© २०२३
बुटवल, २२ चैत ।
छपियाकी जमुना खत्री माछाका विभिन्न परिकार बनाउन सिपालु छिन् । गाउँको पोखरीमा पाइने माछालाई स्वादिलो परिकार बनाउन उनी साथीहरूसंग ब्यस्त हुन्छिन । दुई वर्षअघिसम्म घरायसी काममै समय बिताउने उनको दैनिकी अहिले भने फेरिएको छ । छपिया माछा अचार समूहकी उपाध्यक्ष समेत रहेकी खत्री पछिल्लो दुई वर्षमा धेरै तालिममा सहभागी भईन । तालिममा उनले व्यवसायिक रूपमा उत्पादनका बारेमा ज्ञान लिईन । सियारी गाउँपालिकाको समन्वय, कोक्यापको आयोजनामा गृहिणी महिलाहरूलाई गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तरगत पहिलो तालिममा उनले माछाका अचार र सुकुटी बनाउने राम्रो जानकारी पाईन । तालिममा माछाका अचार, सुकुटीमात्र होईन कागती, मुला, लप्सी लगायतको अचार बनाउँदा किचनमा सुरक्षाको विषयमा समेत राम्रो ज्ञान पाएको उनी बताउँछिन । छपियाको माछा अचार अहिले विदेशमा समेत माग रहेको उनी बताउछिन । उनीसंगै छपिया माछा अचार समूहका सोनम खरेलले पनि तालिम लिएर माछाका परिकार बनाउँछिन । माछाको विविधिकरण गर्दा बजारमा माग बढ्दै गएको छ । ‘देशभित्रमात्र होईन यसको माग विदेशमा समेत हुन थालेछ,’– उनले भनिन । महिलाहरू पछिल्लोसमय यसको ब्यवसायिक योजना, प्याकेजिङ र बजारीकरणमा अघि बढेका छन ।
‘समुहमा साथीहरू मिलेर तयार गरेको प्याकेजिङ खाद्यान्नको अब ब्राण्डिङमा हाम्रो जोड छ,’–उनले भनिन । दुई वर्षदेखी माछाबाट अचार, सुकुटीहरू बनाएर बिक्री गर्दै आएको भएपनि अब यसको बजार बिस्तार गर्ने गरि आफूहरू अघि बढेको उनि बताउँछिन । दुई वर्षअघि समूहका २५ जनालाई तालिम दिएकोमा १३ जना अहिले पनि यसमा निरन्तरता दिँदै आएका छन् । लघु उद्योगमार्फत समूहमा काम गर्ने लक्ष्य रहेको उनले बताइन । माछाको अचार बनाउँदै आएको तिनै छपियाका महिला उद्यमीहरूलाई व्यवसायिक योजना, प्याकेजिङ र बजारीकरण सम्बन्धी ३ दिने तालिम दिईएको छ । गुणस्तरीय खाद्यान्नको प्रमाणिकरण गर्ने, लेभलिङ, प्याकेजिङ, उपयुक्त बोटल र सिल गर्ने जस्ता बिषयमा ज्ञान पाएको उनी बताउँछिन । ससाना विषयमा ध्यान दिन सकेमात्र गुणस्तर कायम हुने सिकाई भएको उनी बताउँछिन ।
लघु उद्यमीको स्तरोन्नतिका लागि महिलाहरूलाई तालिम दिईएको सियारी गाउपालिका वडा नं.४ का वडाअध्यक्ष राम यादवले बताए । वडामा महिलाहरूलाई सीप सिकेर आयआर्जनमा जोडिन धेरै सफलता मिलेको उनले दाबी गरे । ‘अहिले वडामा ३ वटा तालिम प्रभावकारी भएको छ ।’–उनले भने । माछाको अचार हुँदै यसको बजारीकरण, बेसिक सिलाई कटाईबाट फेसन डिजाईनसम्म, साथै सजावटको सामग्री निर्माण गर्ने तालिमहरू सफल रहेको उनले बताए ।
तालिमका प्रशिक्षक दामोदर ज्ञवालीले उद्यम बन्नु कठिन विषय भएको भन्दै यसमा निरन्तरता जरुरी रहेको बताए । खाद्यान्न उत्पादन मानव स्वास्थ्यसंग जोडिएको हुँदा पनि संवेदशिल विषय भएको उनले बताए । छपियामा राम्रो सम्भावना रहेको भन्दै उद्योगलाई दर्ता गर्ने, गुणस्तर मापदण्डको पालना गर्ने, बजारीकरणका विषयमा ध्यान दिन सुझाव दिए ।
सियारी गाउँपालिकाको समन्वय, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको सहयोग र कोक्यापको साझेदारीमा छपिया फिस भिलेज सियारीमा ३ दिने तालिमको समापन कार्यक्रममा सहभागीहरूलाई बिहीबार प्रमाणपत्र वितरण गर्दै सियारी गाउँपालिकाका अध्यक्ष थानेश्वर घिमिरेले ‘सीप सिकौं आत्मनिर्भर बनौं’ भन्ने नाराका साथ तालिम सार्थक बनाउन आग्रह गरे । तालिमलाई ब्यवहारमा लागू गर्न सकेमात्र त्यो उपलब्धिमुलक बन्ने उनको तर्क छ ।
सियारी गाउपालिकाका प्रशासकिय अधिकृत अशोक जिसीले महिलाहरूलाई स्वरोजगार र उद्यमी बनाउन तालिम सफल रहेको बताए । आफनै गाउँठाउँमा उत्पादन हुने माछालाई विविधिकरण गर्ने बारेमा विगतबाट नै पालिकाबाट तालिम संचालन भएकोमा यसपटक एडभान्स रूपमा अचार बनाउने, लेभलिङ र प्याकेजिङ साथै ब्यवसाय योजना निर्माण तालिम दिएको उनले बताए ।
सियारी गाउँपालिका, लघु उद्यम विकास शाखाकी यशोधा थापाले महिलाहरूलाई आर्थिक रूपमा सबल बनाउन सकेमात्र शसक्तिकरण हुने भन्दै विगत लामोसमयदेखि सीपमुलक तालिमहरू दिँदै आएको बताईन । छपिया माछा उत्पादन हुने क्षेत्रको रूपमा चिनिने हुँदा पनि यसकै ब्राण्डिङ हुने गरी माछाको विविधिकरणमा जोड दिएर तेस्रो चरणको तालिम दिईएको उनले बताईन ।