© २०२३
दुःखले मान्छेलाई द्रवित पार्छ । त्यसैले मान्छेले सुखमा भन्दा दुःखमा अभिव्यक्ति खोज्छ । भन्छन्–सुख बाँडे बढ्छ, दुःख बाँडे घट्छ । दुःख त घटाउनु नै छ नि ।
र, दुःख बाँड्न रुनु नै छ !
अनि न अरबको खाडीमा एउटा मजदुर शब्दहरूमा रुन्छ । मनभरि रुन्छ । गहभरि रुन्छ । रातभरि रोएर हल्का हुन्छ । बिहान काममा जान्छ ।
उँधो बगिरहेको जीवनप्रवाहमा हेलिएर त्यो मरुभूमिमा म पनि त झण्डै ३ वर्ष बरालिएको थिएँ । त्यो कालखण्डमा मैले त्यहाँ नेपाली युवाहरुको प्रगति, जाँगर र केही गर्ने उत्साहको झिल्को भेटेको थिएँ । तिनका आँसु, रगत र पसिनासँग गाँसिएका धेरै धेरै कथाहरू पनि त भेटेको थिएँ ।
अरेबियन सागरले घेरिएको त्यो सानो टापु त्यसैले कथाहरुको महासागरजस्तो लाग्दछ । कथाहरु मानौं नदीसँगै बग्दै बग्दै आउँछन् । र, यो सागरमा मिसिन्छन् । मनको तापले वाष्पीकृत भएर कथाहरुको यो महासागरबाट दुःख र ग्लानी, आशा र अनुराग, माया र मोहका बादल निरन्तर उठिरहन्छन् । पुनरावृत्तिको आभाष भइरहने नेपालीका कथा अन्त्यहीनजस्तै लाग्छन् ।
एकछाक खान नपुग्ने खेतबारी । वर्षा नओत्ने झुपडी । रोगग्रस्त अस्ताचलमाथिका घामजून जस्ता बाआमा । साँवाव्याजको जंजीरले बाँध्दै गइरहेको घरव्यवहार । लालाबालाहरुका भविष्य । सेना–प्रहरी र माओवादीहरुको दोहोरो पेलाइको विराट अत्याचार ! दुःखका पहाडमुन्तिर पिसिँदा गाउँमा बस्नै नसक्ने परिस्थिति ।
अभिव्यक्तिको खोजी नै पहिलो खोजी हुँदो रहेछ । मान्छे आँसुमा भिजेका उकुसमुकुस पीडाहरुलाई अभिव्यक्त गरेर हल्का हुन खोज्दो रहेछ । बाँड्नलाई धेरै दुःख र अनुभूतिहरु छन् तर बाँड्ने पो कोसँग हो ? सडक पेटीमा, निर्माणधीन गगनचुम्बी महलहरुमा, कल कारखानाहरुमा, इन्धन संकलन तथा प्रशोधन केन्द्रहरूमा, जमीनमा या समुद्रमा जहाँ हेरे पनि त आफूजस्तै दुःखले निथ्रुक्क भिजेकाहरू नै देखिन्छन् !
दुःख बाँड्नका लागि आफूजस्तै घडीको एलार्ममा दगुरादगुर गर्ने यन्त्रमानवजस्ता दःुखिया बाहेक अरु कोही छैनन् । अनि न छियाछिया मनबाट उकुसमुकुस भावनाहरु पोखिन्छन् कार्ड बोर्डमा ! सिगरेटका खोलमा । कोठाका भित्तामा । डायरीका पानामा । प्रियसीका तस्वीरको पृष्ठमा ।
पोखिएका ती भावनाका हरफहरुमा आहत र वेबारिस कथा रोइरहेको हुन्छ ।
आज म त्यस्तै कथा लिएर आएको छु । यो कथा सुदूर दुर्गम जिल्ला रुकुमको हो । रेगिस्तानमा पुगेको दुखिया नरेको हो ।
आमा डाँडामाथिको जूनजस्ती थिइन् । सम्वत् २०६० को साउनमा किशोरी बहिनीलाई माओवादीको आरोपमा सेनाले पक्रेर लग्यो । ऊ कल्पनातीत रुपमा मारिई । बहिनीको पिरलोले दीर्घ रोगी आमाले पनि ओच्छ्यान च्यापिन् । केही महिनामै आमाले पनि उसलाई टुहुरा बनाएर छाडिन् । नरे दोहोरो त्रासले घर छोडेर भाग्ने अवस्थामा पुग्यो । स्वास्नी र नाबालक छोरा बेसाहारा भए ।
सम्वत् २०६२ को वैशाखमा ससुरालीको आड्भरोसामा लाख रुपैयाँ खर्चेर नरे कतार उड्यो । तर त्यहाँ पुगेको दुई दिनमै थाहा भयो–त्यहाँ त जीवन रुकुममा भन्दा पनि कष्टप्रद रहेछ । पीडाको छपनीले दःुखियालाई जहाँ गए पनि त थिचिरहने रहेछ ।
