© २०२३
तिलोत्तमा नगरपालिकाले वडा नं. ११ र १२ मा पर्ने भूपू सैनिक–कान्छीबजार सडकको दुवैतर्फ वृक्षारोपण गरेको छ । तिलोत्तमा नगरपालिकाका जनप्रतिनिधिले ३ वर्ष कार्यकाल पुरा गरेको अवसरमा वृक्षारोपण गरिएको हो ।
तिलोत्तमाका जनप्रतिनिधिहरुले २०७४ असार २१ गते पदबहाली गरेको दिन हो ।
सोही दिनको अवसर पारेर नगरपालिकाका जनप्रतिनिधिहरुले हरेक वर्ष वृक्षारोपण गर्दै आएका छन् ।
तिलोत्तमा वडा नं. ११ को रोहिणी पुलदेखि वडा नंं १२ को मोहनाजोतसम्मको पक्की सडकको दुबैतर्फ स्टोनिया जातका झण्डै एक हजार बिरुवा रोपिएको हो । युएनडिपी, नमूना एकीकृत विकास परिषद्, र जनउत्थान साकोससँगको सहकार्यमा गरिएको वृक्षरोपण कार्यक्रममा जनप्रतिनिधिका साथै राजनीतिक दल, विभिन्न संघ–संस्था, टोल विकास संस्था, क्लव, आमा समूहका अध्यक्ष तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
वृक्षारोपण सुभारम्भ गर्दै नगरप्रमुख बासुदेव घिमिरेले तिलोत्तमाले नगरलाई हरियालीयुक्त, स्वच्छ र हराभरा बनाउने उद्देश्यले ‘ग्रीन तिलोत्तमा ः क्लिन तिलोत्तमा’ नारा अंगिकार गरेर बृक्षारोपण र हरियाली प्रवद्र्धनलाई प्राथमिकता दिएको बताए ।
नगर उपप्रमुख जगेश्वरीदेवी चौधरीले वातावरण संरक्षणका लागि नगरपालिकाले वृक्षारोपणलाई हरेक वर्ष प्राथमिकतामा राखेको उल्लेख गर्दै नगरबासीलाई ५० प्रतिशत अनुदानमा फलफूलका बिरुवा पनि वितरण गर्ने गरेको जानकारी दिइन ।
यूएनडीपीका प्रतिनिधि सुदिप अर्यालले तिलोत्तमाले वातावरण संरक्षणका क्षेत्रमा गरेको काम सराहनीय रहेकाले बृक्षारोपण कार्यक्रममा नगरपालिकासँग सहकार्य गरेको बताए ।
सो अवसरमा नेकपा तिलोत्तमा नगर सचिव लक्ष्मण खनाल, नेपाली काँग्रेस नगर सभापति हरिलाल पाण्डे, नमूना एकीकृत विकास परिषद् तथा जनउत्थान सहकारीकी अध्यक्ष ज्ञानु पौड्याल, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत माधवप्रसाद शर्माले जलवायू परिवर्तनका असर कम गर्न वातावरण संरक्षणका लागि वृक्षारोपणलाई प्रवद्र्धन गर्नुपर्नेमा जोड दिएका थिए ।
नियमित सरसफाइ र हरियाली प्रवद्र्धनका कार्यक्रम सञ्चालन गर्दै आएको तिलोत्तमा नगरपालिकाले बुद्ध सर्किट र सिक्सलेन सडकमा समेत स्टोनियाका विरुवा रोपेको छ । नगरपालिकाले जन्मदिनमा कम्तीमा एउटा बिरुवा रोपौं भन्ने अभियानसमेत सञ्चालन गर्दै आएको छ ।