© २०२३
आख्यानकार लीलबहादुर क्षेत्रीलाई मैले गुवाहाटीमा उनकै निवासमा भेट्दा उनले मलाई भनेका थिए पञ्चायतले आफ्नो रजतजयन्तीको अवसर पारेर २०३९ सालमा भारतीय नेपाली कथाको पुस्तक प्रकाशित गरेको रहेछ । त्यसमा तपाइँको पनि कथा परेको छ । लीलबहादुर क्षेत्रीबाट यो सूचना पाएपछि मैले भारतीय नेपाली कथाको पुस्तक प्राप्त गरेर हेरेँ । त्यसमा मेरो पसिनाको गन्ध शीर्षकको कथा समावेश गरिएको रहेछ । यसको सम्पादन गरेका थिए प्रा. दयाराम श्रेष्ठ संभवले । उनले मेरो त्यो कथा रुपरेखाबाट लिएका रहेछन् । तबमात्र मलाई थाहा भयो झण्डै एक दशकअघि रुपरेखामा पसिनाको गन्ध कथा प्रकाशित भएको रहेछ ।
हुनत एकपल्ट मलाई कुरैकुरामा आसामका साहित्यकार श्यामबहादुर लिवाङले भनेका थिए तपाईंको रचना रुपरेखामा प्रकाशित भएको छ । तर मैले त्योे कुरालाई पत्याएको थिइन । विश्वास गरेको थिइन । पछि मैले यो कुरा विर्सें पनि । सम्पादक दयाराम श्रेष्ठ संभवले त्यस कथाको स्रोत उल्लेख गर्दै भनेका रहेछन्– रुपरेखा–९३ (२०२५ साल, पृष्ठ २–४) बाट । त्यतिबेला उत्तम कुँबरको सम्पादनमा प्रकाशित रुपरेखा पत्रिका नेपाली साहित्यको बहुचर्चित उच्चस्तरीय साहित्यिक पत्रिका मानिन्थ्यो । त्यतिबेलाका काठमाण्डौ र दार्जीलिङ्का चर्चित साहित्यकारका रचना रुपरेखामा छापिन्थे ।
आसाम मेघालयतिर रुपरेखा प्राप्त गर्न गाह्रो थियो । कुनै कुनै रुपरेखाका अंक कहिलेकाहीं घुम्दै फिर्दै आसाम मेघालयसम्म पुग्दथे । जे होस् मेरो त्यो मनोवैज्ञानिक कथालाई उत्तम कुँबरले निकै महत्व दिएर प्रकाशित गरेका रहेछन् । मेरो उत्तम कुँबरसित कहिले भेटघाट भएन । कुनै संवाद भएन । मैले कहिले उनलाई नजिकबाट चिन्ने जान्ने मौका पाइन । उत्तम कुँबरको चर्चित पुस्तक हो स्रष्टा र साहित्य ।
भारतीय कथाका कथाहरूका सम्पादक दयाराम संभव श्रेष्ठले मेघालयबाट चारजना कथाकारलाई समावेश गरेका रहेछन् । ती कथाकार हुन् अर्जुन निरौला, दिल साहनी, पोखरेल पीताम्बर र माया ठकुरी । ती कथा यी थिए– अर्जुन निरौलाको– ए्उटा रात बितेपछि, दिल साहनीको– पसिनाको गन्ध, पोखरेल पिताम्बरको– हड्डी केवल हड्डी र माया ठकुरीको–पिरामिड । मैले यस लेखमा विशेष चर्चा गर्न खोजेको माया ठकुरीको हो । चर्चित कथाकार माया ठकुरी ।
माया ठकुरीको जन्म लखनउमा २ जुलाई १९४६ मा भएको हो । त्यतिबेला उनका बुबा आमा जागिरको सिलासिलामा लखनउमा थिए । उनी आमा बुबासित जागिरकै दौरानमा शिलाङ पुगेकी हुन् । शिलाङ पुराइएकी हुन् । उनको साहित्यिक जीवन शिलाङबाट नै शुरु भयो । शिलाङ नै उनको साहित्यिक जीवनको फूलबारी बन्यो । पछि उनी नेपाल प्रवेश गरिन् । बुटबल, पाल्पा, पोखराहुँदै अन्ततः उनी काठमाण्डौमा ठहरिन पुगिन् । काठमाण्डौकी निवासी भइन् । काठमाण्डौकी बासिन्दा भइन् । शिलाङबाट साहित्यिक जीवन शुरु गरेकी माया ठकुरी काठमाण्डौ पुग्दा नपुग्दै पारिजात, बानिरा गिरी र प्रेमा शाहपछिकी चर्चित तथा स्थापित महिला हस्ताक्षर भएकी छन् । उनी पारिजातजस्तै प्रतिबद्ध माक्र्सवादी लेखिका त अवश्य होइनन्, तर, झुकाव भने त्यतातिर भएको पाइन्छ, देखिन्छ । उसरी उनी तल्लो वर्गकै उपेक्षित पात्र पात्राका पीडालाई आफ्नो कथाको विषयबस्तु बनाउने गरेकी छन् । यसकारण पनि उनी लोकप्रिय कथाकार बनेकी हुन् ।
जहाँसम्म मलाई संंझना छ मैले माया ठकुरीको नाम म लोकरा नयाँ राबरघारी, दरंग जिल्ला (हाल शोणितपुर) असम रहँदाबस्दाको बेलादेखि सुन्न जान्न थालेको हुँ । खासगरी मैले उनको नाम सर्वप्रथम भवानी भिक्षुको विशेष पहल र उपस्थितिमा स्थापित नेपाली साहित्यकार सम्पर्क समिति, शिलाङबाट प्रकाशित तथा प्रा. गोपीनारायण प्रधानद्वारा सम्पादित आशा पत्रिकामा छापिएको कविता बौलाहीबाट सुनेको तथा जानेको हुँ । यो पत्रिका १९६४ मा प्रकाशित भएको थियो । पछि म शिलाङ पुगेपछि माया ठकुरीसित राम्ररी परिचय भयो । भेटघाट चिनाजानी भयो ।
