© २०२३
कोभिड १९ को संक्रमण कम भएका ठाउँमा विद्यालय सञ्चालन गर्ने गरी तुलसीपुर उपमहानगरपालिकाले तयारी गरेको छ । विद्यार्थी सिकाई सहजिकरण कार्ययोजना वनाएर उपमहानगरपालिकाले क्षेत्र छुट्याएर विद्यालय सञ्चालनको तयारी गरेको हो ।
तुलसीपुर उपमहानगरपालिकाका शिक्षा समितिका संयोजक देवराज विश्वकर्माका अनुसार लामो समय विद्यालय सञ्चालन नगर्दा बालबालिकामा नकारात्मक प्रभाव परेको भन्दै जोखिम नक्सांकन गरेर विद्यालय सञ्चालन गर्ने तयारी गरेको छ । कार्ययोजनामा कक्षाकोठा या सिकाइ केन्द्रमा आकार अनुसार बढीमा १५ देखि २० जना सम्म विद्यार्थी राखेर अध्यापन गराउने उल्लेख गरिएको छ । विद्यार्थी सिकाई सहजिकरणका लागि संक्रमणको अवस्था हेरेर विद्यालयको वर्गिकरण समेत गरिएको छ । तुलसीपुर भित्रमा वडा नम्वर ५,६,७,९, १२ र वडा नम्वर ४ को मावि रक्षाचौरलाई उच्च जोखिम भएको क्षेत्रका रुपमा राखिएको छ भने मध्यम जोखिम क्षेत्रका रुपमा वडा नम्बर ४, ८, १०, ११, १७, १८, १९ का सबै क्षेत्र र वडा नम्वर २ को मावि बालापुर र वडा नम्बर १ को मावि भ्युडहर सुनपुर रहेका छन् । त्यसैगरी न्युन जोखिम रहेका क्षेत्रहरुमा वडा नम्वर १, २, ३, १३, १४, १५, १६ का सबै क्षेत्र र वडा नम्वर ९ को मावि सल्लीवन, वडा नम्वर १९ को मावि कुटिचौर रहेका छन् ।
सिकाइ सहजिकरणका लागि सबै क्षेत्रमा स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर ५० जना भन्दा कम विद्यार्थीलाई प्रत्यक्ष कक्षा सञ्चालन, ५० भन्दा बढी र १ सय भन्दा कम विद्यार्थी संख्या भएका विद्यालयमा दुइ सिफ्टमा कक्षा सञ्चालन गर्ने, १ सय भन्दा वढी र २ सय भन्दा कम विद्यार्थी संख्या भएकोमा सिकाई केन्द मार्फत सञ्चालन गर्ने र सो भन्दा वढी विद्यार्थी संख्या भएकोमा विभिन्न चरणमा या सम्पर्क कक्षा सञ्चालन गर्ने निर्देशिकामा व्यवस्था गरिएको छ । कक्षा सञ्चालन गर्न पहिलो साता १० देखि १५ मिनेटसम्म प्रधानाध्यापकले परामर्श कक्षा लिने र वढिमा ३ देखि ४ घण्टासम्म मात्रै अध्यापन गराउने निर्देशिकाले तोकेको समितिका संयोजक विकले जानकारी दिए । विद्यार्थी सूचना प्रविधिको पहुँचमा भएको अवस्थामा अनलाईनको माध्यमबाट कक्षा सञ्चालन गर्न सकिने कार्ययोजनामा व्यवस्था गरिएको छ ।
यसैगरी शिक्षा प्रमुख एवम् निमित्त प्रमुख प्रशासकीय अधिकृत भाष्करराज गौतमका अनुसार विद्यालयहरुलाई सामाजिक दुरी कायम गरेर भर्ना कार्यक्रम अगाडी वढाउन समेत अनुमति दिइएको छ । “विद्यालयहरुले अनलाईन या सामाजिक दुरी कायम गरेर प्रत्यक्ष रुपमा भर्ना कार्यक्रम अगाडी वढाउन सक्नेछन्” गौतमले भने । विद्यालय वा सिकाई केन्द्रमा शिक्षक, कर्मचारी र विद्यार्थीले अनिवार्यरुपमा नाक र मुख ढाकिने गरी मास्क प्रयोग गर्ने र सामाजिक दुरी कायम गरेको हुनुपर्ने पनि उल्लेख गरिएको छ । विद्यार्थीले अनिवार्य रुपमा कक्षाबाट भित्रबाहिर गर्दा पासको प्रयोग गर्नुपर्ने र बाहिरबाट आउँदा स्यानिटाइजर प्रयोग गर्ने या साबुन पानीले हात धुने गर्नु पर्नेछ । विद्यार्थीहरुले खानेपानीका लागि आफैले नै बोतलको व्यवस्था समेत गरेको हुुनपर्ने व्यवस्था गरिएको छ ।
यसैविच शिक्षा महाशाखाले विद्यालय सञ्चालनका सन्दर्भमा सामुदायिक र संस्थागत विद्यालयका प्रमुखहरुसँग छलफल समेत गरेको छ । अनलाईन मार्फत भर्चुअल रुपमा गरिएको छलफल कार्यक्रममा संक्रमणको जोखिममा स्वास्थ्य मापदण्ड अपनाएर कक्षा सञ्चालन गर्न सबैले अनुरोध गरेको उपमहानगरपालिकाको शिक्षा शाखाले जनाएको छ । शाखा अधिकृत चक्र भण्डारीका अनुसार निर्देशिकामा आधारित रहेर कक्षा सञ्चालन गर्नका लागी शाखाले अनुमति दिएको छ ।