© २०२३
(पात्र— शिक्षक— अम्बिका, विद्यार्थी— मञ्जु, मञ्जुका हजुरबुबा र हजुरआमा)
(बन्दाबन्दीको अवस्था, ग्रामीण परिवेश, शिक्षकहरू आफ्ना अभिभावक तथा विद्यार्थीलाई भेट्न गाउँघर डुल्ने क्रममा अम्बिका मिस मञ्जु र सर्वेशका घर जाँदै हुनुहुन्छ । मञ्जुले कक्षा ९ मा र सर्वेशले कक्षा ७ मा पढ्छन् ।)
मञ्जु— हजुरआमा, हजुरआमा, हाम्री अम्बिका मिस हाम्रो घर आउँदै हुनुहुन्छ नि । उः पऽऽऽऽर आउँदै हुनुहुन्छ ।
हजुरआमा— हो र ? खै मैले त ठम्याउनै सकिन ।
मञ्जु — उः यतै हाम्रा घर आउने बाटो आउँदै हुनुहुन्छ ।
हजुरआमा— लौ फलैँचामा काम्लो ओछ्याऊ । यो बन्दाबन्दीले पाहुना नआएको पनि कति भयो कति । धेरै दिनमा घर पवित्र हुने भयो ।
मञ्जु— पाहुनाले घर पवित्र हुन्छ र हजुरआमा ।
हजुरआमा— हो त ।पाहुनालाई त देउता मान्ने हाम्रो पुरानू चलन हो नि ।
मञ्जु— ए ए हो त । हजुरबुबाले मातृः देवो भवः, पितृः देवो भवः आचार्यः देवो भवः, अतिथिः देवो भवः भन्नुहुन्छ ए । अतिथिः देवो भवः भनेको पाहुन देउता हुन् भनेको त हो नि हजुरआमा ।
हजुरआमा— हो त । पुराणमै लेखेको रहेछ त संस्कृतिमा ।
मञ्जु— संस्कृति होइन क्या हजुरआमा संस्कृतमा हो । संस्कृत भाषामा हो ।
हजुरआमा— ए ए लौ लौ । मैले त खुपै जान्दिन । अँ, फलैँचामा काम्लो ओछ्याऊ भनेको त कुरै मात्रै पो भए ।
मञ्जु— यस्तो कोरोनाको महामारीका बेलामा मिस के फलैँचामा बस्नुहोला र ?
हजुरआमा— अँ त नि ।उसो भए उः त्यो पिँढीमा मचिया राखिदेऊ । त्यहीँ बस्नुहोला ।
मञ्जु— हजुरबुबा कता जानुभयो ।मिसले हजुरबुबासित कुरा गर्न खोज्नुहोला ।
हजुरआमा— ए, हजुरबुबा गोठतिर हुनुहुन्छ होला । जाऊ त बोलाई आऊ ।
मञ्जु— हस् हजुरआमा ।
(मञ्जु हजुरबुबालाई बोलाउन गोठतिर जान्छिन् । )
मञ्जु— हजुरबुबा, हजुरबुबा ।
हजुरबुबा— हजुर, भन नानी के काम प¥यो ?
मञ्जु— हजुरबुबा, हाम्रा घर हाम्रो स्कूलकी अम्बिका मिस आउँदै हुनुहुन्छ । हजुरसित कुरा गर्न खोज्नुहुन्छ होला । त्यसैले म बोलाउन आएकी ।
हजुरबुबा— लौ राम्रो भयो । तिमी घर गएर मलाई हातगोडा धुनका लागि साबुन पानी ठीक पार्दै राख । म आइहालेँ ।
(पानी सारेको आवाज)
मञ्जु— हजुरआमा मुखुन्डो(मास्क) कहाँ छन् ? मिससित कुरा गर्दा त मास्क लगाउनुपर्छ नि ।
हजुरआमा— हो त । राम्रो कुरा सम्झायौ । त्यो अग्ले चौकाका किलामा झुन्डाइराखेका छन् । जाऊ लिएर आइहाल ।
मञ्जु— हस् हजुरआमा ।
हजुरआमा— ए नानी, ए नानी ।
मञ्जु— हजुर ।
हजुरआमा— हजुरबुबाको मास्क पनि ल्याऊ है ।
मञ्जु— हस् हजुरआमा ।
(अम्बिका मिसको प्रवेश हुँदैछ । हजुरबुबा पनि आइपुग्नुभयो । मञ्जु मिसलाई लिन अलिकति पर गएकी छन् अगुवानीका लागि ।)
मञ्जु— मिस नमस्कार ।
अम्बिका— नमस्कार मञ्जु । सन्चै आरामै छौ नि ।
मञ्जु— हजुर मिस ।हामी सन्चै छौँ । हजुर पनि आरामै हुनुहुन्छ नि ।
अम्बिका— हो नानी आरामै छु । हजुरबुबा, हजुरआमा, बुबा, आमा, भाइ कता हुनुहुन्छ नि ?
