© २०२३
आज आदि कबि भानुभक्त आचार्य जन्मेको दिन ।
नेपाली साहित्याकाशमा भानुको नाम अग्र पंक्तिमा लिइन्छ ।
किनभने नेपाली लेख्य साहित्य सिर्जना गर्नमा उनको नाम नै पहिले आउने गर्दछ । कथ्य साहित्यहरु त अगाडि पनि थिए । तर, परिमार्जित थिएनन् । भानुले साहित्यलाई परिमार्जित गरेका थिए । आज भन्दा २ सय ४ बर्ष अगाडि तनहुँ जिल्लाको चुँदी रम्घा गाउँमा धनन्जय आचार्यको सन्तानको रुपमा बालक भानुभक्त आचार्यको जन्म भएको थियो । बाजे श्रीकृष्ण आचार्यको रेखदेख र शिक्षारम्भबाट हुर्किएका भानुभक्त साहित्य सिल्पमा बेजोड नै मानिन्छन् । उनका साहित्य रचनाले आदि कवि बन्न सफल भएका छन् । उनको जन्मदिन असार २९ गते (आज) परेको छ । उनलाई हरेक नेपालीले सम्झने गरेका छन् । उनका कविता, अनुवाद कृतिहरु सदासदाको लागि कालजयी बनेका छन् । उनीभन्दा पहिले नेपालमा खासगरी नेपाली भाषामा कसैले पनि लिपिवद्ध गरेर कविताहरु कोरेको पाइँदैन । उनी नै पहिलो कवि मानिएका छन् । उनले सो बेलामा बधुशिक्षा, भानुभक्त रामायणजस्ता कृतिहरु रचना तथा अनुवाद गरेका थिए । सो बेलामा संस्कृत भाषा नै पढाइको भाषा भएको अवस्थामा नेपाली भाषामा उनले रामायणको अनुवाद गरेपछि रामायण कस्तो कृति हो, कस्तो घटना हो, के लेखिएको थियो भन्ने कुरा सर्वसाधारणले बुझ्न पाएका थिए । पद्यमा उल्था गरिएको उनको रामायण मानिसको लागि सजिलो वाक शिक्षा बनेको थियो ।
भानुभक्तलाई नेपालमा त सम्मान गरिन्छ नै, यहाँभन्दा पनि नेपाली भाषी भारतीय नागरिकहरुले निकै श्रद्धाकासाथ सम्मान गरेको पाइन्छ । उनको सम्झनामा प्रभातफेरि, भानुका कृतिहरुको समीक्षा गर्ने, उनका शालिकहरुमा माल्यार्पण गर्ने तथा उनको सम्मानमा मौन धारण तथा उनका कृतिहरु वाचन गर्ने काम बर्षेनी गरिन्छ । नेपालमा पनि गोष्ठी, प्रवचन, प्रभातफेरि, कृति समीक्षा गर्ने काम भएका छन् । तर, यो बर्ष कोभिड १९ को कारणले उनको सम्मान गर्ने कार्य सार्वजनिक रुपमा कमै होला । यो त महाविपतको समय हो । परन्तु यत्तिलेमात्र उनको सम्मान हुन्छ भन्ने लाग्दैन । उनका कृतिहरुलाई अन्तर्राष्ट्रियकरण गर्ने, उनका पुस्तकहरुको बढीभन्दा बढी प्रकाशन गरेर जनतासमक्ष फिँजाउने गर्नुपर्छ । नेपालको पहिलो कवि भएको अर्थमा उनलाई हरेकले सम्झनै पर्ने योग्य बनाउनु सरकारको दायित्व हो । आधुनिक प्रगतिवादी सौन्दर्यशास्त्रीहरुले भानुभक्तलाई पुरातनवादी कविको रुपमा पनि चित्रण गर्ने गरेका छन् । त्यतिबेला एउटा ब्राह्मण परिवारमा जन्मेको मानिसले त्योभन्दा बढी प्रगतिशील रचना गर्न सायदै सक्थ्योहोला ।
नेपाली साहित्य आकाशमा भानुभक्तलाई चिनाउने मुख्य पात्र हुन् मोतीराम भट्ट । भानुका छरिएका कृतिहरुलाई खोजेर उनले पुस्तकको रुपमा पस्केका थिए । वास्तवमा भानुभक्त आँशु कवि थिए भन्दा फरक पर्दैन । उनी एकपटक बाटो हिँड्ने क्रममा मित गजाधरको घरमा पुगे । जुनबेला गजाधर घरमा थिएनन् । त्यहाँ सेवा सत्कार पाउने त कुरै छोडौँ भोको पेट ढिकाडीमा सुत्नुपर्ने अवस्था आयो । भानुभक्तले त्यहि बसाइलाई कविता बनाएर मितकै छोराको हातमा थमाइदिए । जसले गर्दा गजाधर र उनकी श्रीमतीलाई पछुताउनु पर्यो । भ्रष्टाचारको मुद्दामा उनलाई केही दिन जेल पठाइयो । उनले जेलभित्रको बसाइलाई निकै मार्मिक ढंगबाट कवितामा पस्केका छन् । कर्मचारीहरुको भोलि वादलाई उनले कवितामा निकै तिखो ब्यंग्य गरेका छन् । घाँसीसँगको सम्बादले उनलाई तत्कालै कविता स्फूरण गरिदियो । त्यसकारण पनि उनलाई आँशु कवि भन्दा फरक नपर्ला । विकट पहाडी गाउँमा जन्मेर पनि शिक्षा आर्जन गरेर भानुभक्तले नेपाली साहित्यमा पहिलो र्इंटा राख्न सके उनलाई कसैले पनि विर्सन मिल्दैन । त्योबेला उनले जति साहित्यको रचना गरे त्यो नै त्यतिबेलाको अवस्थामा प्रगतिवादी भावधारा बनेको कुरालाई नकार्न सकिँदैन । आदिकवि भानुप्रति शब्द श्रद्धा ।