© २०२३
सम्वत् ०३९/०४० को वसन्तका दिन थिए ती ।
फागुनमा हामी पहाडबाट बुटवल झरेका थियौँ ।
तिलोत्तमा निमावि जान थालेको तीन महिना भएको थियो ।
गर्मीका कारण वैशाखदेखि बिहान ६ बजेदेखि पढाई हुन्थ्यो । साढे एघारतिर सकिन्थ्यो ।
तर नयाँ स्कूलमा मेरो मन बसेको थिएन । पहाडकै स्कूल र संगीहरू सम्झीबस्थेँ म ।
एकदिन हाफ टाइममा सुनिलले भन्यो–“जाम् हिन्, थुप्पा खान ।”
“के थुप्पा ?” मैले सोधेँ ।
“खत्रा मीठो हुन्छ बे ! दुई रूप्पेमा खान पाइन्छ । जान्चस् ?” उसले मलाई लोभ्यायो ।
“मसँग त एक सुका मात्रै छ ।” मैले भनेँ ।
“हुन्दे ! मसँग छ पैसा । जाम् हिन् भागम् । आज म खुवाउँचु, पछि तैंलेँ खुलाउलास् !” उसले भन्यो ।
सुनिलसँग साइकल थियो । त्यसैले ऊ कक्षामा विशेष मानिन्थ्यो । आफूजत्रा केटाहरूले साइकल चलाएको देख्दा मैले पनि साइकलको सपना देखेको थिएँ । म पनि साइकल चलाउन चाहन्थेँ ।
साइकिलको मोहमा त्यो दिन पहिलोपल्ट म कक्षाबाट भागेँ । बीपी चोकबाट केही मिटर दक्षिण पद्म चैत्य विहारको पूर्वतिर पश्चिम फर्केको होटल ‘होलिडे इन’ थियो । त्यहाँ पुगेर सुनिलले थुप्पा माग्यो । मेरा लागि थुप्पा नयाँ कुरा थियो ।
कचौराको थुप्पामा तैरिएको मासुका सानासाना चोक्टातिर हेर्दै सोधेँ–“यो के हो नि ?”
खपाखप खाँदै, स्वाद लिंदै र स्वादमा व्यवधान पु¥याएकोमा मानौँ झर्किदैँ सुनिलले भन्यो– “बफ हो बफ ! बहुत मीठो छ, खुरुखुरु खा न बे !”
थुक्पाजस्तै ‘बफ’ पनि मेरो लागि नयाँ थियो । मैले खाएँ । त्यो दिन थुप्पा खाएर साइकल चढेर बजारको गल्ली चाहर्दै हिड्यौँ ।
भोलिपल्ट मोनिटरले भाग्ने, होमवर्क नबुझाउने र हल्ला गर्नेहरूको लिस्ट बुझायो । त्यसमा मेरो नाम पनि थियो । क्लास टिचर कमला मेड्मको सिर्कनु मेरो भागमा पनि प¥यो । त्यसपछि विष्णु सरको अंग्रेजी, मीना मेड्म (हेड मेड्म)को सामाजिक शिक्षा, बुद्धि सरको गणितको पहाडा लगायतका डरलाग्दा क्लास त बाँकी नै थिए । रम्भा मिसको शारीरिक शिक्षाको कक्षा भने रमाइलो लाग्थ्यो ।
जेठ महिना थियो । अन्तिम सातातिर अर्धवार्षिक जाँच थियो । फिसका साथै जाँच फिस पनि तिर्नु पथ्र्यो जस्तो लाग्छ । बाबाले बुझाउनु भनेर पैसा दिनुभएको थियो । त्यो दिन मसँग खाजाको लागि आमाले दिएको एक मोहरसहित आठ रुपैंयाँ थियो ।
त्यो त्यसबेला धेरै ठूलो रकम थियो । त्यही रकमले मलाई अर्कै मोडतिर हुत्याएको थियो । हुत्तिएर पुगेको ठाउँबाट फेरि स्कूल फर्किनु कति गाह्रो थियो, त्यो मेरो सोंचभन्दा बाहिरको कुरा थियो ।
स्कूल नपुग्दै अस्पतालको स्टोर घर अघि सुनिल भेटियो । सिर्कनुको दुखाई शायद बिर्सिसकेको रहेछ उसले । मलाई पाखुरामा समातेर अलि पर लगेर भन्यो–“जाम् हिन् । आज पनि भागम् बे । मसँग पैसा छ । थुप्पा खाम्ला । घुमम्ला ।”
“नाई म त नखाने ।” मलाई थुक्पा त्यति मीठो लागेकै थिएन ।
“त्यसो भए मोमो खाम्ला नि !” उसले फकाउन छाडेन ।
“मोमो ?” ‘मोमो’ शब्द नै मलाई अनौठो लागिरहेको थियो । पहिलोपल्ट सुनेको थिएँ– ‘मोमो’ !