तलब नौ सय रियाल भनिए पनि मासिक पाँच सय मात्र पाउने भयो । त्यो पनि कहिले पाउने अनिश्चित । महिनौँसम्म उसले ‘खबुस’ (त्यताको सबैभन्दा सुलभ र सस्तो रोटी) र पानीको भरमा प्राण धान्यो । सुत्नलाई सडक किनारमा फालिएको थोत्रो बस थियो । उखरमालो गर्मीले कैयौँ रात ऊ सुत्नै सकेन । आमा र बहिनी, असहाय स्वास्नी र नाबालक छोराको सम्झनाले रातको एकान्तमा उसको मुटु भक्कानिएर आउँथ्यो । हुक्क हुन्थ्यो । रुकुमको चीसो पानीको तृष्णाले रुवाउँथ्यो । अहिल्यै भागेर जाउँजस्तो हुन्थ्यो तर त्यो सम्भव थिएन । झण्डै दुई वर्ष हाड घोट्दा पनि ऋण तिर्न सकेन । २१ औं महिनामा बल्लतल्ल रिलिज लियो । र, अर्को कम्पनीमा काम गर्न थाल्यो ।
संयोगवश उसले पाएको त्यो नयाँ कम्पनी मैले काम गर्ने कम्पनी थियो ।
दुःखका दिन त उस्तै हुन् तर त्यता गएपछि उसको दिनचर्या फेरियो । आरामले ए.सी. रुममा सुत्न पाउँथ्यो । खाना र कामको नियमित तालिका थियो । महिना बित्ने बित्तिकै बैंकमा तलब जम्मा हुन्थ्यो । विमारी हुँदा डाक्टरकहाँ जान पाउँथ्यो ।
ऊ निर्माणमा थियो । म वर्कशपको ‘प्रिभेन्टिभ मेन्टिनेन्स’ मा । उसको कार्य क्षेत्र अर्कै । मेरो अर्कै । त्यसैले दिनमा उसको र मेरो भेट हुँदैनथ्यो । तर चिनजान भएपछि साँझमा वा छुट्टीको शुक्रबार ऊ मेरो कोठामा आउँथ्यो । घण्टौँ बस्थ्यो । आफ्नो कुरा सुनाउँथ्यो । मेरो सुन्थ्यो ।
मेरो कोठामा किताब र अखबारहरू यत्रतत्र छरिएको हुन्थ्यो । ऊ किताबहरू छाम्थ्यो । मुसाथ्र्यो । अखबारहरू पट्टयाएर मिलाएर राख्थ्यो । पछि पो थाहा पाएँ–ऊ त पढ्न लेख्न जान्दैनथ्यो ।
अनि मैले उसलाई खुब गाली गरेँ ।
यो जमानामा पनि पढाइलेखाइ छैन भने के गरी खान्छौ ? हप्काएँ । पढाइको महत्व बताएँ ।
उसको छातीमा पढ्न नजानेर भोगेका दुःखहरू, ठगिएका कथाहरू, अपमानित भएका घटनाहरूको खात रहेछ । ऊ मेरो अघि ‘ग्वाँ ग्वाँ’ रोयो । ‘दाइ मलाई जसरी नि पढाउनुस्’ भन्यो ।
मैले उसको आँखामा उठिरहेको झिल्को देखेँ । एउटा प्रतिज्ञा देखेँ ।
मैले उसलाई ‘कखरा’ पढाउन शुरु गरे । अंक चिनाउन शुरु गरेँ । पछिबाट ‘एबीसीडी’ पढाउन थालेँ ।
महिनौँको मिहिनेतपछि ऊ कनीकुथी गरी पढ्न लेख्न सक्ने भयो । राति अबेरसम्म पनि ऊ मेरो कोठामा घोप्टिएर लेखिरहेको हुन्थ्यो । म मध्य रातमा जाग्दा पनि ऊ पढिरहेको हुन्थ्यो । मैले ‘ढिलो भयो जाऊ’ भनेपछि आफ्नो कोठामा सुत्न जान्थ्यो ।
एक वर्षपछि ऊ कान्तिपुर र राजधानी दैनिकको कतार संस्करण पढ्न सक्ने भयो । किताब पढ्ने भयो ।
कहिलेकाँही अलिअलि लेख्ने मेरो संगतले होला ऊ पनि केही लेख्ने कोशिस गथ्र्यो । मलाई देखाउँथ्यो । म स्यावास भन्थेँ । मेरो स्यावासीमा मख्ख पथ्र्यो । र, अझै लेख्थ्यो । लेखिरहन्थ्यो ।
शायद वर्षौदेखि गुम्सिएका भावनाहरु लेख्थ्यो । कतिसम्म भने, उसका रुमम्याटहरू भन्थे–रातभरि लेखिरहन्थ्यो रे । लेख्न सक्ने भएपछि मानौँ मनमा थुनिएको बाँध फुट्यो ।
र, अर्को एउटा नेपाली, मरुभूमिको दुःखमा कवि भएर निस्कियो !
अहिले पनि मेरो स्मृतिमा ताजै छ । उसले पहिलोपटक लेखेर देखाएको भावना यस्तो थियो–
नाउ मेरा नरे दमाइ सेयाल पाखा मेरो ठाउ ।
कइले नीको होला हजुर मनको मेरो घाउ ।