मञ्जु— बुबा, आमा र भाइ त बारीमा जानुभएको छ । हजुरबुबा, हजुरआमा र म यहीँ घरमा छौ मिस ।
अम्बिका— बुबा नमस्कार, आमा नमस्कार ।
हजुरबुबा— नमस्कार नानी ।
हजुरआमा— नमस्कार नानी ।
हजुरबुबा— आजभोलि त यो कोरोनाले गर्दा सबैले मास्क लगाउनुपर्ने । मान्छेलाई ठम्याउनै गाह्रो ।
अम्बिका— (हाँस्दै) हो त नि बुबा ।
हजुरआमा— बसौँ नानी उः त्यो मचियामा । त्यहाँ बस्न त हुन्छ होला नि ?
अम्बिका— हुन्छ आमा हुन्छ । लौ बसेँ ।
हजुरबुबा— घरमा आएका अतिथि पाहुनालाई भोक तिसको बारेमा सोध्ने हाम्रो पुरानू चलन हो । पानी खान पनि भन्न हुने हो कि नहुने हो ? बाबै, जमाना पनि कस्ता आए कस्ता ?
अम्बिका— (हाँस्दै) हो त बुबा । परिवेश परिस्थितिअनुसार घुल्दैमिल्दै जानुपर्छ बुबा । पानी, खानेकुरा म आफै लिएर आएकी छु । हजुरहरूले चिन्ता लिनुपर्दैन बुबा ।
हजुरआमा— लौ त लौ । नानी आफै जान्नेसुन्ने हुनुहुन्छ । हामी के भनौँ ।
अम्बिका— अँ त बुबा । यति धेरै दिनसम्म बन्दाबन्दी भयो । हाम्रा नानी बाबुहरूले के के गरेका छन् ? कसरी दिन बिताइरहेका छन् भनेर हामीहरूले यसो गाउँघर डुल्ने योजना बनाएका छौँ । त्यही सिलसिलामा म आज यहाँ आएकी ।
हजुरबुबा— साह्रै राम्रो गर्नुभयो नानी । साह्रै खुसी लाग्यो । गाउँघर छिमेकीबाहेक त अनुहारै देख्न रहरै भयो ।
अम्बिका— हो त बुबा । यो कोरोना अझै बढ्दै छ । यसरी गाउँगाउँ हिड्ने अवस्था त होइन । तर एक आपसमा दुई तीन मिटरको दुरीमा रहेर आफ्ना विद्यार्थीको हालखबर बुझ्न यस्तो गरेका ।
हजुरआमा— साह्रै राम्रो भयो नानी । यसो गर्दा हामीलाई पनि आधार पाए जस्तो हुन्छ । सरकारले हाम्रो पनि ख्याल गर्छ भन्ने हुन्छ र मन आँत बलियो हुन्छ नानी ।
अम्बिका— हो आमा । अनि मञ्जु, यति लामो बिदामा के के ग¥यौ ? समय कसरी बितायौ ? लौ भन ।
मञ्जु— हजुर मिस, सुरुसुरुमा त पढ्न परेन, गृहकार्य गर्न परेन भन्ने भयो । जाती नै लाग्यो ।
अम्बिका— (हाँस्दै) अँ, अँ, अनि ।
मञ्जु— (हाँस्दै) अनि २०— २५ दिनपछि त अब पढ्नै नपाइने हो कि भन्ने पिरलो पर्न लाग्यो ।
अम्बिका— अनि त्यसपछि ?
