© २०२३
प्यूठानको खलंगा प्राथमिक स्वास्थ्य केन्द्रलाई स्तरोन्नती गरी १५ शैँयाको आधारभूत अस्पताल निर्माणका लागि जग्गा दान गरिएको छ । मल्लरानी गाउँपालिका खलंगा डाँडा पसलका विश्वनाथ श्रेष्ठको परिवारले १ रोपनी ८ आना जग्गा निःशुल्क दिएका हुन् ।
हाल कोटेश्वर काठमाण्डौँ बस्ने जग्गाधनीले खलंगा प्राथमिक स्वास्थ्य केन्द्रको नाममा जग्गापास गरिसकेका छन् । खलंगा सरोकार समूहको अनुरोधमा श्रेष्ठले परिवारले जग्गा निःशुल्क दिएको सरोकार समूहका संयोजक मनोज कुमार श्रेष्ठले जानकारी दिए । जन्मभूमिप्रतिको मायाले गाउँमा अस्पताल बनाउनका लागि जग्गा दिइएको श्रेष्ठले परिवारले प्रतिक्रिया दिएका छन् ।
नेपाल सरकारले सवै स्थानीय तहका केन्द्रहरुमा १५ शैँयाको अस्पताल बनाउन बजेट विनियोजन गरेको छ । कतिपय गाउँ तथा नगरपालिकामा जग्गा स्वास्थ्य चौकीको नाममा ल्याउने प्रक्रिया पुरा नहुँदा निर्माणको काम अघि बढ्न सकेका छैनन् । प्यूठानका झिमरुक, गौमुखी, माण्डवी, सरुमारानी र नौवहिनी गाउँपालिकाले भवन निर्माणको काम अघि बढाएका छन् । मल्लरानी गाउँपालिकाले संघीय सरकारबाट प्राप्त १८ करोड रुपैयाँ लागतमा अस्पताल बनाउने प्रक्रिया अघि बढाएको छ ।