© २०२३
बुटवल, १६ चैत । नेवारी भाषा तथा संस्कृतिको संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यका साथ रुपन्देहीमा नेपाल भाषा तालिम शुरु भएको छ । विश्व नेवा दिवसको अवसर पारेर नेवा देय् दबू तिलोत्तमाको आयोजनामा १५ दिने नेपाल भाषा तालिम गरिएको हो ।
कार्यक्रमको उद्घाटन गर्दै तिलोत्तमा नगरपालिका वडा नम्बर ८ का अध्यक्ष कृष्णप्रसाद पौडेलले नेपाल भाषा संरक्षणको महत्वबारे प्रकाश पारे । समुदायका सबै सदस्यहरूलाई आफ्नो मौलिक भाषा सिक्न र प्रयोग गर्न आग्रह गर्दै उनले नेपाल भाषा तथा संस्कृति संरक्षणका लागि गरिएको यो प्रयास नेवार समुदायका लागि प्रेरणादायी बन्ने विश्वास ब्यक्त गरे ।
कार्यक्रममा नेवा देय् दबू तिलोत्तमाका पूर्व अध्यक्ष तथा सल्लाहकार विष्णु बहादुर श्रेष्ठ, नेवाः समाज कान्छी बजारका अध्यक्ष जसबहादुर श्रेष्ठ, जोजोलपा नेवा खल भलवारीका अध्यक्ष जेसकुमार श्रेष्ठ लगायतले नेपाल भाषा सिकाइ अभियानको प्रशंसा गर्दै भाषा संरक्षणका लागि यस्ता प्रयास निरन्तर भइरहनुपर्ने आवश्यकता औंल्याए । उनीहरूले नेपाल भाषा मात्र नभई, नेवार संस्कृतिका अन्य पक्षहरूको पनि प्रवद्र्धन गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रमका भाषा प्रशिक्षक डा. निरञ्जन लाल कक्षपतिले नेपाल भाषा सबै जनाले सिक्नुपर्नेमा विशेष जोड दिँदै नयाँ पुस्ताका लागि यसको आवश्यकतामा प्रकाश पार्नुभयो। उहाँले भाषा हराए संस्कृति पनि संकटमा पर्न सक्ने बताउँदै भाषा सिक्ने र सिकाउने वातावरण बनाउनुपर्ने विचार व्यक्त गर्नुभयो। विशेषगरी, नयाँ पुस्ताले आफ्नो पहिचान जोगाइराख्न भाषा सिक्नुपर्ने बताउँदै उहाँका अनुसार, भाषा केवल सञ्चारको माध्यम मात्र नभई, इतिहास, पहिचान र संस्कृतिको जगेर्ना गर्ने साधन पनि हो।
कार्यक्रमका अध्यक्ष दिनेश कक्षपतिले नेवार समुदायका सबै सदस्यहरूले आफ्नो मौलिक भाषा बोल्न र बुझ्न सक्नुपर्ने कुरामा विशेष जोड दिए । हालको सामाजिक परिवेशमा नयाँ पुस्ताले नेपाल भाषा कम प्रयोग गर्ने प्रवृत्तिले भाषा लोप हुने सम्भावना रहेको हुँदा यस विषयमा गम्भीर ध्यान दिनुपर्ने आवश्यकता औंल्याए । नेपाल (नेवारी) भाषा नबोलेसम्म यसको अस्तित्व जोगाउन गाह्रो पर्ने भन्दै समुदायका सबै अभिभावकहरूलाई आफ्ना सन्तानलाई घरमै भाषा प्रयोग गराउने वातावरण बनाउन उनले आग्रह गरे ।
कार्यक्रमका संयोजक सचिव राधा श्रेष्ठ उदयले तालिम सफल बनाउन विभिन्न पक्षहरूबाट भएको सहयोगको प्रशंसा गर्दै, सबैलाई आआफ्नो ठाउँबाट भाषा संरक्षणका लागि योगदान दिन आग्रह गरे । उनले तालिमपछि सहभागीहरूलाई भाषा लेख्न, पढ्न र बोल्न सहज बनाउने गरी पाठ्यक्रम तयार पारिएको जानकारी दिए ।
यस्ता तालिमहरू निरन्तर सञ्चालन गर्दै जान सकियो भने नेपाल भाषा सिक्ने वातावरण अझै विस्तार हुने र भाषा संरक्षणको अभियान अझ प्रभावकारी बन्ने आयोजकहरूको विश्वास रहेको छ।