मञ्जु— अनि हजुरबुबासित हजुरआमासित बस्ने पुराना पुराना कुरा सुन्ने, रमाइलो गर्न थालियो ।
अम्बिका— यसभन्दा अघि हजुरबुबा हजुरआमासित कुरा गर्ने, कुरा सुन्ने गर्दैनथ्यौ र ?
मञ्जु— त्यस्तो त होइन । कुरा गरिन्थ्यो ।केही पुराना कुरा गर्न खोज्दा, सोध्न खोज्दा “आफ्नो पाठ पढ् । यस्ता थोत्रा कुरामा भुल्ने होइन ” भन्नुहुन्थ्यो हजुरबुबा हजुरआमाले ।
अम्बिका— अनि अहिले नि ?
मञ्जु— अहिले त मिस, मेरो कक्षा आठको परीक्षा दिएको भाइको कक्षा छको परीक्षा दिएको, फुर्सतको बेलामा हजुरबुबा, हजुरआमा, बुबा, आमाका कुरा कति सुन्न पाइयो कति !
अम्बिका— कस्ता लागे हजुरबुबा हजुरआमाका पुराना कुरा ?
मञ्जु— आहा, कति राम्रा, कति मीठा ।
अम्बिका— तिमीलाई राम्रा लागेका केही कुरा बताउन सक्छ्यौ ?
मञ्जु— किन नसक्नु नि मिस ।
अम्बिका— लौ भन त तिमीलाई राम्रा लागेका कुरा । कस्ता रहेछन् म पनि सुनूँ ।
मञ्जु— हाम्रा हजुरबुबा सानु छँदा हाम्रो गाउँमा मात्रै होइन ओल्लोपल्लो गाउँमा पनि स्कूल थिएनन् रे ।
अम्बिका— अँ अँ ।
मञ्जु— अनि मेरा हजुरबुबाका पनि हजुरबुबाले गाउँका केटाकेटी जम्मा गरेर यही हाम्रो घरको दलानमा पिँढीमा बसालेर साँझ बिहानको समयमा अक्षर चिनाउने, लेख्न सिकाउने काम गर्नुभएछ ।
अम्बिका— दिउँसोमा किन नपढेको, किन नपढाएको भनी सोध्यौ त ?
मञ्जु— अँ हँ । त्यो त सोधिनँ मिस ।
हजुरबुबा— (हाँस्दै) दिउँसो त खेतबारीमा मेलाको काम गर्नुपथ्र्यो । कहाँ फुर्सत पाउनु र दिउँसोमा ।
अम्बिका— पढ्ने केटाकेटीको त फुर्सतै हुँदो हो । पढाउनेको फुर्सत हुँदैनथ्यो होला हैन र बुबा ?
हजुरबुबा— के को हुन्थ्यो नानी । उस बेला त साना केटाकेटी पनि आफूसक्दो एक मेलो काम गर्नैपथ्र्यो ।
अम्बिका— जस्तै कस्तो कस्तो काम नि बुबा ?
हजुरबुबा— उस बेला अहिले जस्तो गाई भैँसी भेँडा बाख्रा कम पाल्ने चलन थिएन । लौ हेर्नुस् नानी, हाम्रो सम्पत्ति बाजेका पालादेखि उत्ति छ । जहान पनि लगभग उत्ति नै छौँ ।
अम्बिका— हजुर ।
हजुरबुबा— तर उस बेला हाम्रा गोठमा चारवटा माऊ भैँसी र तिनका पाडापाडी, एक हल गोरु, छवटा माऊ गाई र तिनका बाच्छाबाच्छी, दशवटा बाख्रा पालिएको थियो । अहिले बाख्रा त छँदै छैनन् ।
अम्बिका— गाई भैँसी कति छन् नि ?
हजुरबुबा— अहिले त दुइवटा भैँसी छन् । एक हल गोरु मात्रै छन् । उस बेला गाई बाख्रा बन लैजाने काम केटाकेटीको
ठेक्का जस्तै थियो । त्यसैले केटाकेटीको पनि दिउँसोमा फुर्सत हुँदैनथ्यो ।
अम्बिका— हजुर ।
हजुरबुबा— अहिले शनिवारका दिन गोरु चराउन लैजाऊ न भन्दा नुहाउन लुगा धुन छ भन्छन् । बन जानै मान्दैनन् ।
अम्बिका— मञ्जु, हजुरबुबाका कुरा सुनेर रल्लै प¥यौ होइन ?
