© २०२३
लकडाउनको मौका छोपी काठ तस्कर गरेको आरोपमा तुलसीपुरमा बस चालक सहित सात जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा तुलसीपुर ६ बनकट्टा बस्ने रा १ ख २३७५ नम्वरको बस चालक ३१ बर्षिय चुमानसिंह चौधरी, सोहि ठाउँका २२ बर्षिय समिर चौधरी, २० बर्षिय मनोज चौधरी, २० बर्षिय सन्तोष चौधरी, १८ बर्षिय विजय चौधरी, २८ बर्षिय श्याम चौधरी र ३८ बर्षिय शिव परियार रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी शिव बहादुर सिंहले जानकारी दिए ।
उनीहरुलाई बस सहित लोड गरिएको ३५ क्युफिट सालका काठ बरामद गरिएको डिएसपी सिंहले जानकारी दिएका छन् । विशेष सुचनाको आधारमा उनीहरुलाई मंगलवार विहान तिन बजेतिर पक्राउ गरिएको हो । लकडाउनको मौका छोपेर तुलसीपुर उपमहानगरपालिका वडा नम्वर १ र ३ लाई जोड्ने गरी भमके खोलामा बनेको सार्वजनिक काठको पुल भत्काएर काठ चोरी गर्दा गदै उनीहरुलाई पक्राउ गरिएको हो । बर्षौ पहिले अभिधारा र गुडालेडाँडालाई जोड्नेगरी भमकेखोलामा काठेपुल बनाईएको थियो । उनीहरुले यस अघि गएको बैशाख ३० गते राती सोहि पुलको काठ चोरी गरेका थिए । उनीहरुलाई आबश्यक कारवाहीका लागी सब डिभिजन वन कार्यालय तुलसीपुर पठाइएको छ ।
यता सब डिभिजन वन कार्यालय तुलसीपुरका प्रमुख विनोद शाहले आवश्यक कारवाहीको प्रक्रिया अघि बढाईएको बताएका छन् । उनले सार्वजनिक पुलको काठ चोरी भएकाले पक्राउ परेकाहरु विरुद्ध सार्वजनिक चोरी र बन ऐन अनुसार काठ तस्करी सम्बन्धी दुई वटा मुद्धा लाग्ने बताएका छन् । तर अहिले छानविनका लागी सरकारी वकिल कार्यालयमा पेश गरिएको हुदा उनीहरुलाई कुन शिर्षकमा मुद्धा चलाईने भन्ने बारे एकिन भैनसकेको उनले बताए । पक्राउ परेकाहरुलाई अहिले ईप्रका तुलसीपुरको हिरासतमा राखीएको र कोरोना माहामारीका कारण विषम परिस्थितिको समय भएकाले हाल उनीहरुलाई जमानतमा छोड्ने तयारी भईरहेको सब डिभिजन वन कार्यालयका प्रमुख शाहले जानकारी दिए ।
माहामारीको समय भएकाले हिरासतमा राखीरहदा थप कुनै समस्या आउन सक्ने भन्दै हाललाई केहि समयका लागी जमानतमा छोड्ने तयारी भईरहेको उनले बताए ।