© २०२३
केही सपनाहरू किन बारम्बार दोहोरिइरन्छन् ? एउटै सपना हरेकरातजस्तो देखिनुको अर्थ के हो ? उही परिवेश, उनै पात्रहरू, उही समयसूचक संकेतको सेरोफेरोमा पुग्नुको अर्थ के हो ? मनोवैज्ञानिकहरू भन्दछन्, सपना विचार, भावना, संवेग र संवेदनाको प्रतिबिम्ब हो, जो निदको अवचेतन अवस्थामा पुनराबृत हुने गर्दछ । म यहाँ कुनै दार्शनिकको सपनासम्बन्धी उद्दरणलाई खडा गरेर अनावश्यक विद्धता प्रदर्शन गर्न चाहन्न । यसउसले सपनाको परिवेश, स्थिति र कारणबारे ब्याख्या गर्ने सिग्मन फ्रायडको चर्चा पनि गरिन ।
सपनामा जीवनभोगाइका यावत कुराहरू पुनराबृत्त हुने गर्दछन् । तर मैले देख्ने गरेका सपनाहरू जहिल्यै केटाकेटी समयकामात्र किन हुने गर्दछन् ? यहि विषयले मलाई अचम्मित पार्ने गर्दछ । आजको उमेरको सपना मैले किन देख्दिन ? बाल्यकाल भाडगाउँका पाखापखेरा, तम्घासको सेरोफेरोमा बित्यो, जवानीको खुड्किलो पोखराको लामाचौर, बाटुलेचौर, महेन्द्रपुल, चिप्लेढुङ्गा, बगर, रामनगर, भरतपोखरी, अर्चले, बेगनासतालको सेरोफेरामा बित्यो । मध्यजवानी वा लाउँलाउँ खाउँखाउँको कक्कलाउँदो बैँस आसामका जंगलहरूमा पसिना बगाउँदैमा बित्यो । नङ्पो, सिलाङ्ग, गुवाहाटीका अत्यासलाग्दा दिनहरू वेरोजगारी, बेकामी र भुलभुलैयामा बिते । आज एककिसिमले स्थायित्व पाएको छ जिन्दगीले । बस्ने बास छ । रोजिरोटी मैले मात्र कमाएको छैन, मेरो रोजिरोटीसंग केही परिवार पनि जोडिएका छन्, उनीहरूको हातमुख पनि जोरिएको छ ।
यति हुँदाहुँदै पनि सपनामा मैले पोखरा किन देख्दिन ? विजयपुर, भरतपोखरी, दुलेगौडा आदि ठाउँमा झोले कमरेड हुँदा बासबसेका कमरेड, आफ्नै छोरालाई जस्तै माया गरेर आटोढिँडो खुवाउने महेन्द्र कतिला, बहिनीहरू अम्बिका, बनिताका बाउआमालाई किन देख्दिन ? लामोसमय दाजु शिवजी कोइरालाको गोलघरमा बास बसियो । सो घरको मझेरीमा सुतेको न्यानो ओछ्यान सपनामा किन आउँदैन ?
झोले बनेर जनताहरूको घरमा बास बस्दा सेल्टरदाता जनताहरूले कार्यकर्ताहरूको सही नाम र जातथर सोध्ने चलन थिएन । सोही कारणले पनि कमरेडहरूको चुलोचौकोमै पलेटी कसेर भातभान्सा गर्न धक मानिँदैन थियो । तरपनि, भित्री मनमा जहिल्यै त्रासले डेरा जमाएको हुन्थ्यो, कथंकदाचित घरबेटी बाआमाले “कलिलै उमेराँ बनबास दागिचौ, कस्मा हौ नि बाबु ?” भनेर सोधेको भए अधिकारी भनिदो हो । अधिकारीमा पनि उपाध्याय र जैसीको प्रश्न आयो भने के भन्दो हुँ ? खासभन्ने हो भने मलाई बाहुनहरूमा उपाध्याय र जैसी हुन्छन् भन्ने कुरो थाहै थिएन । बाहुन त बाहुन सबै बाहुन । मेरो कोरो जानकारी थियो त्यस सम्बन्धमा । कथंकदाचित तेस्रो नेत्र खुल्यो र जैसी हुँ भन्ने जवाफ दिँदो दिएको भए र घरबेटीबा अझै जिज्ञासु रहेछन् भने गोत्र, कैरनसम्म पुग्दाहुन् । सो बेला मैले के जवाफ दिँदो हुँ ? आजकाल पो झसंग हुन्छु म ।
हो, यहि परिघटना भिन्न परिवेश, भिन्न स्वरुपमा हरेक हप्ताजस्तो देखिने सपनामा दोहोरिने गर्दछ ।
