© २०२३
दाङ, २३ साउन ।
कतिपय स्थानमा पञ्चे बाजालाई कुनै ठूलो कार्य गर्दा साईतको महत्वका रुपमा पनि लिने गरेको पाइन्छ । त्यस्ता साईतहरूमा खासगरी मङ्गल धुन बजाएर साईतलाई शुभ बनाउने चलन पनि रहेको छ । मङ्गल धुन बजाउनका लागि पञ्चे बाजा सबैभन्दा प्रचलित बाजा मानिन्छ ।
पञ्चे बाजा अर्थात भौगोलिक स्थान अनुसार पञ्चबाजा, पञ्चेबाजा पनि भनिन्छ । यो समग्रमा पाँच बाजाहरूको समूह पनि हो । पञ्चे बाजामा दमाहा, झ्याली, ट्याम्को, ढोलकी र सहनाई बजाईन्छ । पञ्चे बाजा, नेपाली धार्मिक एवम् सांस्कृतिक बाजाको रूपमा प्रयोग हँुदै आएको मौलिक संस्कृतिको धरोहर हो । खासगरी यो बाजा विभिन्न धार्मिक तथा सामाजिक उत्सवको बेलामा बजाउने गरिन्छ । विवाह, व्रतवन्ध, चाडबाड, जात्रा, रोपाईं, पूजा–आजा आदिमा बजाईने पञ्चै बाजाको आफ्नै मौलिकता र महत्व रहेको छ ।
गाउँघरमा हुने विवाह, सभा, समारोह, पूजाआजा, उत्सव, सामाजिक कामका समयमा पञ्चेै बाजा बजाउने गरिन्थ्यो । पछिल्ला वर्षहरुमा आधुनिक उपकरणको प्रयोग बढ्दा पनि मौलिकता बोकेको पञ्चे बाजाको प्रयोगमा पहिलेभन्दा कमी आएको हुन सक्ने धेरैले अड्कल काट्छन् ।
बदलिँदो परिवेश अनुसार, मानिस आधुनिकतामा प्रवेश गर्दा मौलिकपनलाई कमजोर बनाएको पाईन्छ । समय बदलिएसँगै मानिसको जीवनशैली फेरिदैँ जान थालेपछि पञ्चे बाजाको महत्व केही वर्षयता कमजोर बनेको थियो । नयाँ पुस्ताले सीप र कला नसिक्दा र पहिलेका बुढापाकाहरुले बजाउन छाडेपछि परम्परा नै लोप हुने अवस्थामा पुगेको हो ।
पछिल्लो समय नेपाली कला संस्कृति बचाउनुपर्छ, यसलाई व्यावसायिक बनाउनुपर्छ भनेर महिलाहरु समूह बनाएर पञ्चे बाजा बजाउन र संरक्षण गर्न जुटेका छन् । कुनै समय दलित समुदायले मात्र पञ्चे बाजा बजाउने गरेकोमा हाल आएर अन्य समुदायले बजाउन थालेका छन् ।
गाउँघरमा हुने सबै खालमा सामाजिक काम, उत्सव, समारोहमा पञ्चेबाजा बजाउने काममा महिला समुहले धान्ने गरेका छन् । यसरी गाउँघरमा मात्रै नभई विभिन्न ठाउँमा पुगेर व्यावसायिक रुपमा पञ्चेबाजा घन्काउने काममा लागेका छन् ।
तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ४ मझुवाका महिलाहरु । मझुवा टोलका ३० जना महिलाहरुको पहिलेको दैनिकी घरमा यत्तिकै बसेर जान्थ्यो । समय खेर गएको महसुस गरेर उनीहरुले केही गर्नुपर्छ भन्ठानेर थोरै थोरै वचत गर्ने काममा लागे । समाजमा केही नयाँ काम गरेर देखाउनुपर्छ भन्ने निधो गरेपछि केही समय यता उनीहरु औपचारिक रुपमा पञ्चेैबाजा बजाउन सिकेर आफै बजाउन सक्ने भएका छन् । उनीहरुले पञ्चे बाजाका साथै सामाजिक काम, उत्सव, समारोहमा चाहिने सबै खालका सामग्री पनि जुटाएका छन् । उनीहरुले गरेको काम अहिले बिस्तार हुँदै गएको छ ।
