© २०२३
कोरोनाभाइरस सङ्क्रमणका कारण एक जना ४९ दिनको शिशुको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बताएको छ। जेठ ९ गते त्रिविवि शिक्षण अस्पताल भर्ना गरिएका शिशु भेन्टीलेटरमा उपचाररत थिए। कोरोनाभाइरसका कारण ४९ दिनको शिशुको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल काठमाडौंमा असार १७ गते बुधवार साँझ मृत्यु भएको हो। म्याग्दी जिल्ला धौलागिरी नगरपालिकाका शिशुलाई जेठ २ गते शिक्षण अस्पताल भर्ना गरिएको र मृगौलाका सार्थ नाकको समस्याका कारण आईसीयूमा राखी उपचार भइरहेको डा. गौतमले बताए। कोरोनाभाइरस सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या ३१ पुगेको छ।
यससँगै कोरोनाभाइरसका कारण नेपालमा ३१ जनाको मृत्यु भएको मन्त्रालयको तथ्याङ्कले देखाउँछ। त्यस्तै नेपालमा विगत २४ घण्टामा थप ४७३ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको मन्त्रालयले बताएको छ। यो वृद्धिसँगै बिहीवार अपराह्णसम्म देशभरि पुष्टि भएका सङ्क्रमितको कुल सङ्ख्या १४,५१९ पुगेको छ।
तीमध्ये ५,३२० जना निको भएका छन्। तीमध्ये गत २४ घण्टामा ६६४ जना निको भएका थिए। अहिले आइसोलेशनमा भएका सङ्क्रमितको सङ्ख्या ९,३६० भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए। दैनिक निको हुनेहरूको सङ्ख्या यो अहिलेसम्मकै उच्च हो। बुधवार ४६२ जना निको भएका थिए। अहिलेसम्म प्रदेश नं ५ र प्रदेश नं २ मा कोभिड १९ भएका व्यक्तिको सङ्ख्या सर्वाधिक छ।