आजकाल देखिने सपनाको परिवेश भिन्न हुन्छ । स्थान बेगनास तालको सेरोफेरो नभएर अन्यत्र कतै हुन्छ । विशाल पहाडको पाखोमा बनेका कलात्मक घरहरू हुन्छन् । यी सपनीका विशाल पहाडलाई छेँडेर बनाइएका घरहरू देखिनुको कारणचाहिँ सहरको लामो बसाइको कारणले होला । अथवा टेलिभिजनमा देखिने विश्वका अनौठा घरहरूको प्रभावले होला । आजपनि सपनामा म आफूलाई भूमिगत कार्यकर्ताकोरुपमै पाउने गर्दछु । सेल्टरदाताहरू भने अधिकारी, सुबेदी नभएर ज्ञवाली, खनाल, आचार्यहरूहरू हुन्छन् । मैले चिनेका, मेरो जात थाहा पाएर पनि घरपरिवारमा मलाई घुलमिल गराउँदै आएका यसै भेगका ब्रह्माण जातिका साथीहरूलाई सेल्टर दाताकोरुपमा पाउँछु । यति मिठो सपनाको सफर चलिरहेको अवस्थामा कहिलेकाहीँ भने दैनदिन्य ब्यवहारमा मसंग कट्टर जातीय विभेद गरिरहेका केही अहंकारीहरू मैले आश्रय लिएको घरमा टुपुक्क पुगेको देख्छु र भागाभाग हुन्छु । हैन म यो जातको खेदाइमा सपनामा पनि किन हुन्छु हँ ? सायद यो अर्को मनोवैज्ञानिक प्रश्न होला । यो विषय सिग्मन फ्रायड लगायत कुनैपनि मनोवेत्ताहरूको समझ्भन्दा बाहिरको कुरो हो । किनकि उनीहरूले हिन्दु जातीय विभेदको सामना गर्नै परेन र जातको मनोविज्ञानको बारेमा लेख्न पनि परेन ।
अर्को सपना छ, जसलाई मैले हररातजसो देख्ने गर्दछु । त्यो सपना हो, जहिल्यैपनि एसएससीको परीक्षा दिएको देख्नु ।
किन देख्छु म जहिल्यै एसएलसीको परीक्षा दिएको सपना ? यसको भने खास कारण छ ।
जीवनमा अद्भुत अफ्ठ्याराहरू पार गरियो । आसाम बसाई आफैमा प्रलयकारी दुःखको पहाड थियो । आसामले एकमुठी पाको गास सजिलोसंग जोरजाम गर्ने बाटो त खुलाइदियो । तर त्यो बाटो हजार माइलको यात्राजस्तै थियो, काँडैकाँडाले पाटिएको । के गरिएन मेघालय हुँदै आसाम पुग्दासम्म र त्यहाँ पुगेपछि ? बाटोको किनारमा बाँसका कप्टेराबाट बनेको स्वप्नमहलमा जुटले बनेको मखमली बिस्तरामा रात गुजारियो । जुगौं पहिले छोडेको आरने काममा बासंग बसेर घन ठोकियो । आसामका जंगलहरूमा कुटोकोदालो र बेल्चागैती बोकेर देहाडी गरियो । टोकरीमा तरकारी बोकेर हाटबजारमा ग्राहक ढुकेर टुक्रुक्क बसियो । यी सबै कहानीहरू कतिपय लेखिसकियो, अझै थुप्रै लेख्नै बाँकी छ । महामारीले आफैसंग लपेटेनभने अर्कोवर्ष म पूर्णफूर्सदमा हुनेछु । ती नलेखिएर थातलागेका दुःखका पहाडउपर फेरि गैतीबेल्चा चलाउने अठोट लिएको छु । यी सबकुरा आजको विषयवस्तु भने होइन्, कुरो यहाँ मैले बारंबार देख्ने सपनाको फेहरिस्त हो ।
आजकाल देख्ने सपनाहरूमा यी कहालीलाग्दा भीरहरूको प्रतिछाँया किन देख्दिन ? म आफै अड्कल काट्छु, सायद यी परिवेश, परिघटनाहरू मेरा खास घटनाहरू भन्दा एकदमै निम्छरा हुन् । जसको कारणले कहिल्यै पनि सपनामा आउने बाटो पाउँदैनन् । मैले अधिकांश देख्ने सपनाको सेरोफेरो त हुने गर्दछ, तम्घासको महेन्द्र हाइस्कूल, संगै वा अघिपछि पढ्ने साथीहरू र तम्घासबाट दिन नपाएको प्रवेशिकाको परीक्षाहल ।