“मोमो त झन् खतरा हुन्छ बे ! अनि फिलिम पनि हेरम्ला नि । जाम् ।” साइकल डो¥याउँदै उसले भन्यो ।
मलाई साइकलले तानिरहेको थियो । साइकिलको पछाडि बस्ने मात्र हैन, आफैले चलाउन पाए कस्तो हुँदो हो भन्ने कल्पनाले म भित्रभित्रै रोमाञ्चित भइरहेको थिएँ ।
“साइकल चलाउन सिकाउँचस् त ?” मैले पनि मेड्मको सिर्कनु बिर्सन बिर्सन थालिसकेको थिएँ ।
“हुन्च सिकाम्ला । जाम् हिन् । घण्टी नलाग्दै । नत्र मोनिटरले नाम लेख्छ फेरि ।” उसले हतार ग¥यो । म पछिपछि लागेँ ।
त्यसरी म दोस्रो पटक स्कूलबाट भागेँ ।
सुनिलले साइकल चलायो । म पछाडि बसेँ । उसले अमरपथ हुँदै हाटबजारतिर साइकल कुदाइरहेको थियो । म उसले पाइडल मारिरहेको, घण्टी बजाइरहेको, खाल्टाखुल्टीमा ब्रेक लगाइरहेको ध्यान दिएर हेरिरहेको थिएँ ।
साइकल चलाउन सिक्नेछु । बाबालाई साइकल किन्दिन भन्न लगाउनेछु आमालाई । र, एकदिन साइकल चलाएर हिँड्नेछु । आहा ! कति मजा होला, त्यो बेला ! साइकल पनि नदेखेका पहाडका सान्नानी, लाले र यमेहरूका त के कुरा ! हीँका साथीहरूमा पनि गोरेले बाहेक कसले जानेको छ साइकल चलाउन ?
अब म पनि साइकल दगुराउँदै हिन्ने हुम् !
