© २०२३
नवलपरासी, ३ पुस । पशुको उपचारमा जिल्लाको भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको काम प्रभावकारी देखिएको छ । जिल्ला स्थित एक मात्र भेटेनरी अस्पतालमा सेवा प्रभावकारी भएपछि दैनिक जसो विरामी पशुलाई उपचारका लागि पशुपालक किसानले ल्याउने गरेका छन् । यहाँका किसानहरू पशुपालनमा निर्भर मात्रै छैनन् पछिल्लो पटक आकर्षित छन् ।
मानिसलाई जस्तै पशुलाई पनि रोगब्याधी लाग्ने हुँदा पशुलाई पनि उपचार जरुरी भएको केन्द्रका प्रमुख श्रवण कुमार चौधरी बताउँछन् । अस्पतालले उपचार मार्फत धेरै किसानको पशुधन जोगाउमा सफल भएको प्रमुख चौधरीले बताए । अहिले किसान आफ्नो पशुधन प्रति विगत भन्दा सचेत बन्दै गएका छन्, उनले भने, त्यो भएर समान्य पशु (गाई, भैसी, बाख्रा, बंगुर, कुखुरा हाँस, कुकुर लगायतका पशुलाई अस्पतालले उपचारात्मक सेवा दिँदै आएको छ । यसले यहाँका किसानलाई आयआर्जनमा सहयोग पुगेको उनको भनाइ छ ।
कार्यालयले पशुपालक किसानलाई पशुको उपचार मात्रै नभई विभिन्न तालिम, गोष्ठि, उन्नत बिउबिजनका लागि कृत्रिम गर्भाधान कार्यक्रमसँगै पशु फर्म तथा समूहलाई अनुदान जस्ता कार्यक्रम मार्फत पनि सघाउँदै आएको छ । अस्पताल मार्फत तत्काल गाई भैंसी र बाख्रालाई कृत्रिम गर्भाधान सेवा, पशु स्वास्थ्य सेवा कार्यक्रममा मेडिकल उपचार, मेजर सर्जिकल उपचार, माईनर सर्जिकल उपचार, गाईनोक्लोजिकल उपचार र बध्याकरण सहितको सेवा प्रदान गर्दै आएको केन्द्रले जनाएको छ । पशु चिकित्सकलाई नै राखेर यस्ता उपचार गर्ने कार्य भइरहेको केन्द्र प्रमुख चौधरीले बताए ।
त्यसैगरि भेटेरिनरी अस्पतालमा प्रयोगशाला सेवा अन्तर्गत गोबर परिक्षण, पिसाब परिक्षण, थुनिलो परिक्षण, शवपरिक्षण (पोष्टमार्टम)डिएचपिपिआईएल टेस्ट, एआरभि टेष्ट, एनडि टेष्ट हुने गरेको छ । खोप सेवा कार्यक्रम अन्तर्गत पिपिआर खोप, एचएसविक्यु, एफएमडि, लम्पि स्किन स्वाईन फिबर, रानीखेत, गँवारो रेबिज, कोरोना भाईरसको खोपहरू दिईने गरिएको छ । त्यसैगरि परिजिवि नियन्त्रणमा आन्तरिक परजिवी र बाह्य परजिबी सहित नाम दर्ता वापत राजस्व समेत संकलन गर्दै आएको केन्द्रले जानकारी गराएको छ ।
केन्द्रले गत आर्थिक बर्ष २०८० को गत कार्तिक महिनासम्म कुल २९ हजार २ सय ९० पशुलाई सेवा प्रदान गरेको थियो भन्ने मंसिर महिनामा ७ हजार ३ सय १० गरि कुल जम्मा ३६ हजार ६ सय प्रगति भएको मासिक प्रगति प्रतिवेदनमा उल्लेख गरिएको छ । त्यसमा कृत्रिम गर्भाधान संख्या ७ हजार ३ सय ३४ उपचार सेवा ७ सय ६३, प्रयोगशाला सेवा २ सय ४९ खोप सेवा २३ हजार १ सय ९०, लम्पि स्किन २२ हजार ९ सय रहेको छ भन्ने कुल ३६ हजार ६ सय राजस्व समेत संकलन भएको केन्द्रले जनाएको छ ।