© २०२३
गत शैक्षिक शत्रमा गरिएको शुल्कलाई आधार मानेर बुटवल उपमहानगरको नगर शिक्षा समितीले शुल्क निर्धारण गरेको छ । बुटवल उपमहानगरले भने दुइ किसिमले शुल्क निर्धारण गरेको छ ।
उपमहानगरपालिकाको शिक्षा महाशाखाका अनुसार नीजि विद्यालयहरुलाई असार, साउन र भदौ महिनाको शिक्षण शुल्कको ६० प्रतिशत र आश्विन देखि ७५ प्रतिशत शुल्क उठाउन दिने निर्णय गरिएको छ ।
विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका २०७७ को दफा ३० मा भएको व्यवस्था अनुसार नगर शिक्षा समितिको बैठकले विद्यार्थीबाट उठाइने शुल्कको निर्धारण गरेको उपमहानगरपालिकाले जनाएको छ ।
बुटवल उपमहानगरका शिक्षा महाशाखा प्रमुख मित्रमणी खनालले शिक्षक र कर्मचारीले खाइपाइ आएको तलब सुविधा नघट्ने शर्तमा ७५ प्रतिशतसम्म शुल्न लिन पाउने निर्णय गरेको बताए । उनका अनुसार असार, साउन र भदौ महिनामा सिकाइ सहजीकरणमा भाग नलिएका विद्यार्थी शुल्क तिर्नुपर्ने छैन् भने विद्यालयले पनि ६० प्रतिशत शुल्क लिन पाउने छैनन् ।
तर आश्विन महिनादेखि भने सबै बालबालिकालाई विद्यालयले सहजीकरणको योजना बनाई पठन पाठनको क्रियाकलाप अघि बढाउनुपर्ने बताए ।
उनका अनुसार बैकल्पिक सिकाइ क्रियाकलापमा सहभागी हुने विद्यार्थीबाट मात्रै विद्यालयले शुल्क लिन पाउनेछन् । जुनसुकै माध्यमले सिकाएपनि विद्यार्थीसँग शिक्षक नजोडिए शुल्क लिन नपाइने खनालले बताए ।
मासिक शिक्षण शुल्क बाहेकका अतिरिक्त क्रियाकलाप शुल्क, यातायात शुल्क, विज्ञान शुल्क, कम्प्युटर शुल्क, पुस्तकालय शुल्क लगायतका शुल्कहरु सहज रुपमा विद्यालयमा विद्यार्थीहरु भौतिक रुपमा उपस्थित नभएसम्म लिन नपाइने खनाले बताए । तोकिएको भन्दा बढी शुल्क लिए र तोकिएको भन्दा अरु शिर्षकमा शुल्क उठाए उपमहानगरले कार्वाही गर्ने जनाएको छ ।