खेलकुद समिति र दूरसंचार अगाडिको धारामा सुनिलले साइकल रोक्यो । अँञ्जुली थापेर पानी खायो । मैले पनि खाएँँ । सुनिलले हेन्डिल समायो ।
“ए ! मलाई पनि सिका न, म नि चलाउँचु !” मैले पनि हेण्डिल समातेँ ।
“पख् न बे ! पैला पारी बुटोल गएर जेरी खाम् !” उसले साइकल अगाडि बढायो । देब्रे खुट्टा पाइडलमाथि राख्यो र दाहिने खुट्टा स्वाट्ट घुमाउँदै उफ्रेर सीटमाथि बस्यो । दाहिने खुट्टा पनि पाइडलमाथि राखेर चलाउन थाल्यो । म साइकलको क्यारियरमा उफ्रिएर बसेँ । उफ्रिएर बस्न सक्ने भएपछि आफूलाई तन्नेरी भएजस्तो लाग्न थालेको थियो ।
हाट बजार र बालमन्दिरको छेको हुँदै झोलुङ्गे पुल तरेर हामी पारी पुग्यौँ । कदम चोकको फेरो मारेर पवन हलुवाईको दोकानमा पुग्यौँ ।
सुनिलले जेरी माग्यो । स्वादले जेरी खायौँ । मैले जीवनमा तात्तातो जेरीको पहिलो स्वाद लिएँ । त्यसपछि घुमिरह्यौँ गल्लीहरूमा । कहिले गणेशथान पुग्थ्यौँ । कहिले जीतगढी ।
“ए, मलाई पनि चलाउन सिका न बे !” मलाई लाग्थ्यो ‘बे’ भनेको शायद ‘साथी’ हो ।
“पख् न पख् । सिकाम्ला ! तर अब फिलिम होलतिर गै हालम् । ढिलो गरेपार टिकट पाइन्न । १२ बजेको सो हेर्न पर्च । ”
“फिलिम पनि हेर्नी र ?” साइकल सिक्न पाइँदैन कि भन्ने चिन्ता र फिलिम पनि हेर्न पाइने लोभले म दोधारमा परेँ ।
“साइकल त पछि सिके नि हुन्छ बे ! फिलिम फेरियो भने के हेर्ने ? क्या खत्रा छ फिलिमको पोष्टर ! हिन् हिन् जाम् ।” ऊ साइकलमाथि चढिहाल्यो । म पछाडि बसेँ ।
तातो हावासित गर्मी चर्किदै थियो । सुनिल पसिनाले निथ्रुक भिजिसकेको थियो । म पनि भिजेको थिएँ । मेरो लागि मधेशको यो गर्मी सिजन पहिलो थियो । शरीरमा घमौराका दानाहरू देखिन थालेका थिए ।
सुनिलले मलाई फिलिम होल पु¥यायो । फिलिम होलको माथि ‘लक्ष्मी चलचित्र मन्दिर’ लेखेको थियो । ट्राफिक चोकबाट पूर्वी गल्ली छिरेपछि दोकानै दोकान थिए । पोष्टकार्ड र पोष्टरका । पान, सूर्ति खैनीका । चुरा पोतेका । टिनले छाएका साना साना होटेलहरू ।
गल्लीबाट दाहिने मोडिएर पुगेका थियौँ फिलिम होलमा । भित्ताहरूमा ‘शिघ्र प्रदर्शन’, ‘आउँदैछ’ र ‘चलिरहेछ’ शीर्षकमा पोष्टरहरू टाँसिएका थिए । भीडभाड थियो । मलाई साइकल कुर्न लगाएर सुनिल लाइनमा घुस्रियो । म ट्वाल्ल परेर भीड हेर्दै थिएँ । मेरो काँधमा कापी किताबको झोला झुण्डिएको थियो । सुनिलको झोला साइकलको क्यारियरमा च्यापिएको थियो ।
स्कूल ड्रेसमा चिनेकाले देख्लान् कि भन्ने डरले कुटुकुटु खाइरहेको थियो ।
सुनिल भीडमा हराइसकेको थियो । टिकट बाँड्न शुरु भएपछि कोलाहलसँगै लाइन पनि अस्तव्यस्त भएको थियो । ठेलम्ठेल झन्झन् बढिरहेको थियो । सुनिलको अत्तोपत्तो थिएन ।
