© २०२३
इन्फ्लुएन्जा भाइरस
हावाको मध्यमबाट सर्ने यो भाइरस हाल देखा परिसकेको छ । छिटो र समुदायमा छिट्टै संक्रमित गर्न सक्ने भएकोले जोखिमका वर्गमा रहेकाहरु चनाखो हुनुपर्छ । दम, उच्च रक्तचाप, मधुमेह, अंग प्रत्यारोपण गरेका, बालबालिका र वृद्धवृद्धाहरु यस भाइरसको जोखिममा पर्ने समूह हुन् ।
संक्रमित भैसकेको अवस्थामा अन्य मानिसभन्दा अलग्गै बस्ने, कम्तीमा १० दिनजति मानिसहरुसँग दूरी कायम राख्नुपर्छ । घरबाहिर निस्कँदा मास्क लगाउने र संक्रमित व्यक्तिबाट टाढा रहनुपर्छ ।
कोल्ड डायरिया
जाडो याममा बढी देखिने यो एक प्रकारको भाइरल डायरिया हो । पाँच वर्षमुनिका बालबालिकामा खासगरी रोटाभाइरस नामक किटाणुले बढी दुःख दिन्छ भने वयस्कहरुमा नोरो भाइरसको कारणले डायरिया र बान्ता गराउँछ । रोटा भाइरस खासगरी ३ वर्षमुनिका बालबालिकामा बढी प्रभाव पार्ने गर्छ । विश्वमा नै यो भाइरस पखाला र बान्ताबाट हुने बालबालिकाको मृत्युको सबैभन्दा प्रमुख कारण हो ।
संक्रमित व्यक्तिको दिसा वा बान्ता, पानी वा कुनै सतह वा सामानमा परेमा र सो खानेकुरा वा सतहमा छुँदा यो भाइरस सहजै सर्न सक्छ । यो खासगरी पार्टी, स्कुल वा नर्सिङ संस्थाहरुमा अचानक प्रकोपको रुपमा देखिन सक्छ । व्यक्तिगत सरसफाइ र सफा खानेकुरा नै यसबाट बच्ने मुख्य उपायहरु हुन् ।
टन्सिल
जोडोको समयमा टन्सिलको समस्या आमरुपमा देखिन्छ । यो ब्याक्टेरियल या भाइरस संक्रमणबाट हुन्छ । यो समस्या भएमा गलामा दुख्ने, खाना खान, बोल्नमा अप्ठ्यारो हुनुका साथै ज्वरो पनि आउन सक्छ। यसबाट बच्नको लागि यस मौसममा चिसो पेय पदार्थ तथा चिसो खानेकुरा सेवन गर्नु हुँदैन।
दम
दमबाट पीडित बिरामीहरुको समस्या जाडोको मौसममा बढ्न सक्छ । दम एक किसिमको एलर्जिक रोग हो। रातको समयमा, चिसो बढेको बेला तथा जाडोको मौसममा एलर्जिले आक्रमण गर्ने सम्भावना बढी हुन्छ। त्यसैले दमका रोगीहरुले चिसो हावाबाट बच्नुपर्छ ।
धुलो, माटो, धुवाँ र वायु प्रदूषणबाट बच्न एकदमै जरुरी हुन्छ। दमका रोगीले आफ्नो नियमित सेवन गर्ने औषधिहरु चिकित्सकको सल्लाह बमोजिम लिनुपर्छ । आफूखुसी औषधि बीचमा छोड्नु हुँदैन।
जोर्नीको दुखाइ
जाडो मौसममा जोर्नी दुख्ने समस्या र बाथ रोग पनि धेरैलाई देखिन्छ । हाम्रो शरीरभित्रको तापक्रम र बाहिरको तापक्रम नमिल्दा जोर्नीसम्बन्धी समस्या देखा पर्छ । जाडो महिनामा बाथ रोगका बिरामी पनि धेरै देखिन्छन् । विषेशगरी वृद्धवृद्धामा जोर्नी दुख्ने समस्या बढी हुन्छ । चिसो बढेको बेला ज्वाइन्ट पेन जसलाई पनि हुन सक्छ। तर बूढाबूढीहरुको हड्डी कमजोर भएको कारण यिनीहरुलाई चिसोले बढी प्रभावित गर्छ।
