© २०२३
काठमाडौं, ५ असोज ।
नोटको मौज्दात ४.६४ प्रतिशतले घटेको छ । ०८० असार मसान्तमा राष्ट्र बैंकले विभिन्न दरका दुई खर्ब १६ अर्ब ५४ करोड ९२ लाख ४९ हजार रुपैयाँबराबरका नोट मौज्दात राखेको छ ।
०७९ असार मसान्तसम्ममा यस्तो मौज्दात दुई खर्ब २७ अर्ब आठ करोड ६७ लाख ४९ हजार थियो । यसबीच नोटको मौज्दात १० अर्ब ५३ करोड ७५ लाख रुपैयाँले घटेको छ ।
कुन दरको नोटको मौज्दात कति ?
एक हजार रुपैयाँ दरका नोटको मौज्दात घटेको छ । १२.४० प्रतिशतका दरले हजारको नोटको मौज्दात घटेको हो । ०७९ असार मसान्तसम्म एक खर्ब ३५ अर्ब ५० करोड रुपैयाँबराबरका हजारका नोट मौज्दात कायम राखेकोमा ०८० असारसम्म आइपुग्दा एक खर्ब १८ अर्ब ७० करोड पु¥याएको छ । बजारमा भने हजार दरका चार खर्ब ४६ अर्ब ८० करोड रुपैयाँबराबर नोट चलनचल्तीमा छन् ।
पाँच सय रुपैयाँ दरका नोटको मौज्दात ३३ प्रतिशतले बढेको छ । यस्ता नोट केन्द्रीय बैंकसँग ८२ अर्ब सात करोड ५० लाख रुपैयाँबराबर छ । ०७९ असारसम्ममा यो मौज्दात ६१ अर्ब ४५ करोड थियो । अहिलेसम्म चलनचल्तीमा भने एक खर्ब ३० अर्ब ६७ करोडबराबर नोट छन् ।
एक सय रुपैयाँ दरका नोटको मौज्दात ४३.४८ प्रतिशतले घटेको छ । एक सय दरका ११ अर्ब ९२ करोड ५० लाख नोट मौज्दात छन् । बजारमा भने यो दरका ३० अर्ब ३९ करोड ४६ लाख रुपैयाँबराबर नोट चलचल्तीमा छन् ।
राष्ट्र बैंकले ५, २० र ५० दरका नोटहरूको मौज्दात पनि घटाउँदै गइरहेको छ । ५० रुपैयाँका एक अर्ब ३५ करोडबराबर, २० रुपैयाँका ६७ करोड रुपैयाँबराबर र पाँच रुपैयाँका ४५ करोड ७५ लाखबराबरका नोट मौज्दात छन् । त्यस्तै, बजारमा ५० दरका १४ अर्ब ३८ करोड रुपैयाँबराबर, २० दरका सात अर्ब ५२ करोड र पाँच रुपैयाँका तीन अर्ब ६४ करोडबराबर नोट चलनचल्तीमा रहेको जनाएको छ ।
१० रुपैयाँ दरका नोटको मौज्दात भने बढाएको छ । यो दरका नोटको मौज्दात ३७.४ प्रतिशतले बढाउँदा एक अर्ब ३६ करोड २८ लाख रुपैयाँ छ । एक र दुई दरका नोटको मौज्दात बढाएको छैन । हालसम्म एक दरका नोट ५० हजार रुपैयाँबराबर र दुई दरका ६३ लाख रुपैयाँ मौज्दात रहेको राष्ट्र बैंकले जनाएको छ ।