© २०२३
बेलहिया सीमा नाकाबाट विशेषगरी दशैं मनाउने नेपालीहरु प्रवेश गरिरहेका छन् । गुल्मी, अर्घाखाँची, पाल्पा, स्याङ्जा, कास्कीलगायत पहाडी जिल्लाका युवाहरु धेरै रहेको बेलहिया प्रहरीले जनाएको छ । नेपालीहरु धेरै ठूलो संख्यामा स्वदेश फर्किन थालेपछि स्वास्थ्य जाँचमा पनि समस्या पर्ने गरेको छ ।
0000
तीन दिनदेखि सीमानाका खुलेपछि रुपन्देहीको बेलहिया नाका हुँदै दैनिक झण्डै चारसय नेपाली स्वदेश फर्किन थालेका छन् । दशै नजिकिदै गर्दा नाकामा नेपाल प्रवेश गर्नेको भिड लागेको हो । बिगत १८ महिनादेखि बन्द रहेको बेलहिया नाका गत आइतबारदेखि सुचारु भएको थियो ।
कोभिड–१९ को कारण २०७६ चैत १० गते देखि नेपाल–भारत सीमा बन्द रहेको थियो । बीचमा सरकारले नाका सुचारु हुने संकते गरे पनि कोभिड दोस्रो चरण देखिएपछि सुचारु हुन सकेको थिएन् । इलाका प्रहरी कार्यालय बेलहियाका प्रमुख प्रहरी निरीक्षक नवीन पौडेलले स्वास्थ्य मापदण्ड पालना गरेर मात्रै स्वदेश आउने नेपाली एवं विदेशी पर्यटकलाई प्रवेश अनुमति दिइएको बताए । “अहिले दैनिक करिव चारसय जनाजति नेपाल प्रवेश गरिरहेका छन्, हामीले उनीहरुलाई स्वास्थ्य मापदण्ड अपनाएर मात्रै गन्तव्यतर्फ जान दिएका छौं”–उनले भने ।
सीमा क्षेत्रबाट प्रवेश गर्ने नेपाली यात्रुको हकमा सामान्य ज्वरो नापेर शंकास्पद देखिए एन्टीजेन परीक्षणको व्यवस्था गरिएको छ । एन्टीजेन परीक्षणमा पोजेटिभ आए पिसिआर परीक्षण गरिने र पिसिआरको नतीजाको आधारमा यात्रुको व्यवस्थापन गरिने प्रहरी निरीक्षक पौडेलले बताए ।
त्यस्तै भारतीय पर्यटकले भने ७२ घण्टे पिसिआर रिपोर्ट देखाई जिल्लास्तरीय कोभिड नियन्त्रण विशेष समिति (सिसिएमसी) द्वारा निर्धारित फारम भरेर नेपाल प्रवेश गर्न पाउने उनको भनाई छ ।
रुपन्देहीका प्रमुख जिल्ला अधिकारी क्रृषिराम तिवारीका अनुसार भारतीयको हकमा पूर्ण खोप भने अनिवार्य छैन । यसैगरी तेस्रो मुलुकका पर्यटकको हकमा ७२ घण्टे पिसिआर रिपोर्ट सहित कोभिड बिरुद्धको पूर्ण खोप लगाएको कागजात पनि आवश्यक पर्ने प्रजिअ तिवारीले जानकारी दिए । भारतीय पर्यटक र यात्रु सहित निजी भारतीय सवारी नेपाल भित्रिन थालेपछि यहाँका पर्यटन ब्यवसायी तथा होटल ब्यवसायीहरु समेत उत्साहित बनेका छन् ।
कोभिडको कारण लामो समयदेखि थला परेको पर्यटन ब्यवसाय नाकामा आवागमन सहज हुन थालेसँगै उकासिने उनीहरुको भनाई छ ।
अहिले सीमानाकाबाट विशेषगरी दशैं मनाउने नेपालीहरु प्रवेश गरिरहेका छन् । ती मध्ये गुल्मी, अर्घाखाँची, पाल्पा, स्याङ्जा, कास्कीलगायत पहाडी जिल्लाका युवाहरु धेरै रहेको बेलहियाका प्रहरी प्रमुख पौडेलले बताए । नेपालीहरु धेरै ठूलो संख्यामा स्वदेश फर्किन थालेपछि स्वास्थ्य जाँचमा पनि समस्या पर्ने गरेको उनको भनाई छ । भारतबाट फर्किएका नागरिकलाई गन्तव्यसम्म पु¥याउनेदेखि उनीहरुको गुनासो संबोधनका लागि बेलहिया नाकामा नागरिक सहायता कक्षा समेत स्थापना गरिएको छ ।