यसबाट बच्नको लागि सकेसम्म चिसो हावामा बाहिर ननिस्कने, जोर्नीहरुमा तातो सेकाइको लागि पट्टी या हट ब्यागको प्रयोग गर्नुपर्छ । सामान्य हल्का किसिमको व्यायाम नियमित गर्ने, न्यानो लुगा लगाउने, झोलिलो खानेकुरा खाने, क्याल्सियम खाने, सागपात, पोषणयुक्त खानेकुरा प्रशस्त मात्रामा खाने गर्नुपर्छ ।
ज्वरो, रुघाखोकी
जाडोमा रुघाखोकीले पनि धेरैलाई सताउँछ । यो भाइरस कुनै संक्रमित व्यक्तिले खोक्दा, हाछ्युँ गर्दा, बोल्दा, मुखबाट निस्किने पानीका कणहरूमार्फत हावाका माध्ययमबाट अर्को व्यक्तिमा सर्ने गर्छ । जाडोयाम सुरु हुनासाथ मौसममा आउने परिवर्तनका कारण रुघाखोकीको समस्या देखिन थाल्छ ।
जाडोमा यसका भाइरस बढी सक्रिय हुन्छन् । यसले खासगरी बच्चा तथा बूढाबूढीलाई आक्रमण गर्छ । ज्वरो आउने, रुघा लाग्ने समस्या बेलैमा निराकरण नहुँदा निमोनियाको खतरा हुन्छ ।
निमोनिया
जाडो मौसममा निमोनियाका बिरामी धेरै देखिन्छन् । यो मौसममा खासगरी बच्चा र वृद्धवृद्धा निमोनियाको उच्च जोखिममा हुन्छन् । निमोनिया हुँदा धेरै ज्वरो आउने, थकान महसुस हुने, सास फेर्न गाह्रो हुनेजस्ता समस्या देखिन्छ । फोक्सोमा संक्रमण भएपछि छाती दुख्ने र श्वासप्रश्वासमा समस्या देखिने हुन्छ।
निमोनियाबाट बच्नको लागि चिसोबाट बच्ने, छातीसम्बन्धी रोगीहरुले नियमित चिकित्सकको सल्लाह लिएर उपचार गराउने, खानपानमा ध्यान दिने पोषण एवं भिटामिनयुक्त खानेकुरा खाने, धुम्रपान नगर्ने, गुम्सिएको कोठामा बस्नु हुँदैन ।
पिनास
पिनासले पनि चिसो मौसममा धेरैलाई दुःख दिन्छ । नाकको छेउमा हावाले भरिएको खाली ठाउँ हुन्छ । नाकभित्रको पानी चिसोका कारण बाहिर निस्कन नसकेपछि खाली ठाउँमा बस्छ । यसरी पानी भरिएपछि पिनास हुन्छ । पिनासबाट बच्नको लागि चिसोबाट बच्ने, धेरै एलर्जी हुने तत्व, धुलो, धुवाँ आदिबाट बच्ने, धुम्रपान तथा मध्यपानबाट टाढा रहनुपर्छ ।
जाडोमा देखिने यस्ता विभिन्न समस्याबाट बच्नको लागि न्यानो रहनु नै उत्तम उपाय हो । यसको अलावा जाडोको समयमा वाफ लिने, नुन पानीले कुल्ला गर्ने, संक्रमण भएको अवस्थामा तातो झोलीय तरल पदार्थ बढी मात्रामा खानुपर्छ । एक्कासी गर्मीबाट चिसोमा र चिसोबाट गर्मीमा जानु हुँदैन । जाडोको समयमा बालबालिका तथा वृद्धवृद्धाहरुको स्वास्थ्यमा विषेश ध्यान दिनुपर्छ ।
(शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा कार्यरत डा. पुनसँगको कुराकानीमा आधारित :इन्टरनेट स्रोत)