मञ्जु— हजुर मिस ।
अम्बिका— अँ भन मञ्जु, एउटा त दलाने पाठशालाको कुरा रमाइलो लाग्यो । अनि अर्को?
मञ्जु— अनि अर्को रमाइलो मेरी हजुरआमाले पढ्न सिकेको कुरा ।
अम्बिका— कस्तो रहेछ हजुरआमाले पढ्न सिक्दाको कुरा नि ?
मञ्जु— (हाँस्दै) मिस मेरो बूढो मावली अर्घा कुँडापानी हो ।
अम्बिका— हजुरआमाको माइति अर्घा कुँडापानी भनेको हो, मञ्जु ?
मञ्जु— हो मिस । हजुरआमाका बुबा त्यस ठाउँको ठूलो मान्छे मुख्खे हुनुहुन्थ्यो रे । (हाँस्दै) आमाका काखमा बसेर मावलीको बखान गरे जस्तो भयो मिस । उता हजुरआमा हाँस्दै हुनुहुन्छ ।
अम्बिका— ( हाँस्दै) तिमीले कुनै कुरा बिरायौ भने हजुरआमाले भनिहाल्नुहुन्छ । तर तिमीले सुनेको, बुझेको कुरा कत्तिको राम्रोसित भन्छ्यौ भनेर पो तिमीलाई भन्न लगाएको । नत्र मैले तिम्रो हजुआमालाई सोधिहाल्थेँ नि !
हजुरआमा— मिस नानीले भनेको ठीक हो । तिमीले भन्दै जाऊ । कही भन्न नसके मैले थपिहाल्छु ।
मञ्जु— हस् हजुरआमा । अनि नि मिस, हजुरआमाकै घरमा दलाने पाठशाला चलाइएको रहेछ ।
अम्बिका— अँ अँ ।
मञ्जु— तर हजुरआमाका दाइ भाइले पढ्ने हजुरआमाले पढ्न नपाउने हुनुभएछ ।
अम्बिका— किन नि ?
मञ्जु— केटीले पढेदेखि केटालाई चिठी लेख्छन् भनेर पढ्न नदिएको रे ।
( सबै हाँस्छन् )
अम्बिका— अनि हजुरआमाले पढ्नै पाउनुभएनछ त ?
मञ्जु— होइन मिस । हजुरआमाका दाइ भाइ निकै जाती हुनुहुँदोरहेछ । बा, आमा, हजुरबुबा, हजुरआमाले थाहा नपाउने गरी खुसुखुसु मेरी हजुरआमालाई पढाउनुभएछ । मेरी हजुरआमाले कति राम्रा अक्षर लेख्नुहुन्छ नि मिस ।
अम्बिका— आहा कति राम्रो कुरा रहेछ । तिम्रो भाइ सर्वेशले पनि यस्ता कुरा ध्यान दिएर सुन्यो कि सुनेन नि ?
मञ्जु— किन नसुन्नु नि मिस । कति खुसी भई भई सुनेको थियो । मैले भाइको निकै ख्याल राखेकी थिएँ ।
अम्बिका— स्याबास । आफूभन्दा सानाको त्यस्तै ख्याल राख्नुपर्छ । अनि अरू के के ग¥यौ नि ?
हजुरआमा— ए मिस नानी, यस्तो केही नखाई विमुखै बस्ने भयो । हामीले टिपेर पखालेर दिएको खान हुन्छ भने यी आँगन छेउँका आरु, आलुबखडा ल्याइदिन्छौँ । हैन भने आफै टिपेर भए पनि खानुप¥यो बा । के गरौँ?
