© २०२३
दाङ, २१ साउन ।
दाङ जिल्लामा जडिबुटी उत्पादनमा कमी आएको छ । टिमुर, रिठाफल, बर्रो, लहरे गुर्जो, मालागेडीको उत्पादनमा निकै कमी आएको डिभिजन वन कार्यालय घोराहीले जनाएको छ । जिल्लामा सबैभन्दा बढी उत्पादन हुने गरेको टिमुर उत्पादनमा निकै गिरावट आएको छ । आर्थिक वर्ष २०७८–०७९ मा २९ हजार ५ सय ५० किलो टिमुर उत्पादन भएकोमा बितेको आर्थिक वर्ष २०७९–०८० मा घटेर १३ हजार किलोमा झरेको छ ।
डिभिजन वन कार्यालय घोराहीका अनुसार आर्थिक वर्ष २०७८–०७९ मा दाङको राष्ट्रिय र निजी वनबाट २ लाख ४१ हजार ७ सय ४२ किलो निर्यात भएको थियो । तर बितेको आर्थिक वर्ष २०७९–०८० मा यसको उत्पादन घटेर ८५ हजार ९ सय ६ किलो मात्रै टिमुर जिल्लाबाट उत्पादनसँगै निर्यात भएको डिभिजन वन कार्यालय दाङका सहायक वन अधिकृत भक्तबहादुर चौधरीले जानकारी दिए ।
जिल्लामा टिमुरको उत्पादनमा कमी आउँदा बिक्रीमा पनि कमी आएको सहायक वन अधिकृत चौधरीले बताए । टिमुर उत्पादनका लागि दाङ पकेट क्षेत्रका रुपमा लिने गरिएको छ । यसको उचित रेखदेख र स्याहार नपुग्दा उत्पादनमा गिरावट आएको छ ।
गत आर्थिक वर्षमा १ लाख ५५ हजार ८ सय ३६ किलो टिमुर आर्थिक वर्षको अनुपातमा कम निर्यात भएको छ । सहायक वन अधिकृत चौधरीका अनुसार २०७८–०७९ मा राष्ट्रिय वनमा २९ हजार ५ सय ५० किलो र निजी वनबाट २ लाख १२ हजार १ सय ९२ किलो टिमुर जिल्ला बाहिर निर्यात हुँदा ३ लाख २० हजार रुपैयाँ राजस्व संकलन भएको छ ।
आर्थिक २०७९–०८० मा राष्ट्रिय वनबाट १३ हजार किलो र निजी वनबाट ७२ हजार ९ सय ६ किलो निर्यात हुँदा १ लाख ४५ हजार रुपैयाँ मात्रै राजस्व संकलन भएको छ । टिमुर पकेट क्षेत्रअन्तर्गत जिल्लाको बंगलाचुली गाउँपालिकासहित घोराही उपमहानगरपालिका –१८, तुलसीपुर उपमहानगरपालिका– १९ लगायत पहाडी क्षेत्रमा लामो समयदेखि टिमुर खेती हुँदै आएको छ ।
त्यसैगरी रिठा फलको उत्पादन पनि घटेको छ । आर्थिक वर्ष २०७८–०७९ मा राष्ट्रिय वनबाट ११ हजार किलो र निजी वनबाट ३२ हजार १० किलो गरी ४३ हजार १० किलो रिठाफल निर्यात भएकोमा आर्थिक २०७८–०७९ मा राष्ट्रिय वनबाट ३ हजार र निजी वनबाट २८ हजार ४ सय गरी ३१ हजार ४ सय किलो रिठाफल निर्यात भएको पाइएको छ ।
डिभिजन वन कार्यालयका अनुसारका आर्थिक वर्ष २०७८–०७९ मा ४४ हजार १ सय किलो तेजपात निर्यात भएको छ भने गत आर्थिक वर्षमा २५ हजार १ सय निर्यात भएको थियो । जसबाट १९ हजार राजस्व संकलन भएको छ । अमलाको निर्यात बढेको छ । आर्थिक वर्ष २०७८–०७९ मा तीन हजार किलो निर्यात भएकोमा आर्थिक वर्ष २०७९–०८० मा १० हजार किलो अमला बिक्री भएको छ ।
त्यसैगरी आर्थिक वर्ष २०७८–०७९ मा राष्ट्रिय वनबाट लहरे गुर्जो २ हजार ५ सय किलो, ब्राहमी १ हजार, चुत्रोको बोक्रा दुई हजार किलो निर्यात भएको छ भने आर्थिक वर्ष २०७९–०८० मा बर्रो ५ सय किलो, लहरे गुर्जो २ हजार किलो, धाइरोको फूल, बेलचना, पुदिना र भृङराज ५–५ सय किलो, दुधे लहरा १५ सय किलो, ब्राहमी १ हजार किलो, चुत्रोको बोक्राका ७ हजार ७ सय किलो, दालचिनी ३ हजार किलो, टटेलोको बोक्रा ४ हजार किलो, कालिकाठको दाना १४ हजार किलो बिक्री भएको डिभिजन वनले जनाएको छ ।
राष्ट्रिय वनबाट विभिन्न २२ प्रकारका जडीबुटी सङ्कलनको अनुमति दिइएकोमा निजी वन क्षेत्रबाट ९ प्रकारका जडीबुटी संकलनको अनुमति दिइएको थियो । जडीबुटी खेतीको प्रवद्र्धन गर्दै वनका माध्यमबाट उपभोक्ताको आयआर्जनमा वृद्धि गर्न जडीबुटी खेतीका लागि डिभिजन वन कार्यालयले प्रोत्साहन गर्दै आएको छ ।
पकेट क्षेत्रमा टिमुरसँगै माला गेडी र दालचिनीका एक लाख ८४ हजार बिरुवा पछिल्ला वर्षमा रोपिएको वन कार्यालयले जनाएको छ । जसमा करिब एक लाख बढी बिरुवा टिमुरका मात्रै रहेका छन् । तर, यसको उचित रेखदेख र स्याहार नपुग्दा उत्पादनमा गिरावट आएको छ । जिल्लाको करिब ३३ हेक्टर वन क्षेत्रमा विभिन्न प्रजातिका जटीबुटीका बिरुवा रोपिएको डिभिजन वनले जनाएको छ ।
डिभिजन वनले टिमुरलगायत जडीबुटी खेतीको प्रवद्र्धन गर्दै वनका माध्यमबाट उपभोक्ताको आयआर्जनमा वृद्धि तथा आर्थिक लगानी गरेपनि यसले प्रतिफल दिन नसकेको देखिएको छ ।