सोही समूहकी अध्यक्ष कस्तुरा खड्काले भनिन्, ‘पहिले त केही काम गर्दैनथ्यौँ, केही गरौँ भनेर समुह बनाएका छौँ । अहिले हामीले पञ्चेबाजा बजाउन सिकेका छौँ । पाँच तालका बाजा बजाउँछौँ ।’ ‘भेटघाट, विवाह, बिरह जुनसुकै काममा पनि बजाउँछौँ ।’ गाउँघरमा पञ्चे बाजाको अभाव खड्किएपछि आफु अघि सरेको कस्तुरा बताउँछिन् । ‘वरपर जाँदा पञ्चेै बाजाको धुनले मन जितेको थियो । समूहमा पनि सबै साथीहरुले यही गरौँ भन्ने कुरा आएपछि हामीले आवश्यक ठानेर हात हालेका हौँ ।
एक जना प्रशिक्षक आफैले राखेर निकै मेहनतका साथ पञ्चे बाजा बजाउन सिकेका हौं । ‘पञ्चेबाजा किनौं भनेर कुरा आएपछि बाजा किन्यौं । सिक्न एक जना प्रशिक्षक राख्यौँ । अनि मात्रै बजाउन सिकेका हौ’ कस्तुराले भनिन्, ‘समूहमा ३० जना दिदीबहिनी भएपनि शुरुवातमा ८ जनाले बाजा बजाउन सिकेका छौँ । अब अरु साथीलाई सिकाउँदै छौँ ।’
कुनै काम कुनै व्यक्ति वा समुदायले मात्रै गर्नुपर्छ भन्ने छैन । सीप भन्ने कुरा जसले सिके पनि हुन्छ । जसले प्रयोग गरे पनि हुन्छ । हामीलाई यो काम गर्नुपर्छ भन्ने लाग्यो, त्यसैले सीप सिकेका हौं । जे सिकेका छौँ, यसमा हामीलाई गर्व लागेको छ । सबैबाट धन्यवाद पाएका छौँ उनले भनिन्, ‘गाउँघरमा हुने अर्मपर्ममा सबै खालका कार्यक्रममा सहभागी हुँदा अहिले हाम्रो माग बढ्दै गएको छ ।’
टेन्ट त्रिपालदेखि भोजभतेरमा प्रयोग हुने भाँडाकुँडा पनि सबै आफुहरुले राखेर काम गरिरहेको हुँदा अवस्था हेरेर ३० देखि ४० हजारसम्म दिनको शुल्क लिने गरेको उनले बताइन् ।
कल्पना रेग्मी समुहमा लाग्नुभन्दा अघि घरायसी काममा व्यस्त हुने गर्दथिन् । घरमा यत्तिकै बसेर प्रगति हुदैन भनेर दिदीबहिनीहरु बीच कुराकानी भएपनि उनी पनि समूहमा आवद्ध भइन् । उनले भनिन्, ‘केही गरौँ भनेर अहिले यो काममा लागेका छौँ । आफ्नो भाषा, कला संस्कृति जोगाउनुपर्छ । समाजमा केही फरक काम गरेर देखाउनुपर्छ भनेर हामी पञ्चे बाजा बजाउने काममा जुटेका हौँ ।’
आगामी दिनमा यसलाई अझ व्यावसायिक बनाउँदै लैजाने र समुहमा आवद्ध सबैले पञ्चेै बाजा बजाउन सिक्ने उनीहरुको योजना छ । मौलिकता जोगाउन, महिला सशक्तीकरणमा टेवा पुर्याउन र आयआर्जनको श्रोत बढाउन आफुहरुले गर्दै आएको कामले आउने पुस्तालाई पनि उर्जा दिनेमा उनीहरु विश्वस्त छन् ।