अम्बिका— हुन्छ आमा, म आफै टिपेर खाउँला ।
(आरु आलुबखडा खाने काम हुन्छ ।)
हजुरबुबा— लौ केही न केही खुवाउन पाएपछि हामीलाई पनि अलि सन्तोष लाग्यो ।
हजुरआमा— लौ लौ नानी मिसलाई तिमीले भन्न खोजेको कुरा राम्ररी सुनाऊ । यो बन्दाबन्दीमा तिमीले गरेका काम कुराहरू ।
मञ्जु— हस् हजुरआमा ।
अम्बिका— लौ अब भन्दै जाऊ ।
मञ्जु— अनि नि मिस, हाम्रा हजुरबुबा हजुरआमाले थुप्रै लोककथा जान्नुभएको छ । सबाई जान्नुभएको छ । ती कथा सबाई सुन्दै लेख्दै गरेर दुईवटा ठूला मोटाकापी भरेकी छु ।
अम्बिका— स्याबास् । अनि अरू ?
मञ्जु— अनि हजुरआमाले जानेका पुराना जमानाका गीत पनि लेखेकी छु । हजुरआमालाई गाउन लगाएर केही गीत त रेकर्ड पनि गरेकी छु ।
अम्बिका— मञ्जु, तिमीले साँच्चै राम्रो काम गरिछौ । हाम्रो विद्यालय खुलेपछि शुक्रवारे कार्यक्रममा ती कुराहरू भन्नुपर्छ सुनाउनुपर्छ नि ।
मञ्जु— (खुसीहुँदै ) हस् मिस । अनि नि मिस अहिले त बनमा पाइने बनेली खानेकुरा कस्ता ठाउँमा पाइने रहेछन् ? कसरी फल्दा रहेछन् ? कसरी टिप्नुपर्ने रहेछ भन्ने कुरा पनि सिक्यौँ नि ।
अम्बिका— लौ भन त के के सिकिछौ ?
मञ्जु— हजुरबुबासित गोरु हेर्न बन गएका बेला हजुरबुबाले विभिन्न बोटबिरुवा, झार, घाँसका नाम चिनाइ दिनुभयो । कुनै बिरुवा औषधी हुनेरहेछन् । कुनै बिरुवा विष हुँदा रहेछन् । कुनै अचार खान हुने, कुनै तरकारी खान हुने, कुनै उसिनेर खान हुने जस्ता थुप्रै बिरुवा चिन्यौ ।
अम्बिका— आहा कति राम्रो ।
मञ्जु— एक दिन हजुरबुबासित गोरु चराउन गुराँसका गैरा भन्ने ठाउँतिर गयौँ । त्यहाँ त निउरो पाइने रहेछ ।
अम्बिका— निउरो कस्तो ठाउँमा फल्दोरहेछ भन्ने थाहा पायौ नि ?
मञ्जु— हजुर । जनक सरले विज्ञान पढाउँदा टेरिडोफाइट्स् जातका उन्यू, निउरो, डौँडे पानी भइरहने चिसो पाखा पखेरामा पाइन्छ भन्नुभएको थियो । साँच्चै हो रहेछ ।
अम्बिका— उसो भए निउरोको तरकारी पनि खायौ ?
मञ्जु— हजुर मिस । खान त पहिले पनि खाइन्थ्यो । तर आफैले चिनेर, आफैले टिपेर ल्याई पकाएर खाँदाको मज्जा छुट्टै हुँदो रहेछ मिस ।
अम्बिका— हो त । अनि बनको खानेकुरा त्यै निउरो मात्रै हो ?
मञ्जु— होइन मिस । त्यसपछि त कहिले हजुरबुबासित कहिले हजुरआमासित बन जान लाग्यौँ । अनि कहिले बन तरुल, गिठा, भ्याकुरा, टाँकीका मन्टा, कोइरालाको फूल, काफल, तिँजु, ऐँसेलु के के ल्याउने खाने गरियो केके ।
अम्बिका— यति ठूला भएर पनि तिमीहरू एक्लैले गोरु चराउन जान सक्दैनौ र हजुरबुबा हजुरआमाका पछि लाग्नुपर्ने ?