धेरै बेरपछि युद्ध नै जितेजस्तो निथ्रुक भएर ऊ आइपुग्यो । कमिजको माथिल्ला दुईवटा बटन चुँडेर छाती देखिएको थियो । कपाल उल्टे कुखुराको प्वाँखजस्तो भएको थियो । उसका हातमा टिकट थिए ।
“ए, झोला निकाल बे !” क्यारियरको झोलातिर हेर्दै, कपाल मिलाउँदै उसले भन्यो,“अब साइकल राख्न जानु पर्च ।”
आफ्नो झोला झुण्डिरहेको काँधमा उसको झोला पनि झुण्ड्याएँ ।
उसले एक मोहर तिरेर साइकिललाई स्टेण्डमा राख्यो । लक घुसा¥यो र चाबी निकालेर गोजीमा राख्यो ।
हामी मूलगेटको लाइनमा पुग्यौँ । सुनिलले “दुईजना” भन्दै टिकट देखायो । ढोकेले टिकट च्यात्यो । अर्धकट्टी सुनिललाई दियो । ठेलम्ठेल गर्दै हामी अर्को ढोकातिर लाग्यौँ । त्यहाँको ढोकेले टिकट हे¥यो र भित्र पस्न दियो ।
बाफ रे ! उकुसमुकुस ! हामी एउटा बेन्चीमा बस्यौँ । अगाडि पछाडि बेन्चीका अरु लाइन थिए । सबैभन्दा अघि मैलो मैलो सेतो पर्दा थियो । एकैछिनमा मानिसहरू खचाखच भए । बस्ने बेन्ची नपाएर कोही भुइँमै बसे । कोही भित्तामा अडेसिएर उभिए । भित्ता र सिलिङमा पङ्खाहरू घुमिरहेका थिए ।
‘दुई सन्तान ईश्वरको वरदान’, ‘लिरिल साबुन’, ‘हर्लिक्स’ लगायतका विज्ञापनहरू देखाइँदा रहेछन् ।
मैले त त्यसैलाई पो फिलिम ठानिरहेको ! त्यसपछि ‘श्रीमान् गम्भीर’वाला राष्ट्रिय गाना ।
बेन्चीबाट उठ्यौँ ।
मधुरो बत्ती निभ्यो ।
“शुरु भयो बे !”
सुनिल उत्साहित स्वरमा बोल्यो र हेर्न थाल्यो । टर्च बाल्दै टिकट चेकर आइपुग्यो । सुनिलले पर्दाबाट आँखै नहटाई कमिजको खल्तीबाट टिकट निकाल्यो र चेकरतिर बढायो ।
आँखा भने पर्दामा नै थियो ।
ऊ फिलिममा मस्त थियो । म भने घरि पर्दातिर हेर्थेँ, घरि सुनिलतिर । झिलिक्मिलिक् जस्तो भइरहेथ्यो । गर्मी र चर्को आवाजले टाउको दुख्न थालेको थियो । पर्दामा हेरिरहँदा घाटी अरट्ठिएजस्तो भएर घरिघरि वाक आउला जस्तो हुन्थ्यो ।
घरि ताली र सिट्ठी बज्थ्यो । घरि होहल्ला सुनिन्थ्यो । म घरि पर्दामा हेर्थें, घरि वरिपरिका मानिसहरूतिर । मेरो मन फिलिममा थिएन । बेलाबेलामा जाँगेको दाहिने खल्तीमा राखेको पैसा छाम्थेँ । आँखाअघि कमला मेडमको अनुहार आउँथ्यो । आमा र बाबाको अनुहार आउँथ्यो । पर्दाका फिल्मी अनुहारहरू हराइजान्थे ।
हाफटाइमसम्म हायलकायल भइसकेको थिएँ । पसिनाले पूरै भिजिसकेका थियौँ हामी ।
“जाम भो यार !” मैले भनेँ ।
“चूप लाग बे ! हाफ टाइम पछि त झन् क्या खत्रा छ ! अमिता बचनले गुण्डासँग खत्रा बदला लिन्च बुझिस्, चुन चुन के !” उसले रस लिँदै भन्यो । एकछिनपछि सोध्यो, “ठण्डा बरफ खाने ?”