मेरो स्कूल पढाइ पोखराबाट सकिएको हो । सेन्टप परीक्षापछि बगरलेखि केही पर बाटुलेचौरको मुखैमा काजी थकालीको घरमा बसेर प्रवेशिकाको परीक्षा दिइएको हो । प्रवेशिका परीक्षा तीन वर्षको अथक मेहनतको प्रतिफल थियो । परीक्षा दिँदा हामी विद्यार्थीहरू दुइखेमामा विभाजित भएका थियौं । कम्युनिष्ट वा अखिल समर्थकको लागि बगरको अमरसिंह माविमा परीक्षाकेन्द्र तोकिएको थियो भने कांग्रेस वा नेवि संघ समर्थक साथीहरूकोलागि द्वीप स्थित कन्या माविमा तोकिएको थियो । यस हिसाबले कुरा स्पष्ट छ, मैले आठ कक्षा पछिको पढाइ पोखरामा गरे । उहीँबाट एसएलसी दिएँ । तम्घासको महेन्द्र हाइस्कूमा मेरो एसएलसीसंग कुनै गोरु बेचेको साइनो छैन । तर, पनि आज हरेकजस्तो रात सपनामा उही आठकक्षासम्म पढेको तम्घासको महेन्द्र हाइस्कूल आउँछ र हरेकपटक जसो नै अन्तिम परीक्षामा बसिरहेको हुन्छु ।
कुनै पनि विषयबस्तुले जब मनमा गहिरो आधात पार्दो रहेछ, त्यो विषयबसतु जीवनको अङ्ग बन्दो रहेछ । हो, यहि एसएलसी परीक्षा, त्यसको रिजल्टले मेरो मनमा गहिरो आधात पारेको छ । सायद त्यहि भएर पनि होला, यो हरेकजसो सपनामा जहिल्यै परीक्षा दिएको देख्नु । र त्यो आधात थियो, मेरा समकक्षी वा हाराहारीका साथीहरूको प्रथम डिभिज आउनु र पुगनपुग दशमलवको अपुगको कारणले म दोस्रो डिभिजनमा पास हुनु ।
मेरो जीवनको सबभन्दा पीडादायी क्षण थियो, जव परीक्षाको रिजल्टको खबर कानमा परेको थियो । मेरो नतिजा देखेर केही सरहरूले विश्वास नै गर्नुभएको थिएन । किर्तिराज, बामदेव र टंकसरहरू आश्चर्यमा पर्नु भएको थियो । यहि परिघटना विषाद, बेदना र छटपटीको प्रतिबिम्ब बनेर जहिल्यै मेरो सपनामा आउँछ र हरेकजसो सपनामा उही प्रवेसी परीक्षाको पश्नपत्र समाएर परीक्षाहलमा बसेर उत्तर लेखिरहेको देख्छु ।
हो, यहिनिर आउँदा मनोवैज्ञानिकहरूले सपनालाई अवचेतन मनको अदृष्य कल्पना भनेर जो ब्याख्या गरे, त्यो सटिक ब्याख्या गरेजस्तो लाग्दछ । जो मेरो जीवनप्रयन्तको पीडासंग एकाकार भएको छ ।
स्कूल पढ्दा उत्कृष्ठ त होइन म । तर अब्बलको सेरोफेरोको भने पक्कै हुँ । तम्घास पढ्दा सितिमित क्लासफिस तिर्नु परेन । कयौंपटक त पुरस्कारबाटै पाएको कापीकलमले कक्षाहरू तामेल हुने गर्दथे । राम्रै अंकसहित सेन्टअप पास गरेको संझना आजपनि आइरहन्छ । तर, प्रवेशिका किन बिग्रियो मेरो ? के कारणले मेरो हाराहारीका सबै साथीहरूको प्रथम डिभिजन आयो र मेरोमात्र दशमलवको हिसावले सेकेण्ड डिभिजन आयो ? यही प्रताडना, आवेश र संवेगले सायद आजसम्म पनि मलाई च्याप्न छोडेको छैन र दुःखका अनकण्टार पहाडहरूका लामालामा कहानीहरू हुँदाहुँदै पनि प्रत्येकजसो रात उही प्रवेशिकाको परीक्षा दिइरहेको हुन्छु । र ध्येय हुन्छ मात्र प्रथम डिभिजन ल्याउने ।
यसरी दुइटा कुराहरूले मलाई सपनामा पनि खेदाउन छोडेका छैनन् । प्रथम सेल्टरमा बस्दाको जातीय विभेदको काल्पनिक भय र दोस्रो म प्रथमडिभिजनमा पास हुन नसक्नुको पीडा । यी दुईमध्ये एउटा अतित हो, म अब कहिल्यै प्रवेशिकाको परीक्षामा बस्न सक्नेछैन । तर पछिल्लो तुवालोचाँहि समाजबाट बिस्तारै बिलाउँदै जाँदैछ । जातको विरुद्धको रक्तबिज पनि मौलाउँदै । र मेरो आउँदो पुस्ताले यो जातको भयंकर सपना देख्नु नपर्ला । तर म कहिल्यै प्रवेशिका दिन सक्ने छैन । मेरो प्रथम डिभिजन पनि आउने छैन । मात्र जीवनपर्यन्त परीक्षा दिएको भने देखिरहने छु ।