त्यतिबेला शिलाङमा एक दर्जनजति कथाकारहरूले कथाविधामा कलम चलाउँदथे । माया ठकुरी तिनै शिलाङका एक दर्जन कथाकारमध्ये एक थिइन् । एक हुन् । त्यतिबेला शिलाङ्मा कथा लेखनमा निकै सक्रिय रहेका व्यक्तिहरू थिए सन्तुलाल शंकर, कमल क्षेत्री बगाले, अर्जुन निरौला, बिक्रमबीर थापा, दुर्गाप्रसाद अधिकारी, माया ठकुरी, पोखरेल पीताम्बर, जंगबहादुर थापा, कमल राई, सरश्वती राई, रामकुमारी लामा, तुलसी क्षेत्री, बिक्रम थापा आदि । यी कथाकारहरूमा निरन्तर कथाविधामा कलम चलाउने व्यक्ति हुन् अर्जुन निरौला, बिक्रमबीर थापा, दुर्गाप्रसाद अधिकारी र माया ठकुरी ।
मैले असममा छँदादेखि नै कथा विधामा कलम चलाउन थालेको थिएँ । शिलाङमा बस्न थालेपछि कथा लेखनका साथसाथै विभिन्न समाचारपत्र र साहित्यिक पत्रिकाको सम्पादनमा आवद्ध भएको थिएँ । फेरि म नेपाली साहित्य परिषद्को मुल सचिवको रुपमा पनि क्रियाशील थिएँ । शिलाङका साहित्यकारहरूसित घनिष्ठ सम्बन्ध राख्ने सन्दर्भमा मेरो माया ठकुरीसित पनि बराबर भेटघाट भइरहन्थ्यो । साहित्य, विशेष गरी कथा विधाका बारेमा चर्चा परिचर्चा भइरहन्थ्यो । उनले कथा लेखनमा विशेष रुचि राख्नेहुनाल पनि म बराबर उनीबाट कथाको माग गरिरहन्थेँ । कथा लेख्न आग्रह गरिरहन्थेँ । माया ठकुरीले लेखेका कथा शिलाङबाट प्रकाशित हुने र स्वयं म सम्पादक रहेको पत्रिका मादल र कथामञ्चमा प्रकाशित भएका छन् । उनका कथा कृष्णप्रसाद ज्ञवालीको सम्पादनमा प्रकाशित हुने सुमन पत्रिकामा पनि छापिएका छन् । कुरा के भने माया ठकुरी शिलाङमा छँदादेखि नै एकजना सफल महिला कथाकारको रुपमा स्थापित भइसकेकी थिइन् । नेपालमा आएपछि उनले अझ बढी स्पेश पाउन सकिन् । अझ बढी चर्चा पाउन सकिन् । अझ बढी मान्यता पाउन थालिन् ।
मलाई संझना छ मैले पञ्चायतकालमा लोकभाषाको शैलीमा एउटा कथा मिमासा लेखेको थिएँ । प्रकाशित गरेको थिएँ । त्यो कथा सरल थियो । बाल कथाजस्तो थियो । त्यतिबेला माया ठकुरी पोखराको गण्डकी बोर्डिङमा शिक्षिका थिइन् । उनले मेरो त्यो कथा पढेकी रहिछन् । मलाई भनेकी थिइन्ः मलाई तपार्इंको त्यो कथा निकै मन पर्यो । बालबालिकाले पनि सजिलै बुझ्न सक्ने । मैले स्कूलको सूचना पाटीमा राखिदिएकी छु त्यो कथा । मेरी छोरीले निकै राम्रो मानेकी छन् तपार्इंको कथा ।
कथाका अतिरिक्त माया ठकुरी गीत लेख्छिन् र गीत गाउँछिन् पनि । तर, गीत संगीत उनको कलाको मूल विषय भने होइन । उनी सही अर्थमा कथाकार नै हुन् । कथाकारितामा चर्चित भएकी माया ठकुरी विभिन्न साहित्यिक प्रतिष्ठानबाट सम्मानित भएकी छन् । पुरस्कृत भएकी छन् । उनले अहिलेसम्म आधा दर्जन जति कथा संग्रह प्रकाशित गरेकी छन् । उनका प्रकाशित कथा कृतिहरू यसप्रकारका छन्– नजुरेको जोरी (२०३७), गमलाको फूल (२०३३), साँघु तरेपछि (२०३९), चौतारी साछी छ (२०४६) र माया ठकुरीका कथाहरू (२०४८) । माया ठकुरीका एउटा गीत संग्रह– इन्द्रधनुष (२०६१) मा पनि प्रकाशित भएको देखिन्छ ।
माया ठकुरी अहिलेसम्म यी पुरस्कारबाट सम्मानित भएकी देखिन्छिन्– रत्न श्री सुवर्ण पुरस्कार (२०३५), नेपाली कथा पुरस्कार (२०४१), शिक्षा पुरस्कार (२०४४), मैना पुरस्कार (२०६१) तथा खिल शर्मा– राजीव लोचन जोशी स्मारक पुरस्कार (२०६३) ।
हाल माया ठकुरी नेपाल प्रज्ञा प्रतिष्ठानमा संलग्न रहेर साहित्य सृजनमा क्रियाशील रहेकी छन् ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी