेक विभिन्न जिल्लाबाट समेत आउने गर्छन् । ‘हामीसँग यु १२ र यु १६ लेभलका धेरै खेलाडी छन्’—उनले भने । राष्ट्रिय क्रिकेट टिमबाट सन्यास लिएपछि घर फर्किएका उनी त्यसपछि निरन्तर प्रशिक्षणमै रमाएका छन् । उनी स्थानीय खेलाडीहरूलाई क्रिकेट सिकाउँदै राष्ट्रियस्तरसम्म स्थान दिने गरी मेहनत गरेका छन् । एकेडेमीमा आउने खेलाडीहरूको रुचीलाई मध्यनजर गरी उनीहरूमा भएको ट्यालेन्टलाई पहिचान गरी अभ्यास गराउने गरिएको उनले बताए ।
कतिलाई ब्याटिङ मनपर्ने भएपनि उसमा बलिङ गर्ने राम्रो स्किल हुन्छ । यही खेलाडीको स्किललाई पहिचान गर्ने काम एकेडेमीमा हुन्छ । निरन्तर अभ्यासबाट खेलाडीहरूमा निखार आउने गरेको उनले बताए । बिहान, साँझको नियमित अभ्याससँगै विभिन्न प्रतियोगिता समेत हँुदै आएको छ । गौचनले आफ्नो स्वर्गीय बुबाको स्मृतिमा समेत प्रतियोगिता गराउँदै आएका छन् । वर्षभरि एकेडेमीमा सिकेका सीपलाई खेलाडीहरूले मैदानमा उतार्दा निक्कै आनन्द मिल्ने उनी बताउँछन् । ओमसतिया गाउँपालिकामा धेरै खेलमैदानहरू रहेका छन् । धार्मिक, सांस्कृतिक महŒवसँगै अब ओमसतियाको पहिचान फेरिएको छ । क्रिकेटमा खेलाडी जन्माउने रूपमा ओमसतिया चिनिन थालेको छ । यहाँ हुने क्रिकेट गतिविधि र क्रिकेट पूर्वाधारमा स्थानीय सरकारको चासो बढेको छ । तराईका अधिकांश ठाउँमा खेलिने क्रिकेट, यो गाउँपालिकामा पनि धेरै युवाहरूको आकर्षणको खेलमा पर्छ । अझ क्रिकेटर शक्तिको आफ्नै कर्मथलो रहेको ओमसतियामा चर्चा नहुने कुरै हँुदैन । गाउँपालिकामा दुई वटा मुख्य क्रिकेटका मैदानहरू छन् ।
कर्मडाँडा क्रिकेट मैदान र रामजानकी गुठीको अधिनमा रहेको क्रिकेट मैदान
कर्मडाँडा मैदान निक्कै पुरानो र धेरै क्रिकेट प्रतियोगिता हुने मैदानमा पर्छ । ओमसतिया गाउँपालिकाका अध्यक्ष मन्जित कुमार यादवले वार्षिक बजेट बनाउँदा खेलकुदलाई प्राथमिकता दिएको बताए । सिमित बजेटबाट पनि खेल पूर्वाधार र प्रतियोगिता संचालनमा सहयोग भएको उनले बताए । हाम्रो क्षेत्रमा रहेको क्रिकेट मैदानको स्तरोन्नती गर्न संघीय र प्रदेश सरकारसँग पहल भैरहेको उनले बताए ।
पूर्वक्रिकेटर शक्ति गौचन पछिल्लो समय देशमा सिनियर खेलाडी पलायनको निक्कै गम्भीर अवस्था सृजना भएको दुखेसो गर्छन् । उमेर समूह हँुदै सिनियर लेभरमा पुग्दा खेलाडीहरू सहयोग नपाउँदा पलायनको बाटो रोज्ने गरेको उनी बताउँछन् । ‘सरकार, परिवार र समाजबाट खेलाडीलाई सहयोग जरुरी छ’— उनले भने । देशको लागि खेल्ने समयमा उनीहरू विदेश पलायन हुने अवस्थालाई चिर्ने गरी सरकार लाग्नुपर्ने उनको सुझाव छ । ‘यु १९ उमेर समुहलाई बाटो देखाउनुपर्ने देखिन्छ’—उनले भने ।
सरकारले रिजल्ट आउने समयमा खेलाडी गुमाएको हुँदा यसलाई रोक्ने गरी अभियान थाल्नुपर्ने उनको सुझाव छ । रूपन्देहीबाट तयार भएका एक दर्जन बढी खेलाडीहरू विदेश पलायन भएको उनले दुखेसो गरे । समग्र देशबाट २ दर्जन बढी खेलाडीहरू विदेशमा बिकल्प खोजिरहेको अवस्था रहेको उनी बताउँछन् । हरेक विकासको काममा सरकारी प्रक्रिया लामो हुँदा कठिनाइ हुने गरेको उनको अनुभव छ । गाउँपालिकामा नै राष्ट्रियस्तरको प्रतियोगिता गर्ने सोंच बनाएको उनले यसको तयारी गरिरहेका छन् । यसमा स्थानीय सरकारबाट उनलाई साथ मिलेको छ ।
आ.व. २०८०÷०८१ को नीति तथा कार्यक्रमको लक्ष्य “ओमसतियाको शानः शिक्षा स्वास्थ्य सुधार हाम्रो अभियान” रहेको छ । सीमित
श्रोतसाधनको परिधीमा रही ओमसतियाको विकास निर्माणको गतिलाई तीब्रता दिनको लागि संघीय सरकार र प्रदेश सरकारको साथै विकास साझेदारहरूसँग समन्वय भइरहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विपिन क्षेत्री बताउँछन् । स्थानीयबासीका अपेक्षाहरूलाई सम्बोधन गर्नका लागि अल्पकालीन तथा दीघकालिन योजनाहरू तयार गरी प्राथमिकता साथ पुरा गर्दै जाने दिशामा स्थानीय सरकार प्रतिवद्ध रहेको उनले बताए । दीगो विकासको राष्ट्रिय लक्ष्यहरूको स्थानीयकरण गर्दै गुणस्तरीय पूर्वाधार निर्माण सहित स्थानीय श्रोतको पहिचान र परिचालनमा रहेर खेल पूर्वाधार र खेल गतिविधिलाई अगाडि बढाएको उनले बताए । वडास्तरमा बजेट बिनियोजन गरेर खेल गतिविधिलाई विद्यालय, क्लबहरूमार्फत निरन्तरता दिँदै आएको उनले बताए । à