मैले केही बोल्न नपाउँदैं उसले बरफ बेच्दै हिँडिरहेको भैयासँग बरफ मागिसकेको थियो । एउटा मलाई दिएर उसले पनि बरफ चुस्न थाल्यो ।
फिलिम फेरि शुरु भयो । ऊ फिलिम नसकिउञ्जेल झिमिक्क नगरी पर्दामा हेरिरहेको थियो । म भने गर्मीले छट्पटिइरहेको थिएँ । मेरा आँखा अघि भने सर मेडमका सिर्कनु नाचिरहेका थिए । साइकल चलाइरहेको आफ्नै छाया नाचिरहेको थियो ।
हुरीले बेस्सरी चुटिएको रुखजस्ता भएर दिउँसो तीन बजेतिर हामी बाहिर निस्कियौं ।
स्कूलबाट भागेर जीवनमा पहिलोपटक त्यसरी खुब कष्टले फिलिम हेरेँ । याद छ –फिलिमको नाम ‘लावारिस’ थियो । पछि पो थाहा पाएँ –त्यसको हिरो अमिताभ बच्चन रहेछन् ।
त्यसबेला मलाई ‘लावारिस’को अर्थ थाहा हुने कुरै थिएन । पछि थाहा पाएँ । त्यसपछि म पनि त ‘लावारिस’ जस्तै भएको थिएँ नि !
ट्राफिक चोकबाट भित्र वीपी चोकनेरको मिनी बस पार्कमा पुगेर सुनिलले साइकल रोक्यो । अनि मेरो खल्तीतिर हेर्दै सोध्यो–“ए बे, तँसँग कति पैसा छ ?”
“आठ रुप्पे ।”
“मसँग भएको पैसा त सक्कियो बे । तेरो पैसाले मोमो खाम् है ?”
“धत् ! यो त फिस बुझाउने पैसा हो !” म लगभग तर्सिएँ ।
“मेरो पनि त फिसकै पैसा थियो बे !” उसले भन्यो,“आज तेरो पैसाले मोमो खाम्, भोलि मैले बासँग मागेर ल्याएर दिम्ला, हुन्च ?”
लाग्यो–उसको बाबासँग धेरै पैसा छ । मेरो बाबासँग भन्दा धेरै ! देलाजस्तो लाग्यो । भोक पनि लागेकै थियो । त्यसमाथि कस्तो हुँदो हो मोमो ? जान्ने इच्छा थियो ।
सिकाउँछु भनेर पनि सिकाएको थिएन । मैले सोधेँ, “आजै सिकाउँचस् त साइकल चलाउन ?”
सोचेजस्तो गरेर उसले भन्यो, “सिकाउँचु तर भोलिपर्सि । आज त बहुत ढिलो भैसक्यो बे ! पछि चानमारीको गिराउनमा सिकाम्ला । आज मोमो ख्वा ।”
“साँच्चै सिकाउँचस् त ?” रुन्चे प्रश्नमा अविश्वास थियो ।
“बोल दिया तो, बोल दिया ! दोस्तीको कसम !” उसले फिल्मी स्टाइलमा भन्यो ।
त्यसपछि उही ‘होलिडे इन’ ! जीवनमा पहिलोपटक मोमो भक्षण !
अन्त्यमा मेरो खल्तीबाट सात रुपियाँ चैट !
अस्पताल अगाडिसम्म साइकलमा । त्यसपछि हिँड्दै थिएँ लुरुलुरु ।
भुड्की चोक ।
चाँदमारी चोक ।
सुखौराको किनारै किनार ।
अनि, सुक्खानगरका खेतका आली आली ।
हिंडिरहूँ, हिंडिरहूँ र निरन्तर हिंडिरहूँ ! मलाई घर नआइदेओस् जस्तो लागिरहेथ्यो ।
गर्मीले निस्किरहेथ्यो पसिना या डरले ! छुट्टयाउन सकिरहेको थिइन । स्कूलबाट भागेर फिसको पैसा मासेकोमा डर लागिरहेथ्यो वा पछुतो ! त्यो पनि छुट्टयाउन सकिरहेको थिइन ।
आज चार दशकपछि पनि साइकल सिक्ने रहरले घाइते भएका बालकहरूको जुलुश हिँडिरहन्छ मेरो सपनामा ।