© २०२३
प्रधानमन्त्री रोजगार कार्यक्रमका देशभरमै सबैभन्दा धेरै रकम सल्यानको बागचौर नगरपालिकाले प्राप्त गरेको छ । संघीय सरकारले आर्थिक बर्ष २०७८।०७९ का लागी कामका लागी पारिश्रमिकमा आधारित आयोजना संचालन गर्न बजेट बिनियोजन गरे अनुसार नेपालका ७ सय ५३ स्थानिय तहहरु मध्य सबै भन्दा बढी रकम सल्यानको बागचौर नगरपालिकाले प्राप्त गरेको हो ।
चालू आर्थिक बर्षमा पनि नेपालकै उत्कृष्ट बनेको बागचौर नगरपालिकाले आगामी आर्थिक २०७८।०७९ का लागी ७ करोड २५ लाख ६५ हजार रकम शसर्त अनुदानमा पाएको हो । यस्तै प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत सल्यानकै दार्मा गाउँपालिका धेरै रकम पाउने स्थानीय तहमा परेको छ । दार्मा गाउँपालिकाले आगामी आर्थिक बर्षका लागी ६ करोड ८६ लाख २६ हजार ससर्त अनुदान रकम प्राप्त गरेको छ ।
तोकिएको समय सिमा भित्र कार्यप्रगतिको तथ्यांक परिबिष्ट गरेको आधारमा नेपाल सरकारले नयाँ आर्थिक बर्षका लागी बजेट बिनियोजन गर्दै आएको छ । बागचौर नगरपालिकाका मेयर लोकमान बुढाथोकीले प्रधानमन्त्री रोजगार कार्यक्रमले सृजनशिल बिकासको अवधारणा ल्याउनुका साथै गरिवि न्यूनीकरणका लागि टेवा पु¥याएको बताए ।
प्रधानमन्त्री रोजगार कार्यक्रममा दुई पटक नेपालकै उत्कृष्ट बनेको बागचौर नगरपालिकामा सुचिकृत बेरोजगार संख्या ६ हजार ५ सय ६९ जना रहेको र जस मध्ये १ हजार २ सय ५८ जना चालू आर्थिक बर्षको रोजगार कार्यक्रममा जोडिएको बागचौर नगरपालिकाका रोजगार संयोजक नवराज डाँगीले जानकारी दिए । यस्तै दार्मा गाउँपालिकामा सुचिकृत बेरोजगारको संख्या ६ हजार १ सय ९९ सय जना रहेको र चालू आर्थिक बर्षमा १ हजार १ सय ९० जना उक्त कार्यक्रम मा सहभागी भएको दार्मा गाउँपालिकाका रोजगार संयोजक राजकुमार वलीले बताएका छन् ।
जिल्लामा सबै भन्दा कम अनुदान पाउने स्थानीय तह मध्य बनगाड कुपिण्डे नगरपालिका परेको छ । उक्त नगरपालिकाले १ लाख १ हजार अनुदान रकम पाएको छ । बनगाड कुपिण्डे नगरपालिकाबाट एक जना पनि सुचिकृत भएका छैनन् ।
जिल्लाका दश स्थानीय तह लाई ससर्त अनुदानमा ३५ करोड २९ लाख ५२ हजार रकम बिनियोजन भएको छ । जस अन्तर्गत कालिमाटी गाउँपालिकालाई ५ करोड ६१ लाख १३ हजार, कुमाख गाउँपालिकालाई ३ करोड ९१ लाख ६९ हजार, शारदा नगरपालिका २ करोड ३३ लाख ५९ हजार, सिद्वकुमाख गाउँपालिकालाई २ करोड ७१ लाख ३८ हजार, त्रिवेणि गाउँपालिका २ करोड ३७ लाख ७४ हजार। छत्रेश्वरी गाउँपालिकालाई २ करोड १५ लाख ७० हजार र कपुरकोट गाउँपालिका २ करोड ५ लाख ३७ हजार रुपैयाँ प्राप्त भएको छ ।