© २०२३
हिन्दु संस्कृति र संस्कारको गहिराइ अथाह छ । हरेक भूगोलमा अनेकौँ संस्कृति भेट्न पाइन्छ । हरेक जातजातिमा अलग प्रकारका संस्कृति छन् । मेला पर्वहरु छन् । जनै पूर्णिमा पनि एउटा संस्कृति र संस्कार हो । यो तागाधारीको पर्व हो । जनै लगाउनुलाई तागाधारी, खासगरी ब्राह्मण समुदायमा व्दिज अर्थात दोस्रो जीवनको प्रारम्भ भएको मानिन्छ । बाल्य अवस्थाबाट माथि उठेर ज्ञान सिक्नका खातिर घरबाट गुरुकूलमा जानको लागि गरिने कर्म हो ब्रतबन्ध । ब्रतबन्ध हुनु भनेको जनै लगाउनु हो । जनै लगाउने विधिविधान हुन्छ । जनै बनाउने वा लगाउने पनि विधिबिधान हुन्छ यसलाई चूडाकर्म भनिन्छ । गुरुकूलमा जनैले कुन समुहको बच्चा हो भन्ने कुरा गुरु तथा सहकर्मीलाई थाहा हुन्थ्यो र त्यसैअनुरुपको ज्ञान दिने वा ब्यबहार गर्ने गरिन्थ्यो । ब्रतबन्ध नगरेको ब्राह्मण पुत्र चोखो हुँदैन, संस्कारित हुँदैन भन्ने मान्यता थियो र छ । जनै शुद्ध कपासलाई कातेर बनाइने धागोलाई शुद्धताकासाथ बीचमा शिखा पारेर बनाइन्छ । यसलाई ६ सराको बनाइने प्रचलन रहेको छ । कसैले तीन सरामा पनि बनाउँछन् । जनै शुद्धता र सभ्यताको प्रतीक हो । जनै लगाएपछि अशुद्ध घोषित भोजन गर्न, त्यसप्रकारका कर्म गर्न निषेध हुन्छ । त्यसकारणले पनि यसलाई व्दिज जन्म भनिएको हो । जनै पूर्णीमाको दिनमा विहानै विभिन्न प्राकृतिक बस्तुहरुको प्रयोग गर्दै नदीमा स्नान गरेपछि महारुद्री गरी जनै पुजिन्छ । पुजेको जनै आफ्ना मान्यजन, गुरु, पुरोहितको हातबाट नयाँ यज्ञोपवित धारण गरेपछिमात्र त्यो ब्यक्ति शुद्ध ठानिन्छ । आजकै दिन नाडीमा रक्षाबन्धन बाँध्ने, चेलीहरुले आफ्ना दाजुभाइलाई राखी बाँध्ने गरिन्छ । यसको प्रयोगले आफन्तमाथि रक्षा गर्नु भन्ने अर्थ दिन्छ । आजकै दिनमा टुँसा उम्रिएका एक दर्जन दलहनका गेडागुडी पकाएर क्वाँटी खाने चलन पनि छ ।
संस्कृति भनेको पूर्ण गराइएको, तलासिएको, परिष्कार गरिएको वा सफा गरिएको भन्ने शब्दार्थ देखिन्छ । संस्कृति र सभ्यताको पहिचान गराउने मानबीय गतिविधि हो । संस्कृति सारै सुरम्य हुन्छ । किनभने यसमा धेरै चिजहरु अटाउँछ । हामीले घर बनाउँदा होस् वा घर प्रबेश गर्दा होस्, युवा युवतीबीच बैवाहिक कार्यक्रम गर्दा होस् वा मृत्युपश्चातका कर्मकाण्ड गर्दा होस्, त्यो सबै कुरा पहिलादेखि साथमा ल्याइएको संस्कृतिले निरुपण गरेको हुन्छ । आजभोलि नाचगानलाईमात्र संस्कृति ठान्ने गरिएको छ । त्यो एउटा इकाई मात्र हो । कसलाई कस्तो ब्यवहार गर्ने, कसलाई ढोग्ने, कससँग ढोग खाने, कसलाई नमस्ते गर्ने, कसलाई सम्मान गर्नुपर्ने कसलाई कस्तो दीक्षा दिने, कोसँग कति हाँस्ने, कति रिसाउने, कुन चिज लुकाउनु पर्ने, कुन चिज देखाउनु पर्नेजस्ता सम्पूर्ण मानबीय गतिविधिको निरुपण संस्कृतिले गरेको हुन्छ । कुन मानिस कुन संस्कृति र सभ्यताबाट हुर्केर आएको हो भन्ने कुरा उसका गतिविधिबाट थहा हुन्छ । तिनै गतिविधिको समुच्य नै संस्कृति हो । अंग्रेजीमा यसलाई कल्चर भनिन्छ । युगौँदेखि मानिसले आफ्नो संस्कृतिलाई साथै ल्याएको छ । ब्राह्मणले जनै लगाउनु उसको संस्कृति हो । विभिन्न नाचगान गर्नु, पाठ पूजा गर्नु, आस्था राख्नु, भेषभुषा अपनाउनु सबै संस्कतिका अंगहरु हुन् । संकृतिविनाको मानव समुह हुनै सक्तैन ।
ऐतिहासिक तथा प्राग ऐतिहासिक कालमा मानव र दानव, शुर र अशुरबीच खाद्य बस्तुकालागि निकै संघर्ष चल्ने गथ्र्यो । शुर भनेका गरी खाने र अशुर भनेका लुटी खाने वर्ग हुन् । दानव भनेका जंगलमा बस्ने, उत्पादन नगर्ने, कन्दमुल खाने, यदाकदा मानव बस्तीमा जाने र अनाज, पशुहरु लूटपाट गर्ने, प्रतिरोधीलाई अपहरण गर्ने एकखालको डकैत वर्ग हो भने मानव भनेको खेतीपाती, पशुपालन गर्ने सामाजिक रहनसहन गर्ने वर्ग हो । अशुर, राक्षस, दानव भन्ने कुनै नयाँ जन्तु होइनन् । मानिस नै हुन् । गरि खाने वर्गले लुटी खाने वर्गलाई दिएको नाममात्र हो । यहि संघर्षको दौरानमा जनै पूर्णिमाको जन्म भएको हो । शुरहरुले आफ्ना सन्तानहरु अशुर नबनुन्, शिक्षा, सभ्यता सिकुन्, नयाँनयाँ संस्कार, अनुशासनमा प्रबेश गरुन् भनेर उनीहरुको टाउकोमा जिम्मेवारी बोकाइदिएको कवच हो जनै । जनै लगाइदिँदा उसलाई दीक्षामन्त्र पनि दिइन्छ जसलाई गायत्री मन्त्र भन्ने गरिन्छ । गायत्री मन्त्रलाई बेदको सार मानिएको छ ।