© २०२३
लुम्बिनी, २२ असार ।
बुद्धको मावली क्षेत्र देवदहको प्राचीन दरबार रहेको दावी गरिएको खयरडाडाँमा प्राचिन इनार र मध्यकालीन अवशेषहरु भेटिएको छ । लुम्बिनी विकास कोषले देवदह ९ खयरडाँडामा गरेको उत्खननमा प्राचीन इनार र मध्यकालीन भवनको अवशेष भेटिएको हो ।
गत जेठ १७ गतेदेखि शुरु गरी असार १५ गतेसम्म करिव एक महिनासम्म गरिएको उत्खननबाट प्राचीन इनार र धार्मिक प्रयोजनका लागि निर्माण गरिएको हुनसक्ने सभाहलमा प्रयोग गरिएका इट्टा, माटोको दियोहरु प्रशस्त भेटिएको लुम्बिनी विकास कोषका पुरातत्व महाशाखा प्रमुख हिमाल उप्रेतीले जानकारी दिए ।
‘प्राचीन इनारको प्रष्ट आकार देखिएको छ, धर्मदेशना गर्न निर्माण गरिएको हुनसक्ने भवनको संरचनामा प्रयोग गरिएको २ साईजका इट्टा भेटिएको छ’ पुरातात्वविद् उप्रेतीले भने –‘मध्यकालीन जस्तो देखिने इट्टा भेटिएको हो, तर काल निर्धारणका लागि परीक्षणपछि पुष्टि हुनेछ ।’ उत्खननमा ठूलो पर्खालको संरचना, माटोका दियोको पिँध, इट्टाहरु प्रशस्त भेटिएको छ । पुरातात्वविद उप्रेतीका अनुसार भेटिएका संरचनाका आधारमा खयरडाँडामा कुनै समयमा धार्मिक प्रयोगका लागि ध्यान केन्द्र वा कुनै ठूलो भवन भएको अनुमान गर्न सकिन्छ ।
स्थानीयहरुले भने देवदह ९ घोडाहा स्थित खयरडाँडा क्षेत्र नै गौतम बुद्धको मावली कोलीय गणराज्यको राजधानीको दरवार क्षेत्र भएको बताउँदै आएका छन् । उत्खननमा केही प्राचीन इनारसँगै ध्यानकेन्द्र जस्तो देखिने भवनको पर्खाल, पूजाका लागि राखिएका दियोहरु प्रशस्त भेटिएकाले देवदहको दावीलाई बल पुगेको बताईन्छ । तर, प्राचीन कोलिय गणराज्यको राजधानी देवदह क्षेत्रको यकिन पुष्टिका लागि भने ठूलो मात्रामा उत्खननको आवश्यता रहेको विज्ञहरु बताउँछन् । लामो समयपछि कोषका तर्फबाट उत्खनन शुरुवात भएकाले देवदहको खोजीका लागि ठूलो आकारको उत्खनन आवश्यक पर्ने पुरातात्वविद् उप्रेतीको भनाई छ ।
लामो समयदेखि देवदह क्षेत्रमा उत्खननको माग भएपनि हुन सकेको थिएन । देवदह क्षेत्रबाटै लुम्बिनी विकास कोषको कोषाध्यक्षमा सिद्धिचरण भट्टराई नियुक्त भएपछि उत्खननलाई बिशेष महत्व दिदैं बर्षौपछि उत्खनन थालिएको हो । उत्खननले प्राचीन इनार र भग्नावेषहरु पत्ता लागेले यसले देवदहको खोजीका लागि महत्वपूर्ण प्रमाण फेला पारेको कोषाध्यक्ष भट्टराईले बताए । उनले स्थानीयहरुले दरबार क्षेत्र नै खयरडाँडा क्षेत्र भएको बताएपनि उत्खननले प्राचीन क्षेत्रको रुपमा पुष्टि गरेको बताए । उनले देवदहको खोजीका लागि निरन्तर उत्खनन गर्नुपर्नेमा जोड दिए । देवदह नगरभित्रका बैरीमाई, कन्यामाई र भवानीपुर बौद्धकालीन पुरातात्विक स्थलका रुपमा विगतको उत्खननले प्रमाणित गरेकाले त्यहाँको पुरातात्विक स्थलहरूको संरक्षण गर्दै पर्यटकीय आकर्षणको केन्द्र बनाउन सकिने कोषाध्यक्ष भट्टराईले बताए ।
देवदह नगरपालिकाले सार्वजनिक गरेको नीति तथा कार्यक्रममा बुद्ध सम्बद्ध विषयवस्तुको खोज, उत्खनन तथा अनुसन्धान गरिने, लुम्बिनी विकास कोषसँगको सहकार्यमा पूरातात्विक क्षेत्रको उत्खननलाई निरन्तरता दिने उल्लेख गरेको छ ।
उत्खननबाट प्राप्त भएका पुरातात्विक वस्तुहरुलाई संरक्षण गर्नका लागि संग्रहालय निर्माण गरिने देवदह नगरपालिकाका नगरप्रमुख धु्रव खरेलले बताए । लुम्बिनी विकास कोषका पुरातत्व शाखा प्रमुख हिमाल उप्रेतीको नेतृत्वमा पुरातत्व विभागका हरि भुसाल, कोषका नवराज अधिकारी, चन्द्रप्रकाश पाठक, अन्तर हुसेन मुसलमान, शुभेच्छा पोखरेल, निशा पन्थी र अम्बिका सुब्बा खटिएका थिए ।
यसअघि कोषले बैरीमाई, कन्यामाई र पुरातत्व विभागले भवानीपुरमा उत्खनन गरेको थियो । कोषले यही आर्थिक वर्षको वार्षिक कार्यक्रम अनुसार कपिलबस्तुको गोटिहवामा गत चैत २५ गतेदेखि जेठ ३ गतेसम्म उत्खनन् गरेको थियो ।