जन्मिने बित्तिकै म रोइन भन्थे !
आमाले चिमोटेर रुवाउनु भएको रे !
बाँच्नको लागि रुवाइ आवस्यक छ,
मैले जानिन होला सायद !!
लगत्तै मैले दूध चुस्न सकिन रे !
मुन्टा निचोरी निचोरी
आमाले अमृत पिलाउनु भयो रे !
प्रान्जल पनि मैले
त्यस बेला चिनिन होला सायद !!
दाँत पलाए पछि मैले
तिनै दूध टोकिदिन थालें रे फेरि !
असह्य पीडा सहेर पनि
भन्नुहुन्थ्यो रे आमाले-
लाम्टा चुस्न पनि जान्दैन यसले !!
दूध खान छोडे पछि मैले
औंला टोकिदिन थालें रे,
खान्की पोखिदिन थालें रे !
मुसुक्क हाँसेर भन्नुहुन्थ्यो रे आमाले-
आफ्नो भुँडीमा ठुस्न पनि जान्दैन यसले !!
बिठ्याइँ गर्दा छिमेकमा,
भन्नुभयो सधै-
ए हजुर गाली नगर्नुस्, केही जान्दैन यसले !!
कान समाउँदा बाले कहिलेकाहिं,
भनिरहनु भयो आमाले जहिलै-
एकचोटीलाई बिरायो छोडिदिनूस्,
केही जान्दैंन यसले !!
दुश्मनीहरु पलाइरहँदा समाजमा
भनिरहनुभयो-
यो लाटो संग भो नखेल्नुस जुहारी,
केही जान्दैन यसले !
लगनहरु आइरहँदा प्रत्येक वर्ष
भनिरहनुभयो-
यो लठेब्रालाई म खोज्छु बुहारी,
केही जान्दैन यसले !!
एक दिन यस्तो आयो,
बुहारी च्याँपेर तगारो नाघ्दै गर्दा मैले,
आमा भन्दै हुनुन्थ्यो-
तिमी त भोली गएर
आमा बन्ने प्राणी हौ बुहारी,
तिमीलाई सबै थाहा छ !
यसको ख्याल राख्नू है,
…केही जान्दैन यसले !!!
हेमन्त गिरी, जापान