हजुरआमा— जान त जान्थे होला नानी, तर त्यो माले गोरु अलि हनाहा छ ।पाकालाई केही गर्दैन । केटाकेटीलाई देखिसहँदैन । लखेटी लखेटी हान्छ ।
अम्बिका— ए ए ।लौ आमा, नानी बाबुहरूले निकै राम्रो गरी यो बन्दाबन्दीको समय बिताएछन् । धेरै खुसी लाग्यो ।
हजुरआमा— हामी पनि खुसी छौँ नानी । अहिलेको बन्दाबन्दीमा मैले नातिनातिनालाई दुना टपरी गाँस्न सिकाएँ, कपासबाट बत्ती कात्न सिकाएँ ।
अम्बिका— मञ्जु, सर्वेशले पनि दुना टपरी गाँस्न सिक्यो ?
हजुरबुबा— हामीले यो केटाले मात्रै गर्ने काम हो, यो केटीले मात्रै गर्ने काम हो भन्ने गरेका छैनौँ नानी । दुई भाइनाले सबै कुरा उत्तिकै चासोसित सिक्छन् । र हामीले पनि उत्तिकै चासो दिएर सिकाउँछौँ ।
अम्बिका— धेरै राम्रो कुरा गर्नुभयो बुबा धेरै राम्रो कुरा । आजका जमानामा पनि यो केटीले गर्ने काम हो यो केटाले गर्ने काम हो भन्नुहुँदैन । यो कुरा यहाँहरूले व्यवहारमै उतारिदिनुभयो ।
हजुरबुबा— यो बन्दाबन्दीमा हाम्रो घरायसी कामका लागि चाहिने कुरा बाँसका चोया काढेर डोका बुन्ने, ओदालको पटुवा निकालेर नाम्ला, दाम्ला बाट्ने जस्ता काम सिकाएँ नानी ।
अम्बिका— (मञ्जुतिर हेर्दै) मञ्जु बुन्यौ त डोका ?
मञ्जु— हजुर मिस । उः त्यो सानो डोको मैले बुनेको हो । उः त्यो कुखुरा ढाकेको डोको भाइले बुनेको हो ।
अम्बिका— आहा ! कति राम्रा डोका ।
हजुरबुबा— अँ मिस नानी, आजभोलि रेडियोले सिक्दैसिकाउँदै भन्ने यौटा कार्यक्रम ल्याएको छ नि ।
अम्बिका— हो बुबा । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, शिक्षा तथा मानव स्रोत विकास केन्द्र र सेतो गुराँससमेतको सहयोगमा बनाइएको राम्रो कार्यक्रम छ । मैले हजुरहरूलाई सुन्नुहोला भन्नै लागेकी थिएँ । हजुरहरूले सुन्ने गर्नुभएको रहेछ । खुसी लाग्यो ।
हजुरबुबा— असाध्यै रमाइलोसित सुन्छौँ नानी । त्यसमा पनि घरका पाका व्यक्तिले आफ्ना नानी बाबुहरूलाई कसरी सिकाउने ? उनीहरूको मनको रुचि कसरी बुझ्ने भन्ने जस्ता कुरा गर्दो रहेछ । साह्रै राम्रो लागेको छ ।
अम्बिका— ए कति राम्रो भयो । हाम्रा नानी बाबुहरू पाका पुस्तासित नजिकिऊन् भनेर यस्तो कार्यक्रम आएको छ । यसको मर्म बुझिहाल्नुभयो ।
हजुरआमा— मिस नानी, घर फर्कनलाई खटपटिए जस्तो छ । हामीलाई त अलिबेर बसिदिए रमाइलो हुन्थ्यो भन्ने लागेको थियो । खानु न पिनुसित बसौँ पनि कसरी भनौँ ?
अम्बिका— हो आमा, मलाई पनि निकै रमाइलो लाग्यो । सबैका बा आमा, हजुरबुबा हजुरआमाले आफ्ना नानी बाबुहरूसित यसै गरी दिन बिताउनुभएको भए हुन्थ्यो । खानको पीर नगर्नुस् आमा आरु आलुबखडा खाएकी हैन र ?
हजुरआमा— जाती लाग्छ भने केही आरु आलुबखडा यसो झोलामा राखौँ न नानी । घरमा नानी बाबुले खालान् ।
अम्बिका— हस् आमा, हस् ।
हजुरबुबा— फेरि फेरि पनि यसै गरी आउँदै गरौँला है नानी ।
अम्बिका— अवश्य पनि बुबा ।
(सबैले आपसमा नमस्कार )