© २०२३
बगनासकाली गाउँपालिका खानीगाउँ, पाल्पाको छेर्लुङमा बसोबास गरेका बोटे समुदायका बालबालिकाको आज भोलि दिन चर्या फेरिएको छ । बिहान उज्यालो भएपछि नै कम्मरमा डेली, हातमा जाल लिएर कालीगण्डकी नदीमा माछा मार्न जाने बालबालिका आजभोली पाठ्यपुस्तक लिएर अध्ययन गर्ने गरेका छन् ।
परम्परागत व्यवसाय छाडेर अध्ययन कार्यमा लाग्ने संभवतः यो नै पहिलो पुस्ता हो । स्थानीय सरकारले सिमान्तकृत वर्ग समुदाय भित्रपर्ने बोटे समुदायमा शैक्षिक सुधार कार्यक्रमलाई सार्थक बनाउन बोटे समुदायबाटै शिक्षकको प्रतिनीधित्व गराएपछि नयाँ पुस्ताका बालबालिकाहरुमा शिक्षा प्रतिको आर्कषण बढेको गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद बस्याल बताउँछन ।
बालबालिकालाई शिक्षा प्रति आर्कषण बढाउन दिवा खाजाको व्यवस्था थियो नै त्यसै माथि बोटे समुदाय मै सबै भन्दा धेरै पढेकी स्थानिय रुपा बोटेलाई शिक्षकको जिम्मेवारी दिइएको छ । उनी विगत २ वर्ष देखि स्थानिय भगवती आधारभूत विद्यालयमा शिक्षकको रुपमा स्थापित गरेका कारण पछिल्लो समयमा बोटे समुदायमा शैक्षिक जागरण आएको उनले बताए ।
शिक्षाको लहरले नछोएको बोटे समुदायमा शिक्षाको महत्व बुझाउन कठिन भयो । बिहान ८ बजे नै खाना खाएर सबैको घरमा पुगेर बच्चा लिएर विद्यालय जाने गरेको रुपा बताउँछिन । आफ्नो समुदायमा आफुले मात्र धेरै अध्यन गरेको पहिलो ब्यक्ति भएको आफुले स्नातक तह सम्म अध्ययन गरेको उनले बताइन । पुरानो पुस्तामा पढेर के हुन्छ ? भन्ने परम्परावादी सोच थियो जब आफु स्थानीय विद्यालय मै शिक्षक भएपछि पढेपछि काम पाइदो रहेछ भन्ने सन्देश पुगेको उनको अनुभव रहेको छ ।
स्थानीय विद्यालयमै आफु शिक्षकको रुपमा उपस्थिती भएपछि नियमित रुपमा विद्यालय जाने बालबालिकाको सख्या पनि बढेको उनले सुनाइन । पहिले पहिले जसोतसो २० देखि २५ को सख्यामा विद्यालय जाने मध्ये धेरैले बिचमा कक्षा छाडने गर्दथे तर गत शैक्षिक सत्रमा ८५ जना बालबालिका नियमित रुपमा विद्यालय जाने गरेको उनले बताइन । आफ्नै कठोर संर्घष र मेहनतबाट स्नातक तहसम्म अध्ययन गरेकी रुपाको परिवारमा ४ जना दाजुभाइ ५ जना दिदी बहिनी मध्य साहिली छोरी रुपाले आफ्नो परिवारमा मात्र नभइ बोटे समुदाय मै सबै भन्दा धेरै पढने चेलीका रुपमा आफनो परिचय बनाएकी छन ।
आर्थिक विपन्नताले नराम्रोसँग गाजेको कारण सामान्य रुपमा अध्ययन गरी रोजगारीको खोजीमा भारत जाने, पहिले सम्पन्न परिवारका बच्चा हेर्न होस वा घरेलु मदजुरको रुपमा काम गर्न जाने परिपाटी थियो । बोटे समुदायलाई सरकारी नीति अनुरुप शिक्षाको मुल प्रवाहमा ल्याउन यस अगाडि प्रयास सनै नभएकाले बोटे समुदाय पछाडि परेको स्थानिय सरकारका शिक्षाशाखा प्रमुख ठानेश्वर तिमिल्सेनाको बुझाई रहेको छ । स्थानिय सरकारको निर्माण भएपछि शिक्षा नै मुख्य प्राथमिकता भनेर कार्यन्वयन गरेको सकारात्मक प्रभाव यति खेर बोटे समुदायमा परेको छ बोटे समुदायको बालबालिका शिक्षाको ज्योतीबाट बन्चित हुन नपरोस भन्नका लागि त्यहि समुदायको शिक्षक राखेपछि सकारात्मक प्रभाव परेको उनले बताए ।
विद्यालयका प्रधानाध्यापक जनार्दन अधिकारी पनि बोटे समुदायमा पढ्न र पढाउन पर्दछ भन्ने चेतनाको बिकासको श्रेय रुपालाई नै जाने बताउँछन । जब रुपाको विद्यालयमा शिक्षकको रुपमा प्रवेश भएसंगै चेतनाको तह बढेको उनले बताए । गाउँमा ८५ घर परिवार बोटे समुदायको रहेको छ ।