© २०२३
बुटवलमा समुदायस्तरमा सिकाइ सहजीकरण कार्यक्रम शुरु भएको छ । लकडाउनका कारण लामो समयदेखि कक्षा कोठामा अध्ययन रोकिएको बेला बुटवल माध्यमिक विद्यालयले सिकाइ सहजीकरण कार्यक्रम २०७७ मार्फत बालबालिकाको सिकाइलाई अगाडी बढाएको छ ।
विद्यालयको कक्षा कोठामा शिक्षक र विद्यार्थी उपस्थित भएर अध्ययन गर्ने अवस्था नभएपछि विद्यालयले शिक्षक तथा कर्मचारीहरु परिचालन गरि १२ स्थानमा सेवा शुरु गरेको बुटवल माविका प्रधानाध्यापक अकरमुला खाले बताए । विद्यार्थीहरुको समुदायमा नै स्थान छनौट गरि पायक पर्ने स्थानमा रेडियो, टिभी कार्यक्रम चलाईने उनको भनाइ छ । बुटवल माध्यमिक विद्यालयले बुटवलको मजुवा, पाखापानी ३ गढिटोल लगायतका क्षेत्रमा गरि १२ वटा सिकाइ केन्द्रमार्फत पठन पाठनमा सहजीकरण गरिने उनले बताए ।
बुटवल उपमहानगरपालिकाका शिक्षा शाखा प्रमुख मित्रमणि खनालले बालबालिकाहरुको सिकाइ वातावरण बढाउनमा सिकाइ केन्द्रले सहयोग पुर्याउने बताए । लकडाउनको कारण घरमा बसेका विद्यार्थीहरुलाई सिधै पढाइ अघि बढाउने भन्दा पनि मानसिक रुपमा पठन पाठनमा तयार गराउनेतर्फ ध्यान दिन शिक्षकहरुलाई आग्रह गरे । शिक्षकहरुबाट कोरोनाका बारेमा राम्रो ज्ञान घरदैलोमै गएर दिने, घर बसाईको अवधिमा भएको कामको बारेमा समेत लेख्न लगाउने, कोरोनाले समुदायमा पारेको प्रभाावको बिषयमा छललफल गराउने कामलाई पनि ब्यक्तिगत दुरी कायम गरि सहजीकरणमा जोड्नका लागि उनको सुझाव थियो । जो शिक्षक जहाँ छ त्यही परिचालित हुनका लागि सरकारी जारी गरेको निर्देशिकाले उल्लेख गरेको जानकारी दिदै उनले स्थानिय टोलमा बच्चाहरुलाई जम्मा गरेर पायक पर्ने स्थानमा सिकाई सहजिकरण गर्न शिक्षकहरु परिचालन गर्न सुझाव दिए ।
समुदाय स्तरमा बालबालिकाको सिकाईलाई निरन्तरता दिने उद्देश्यले नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले वैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाइ सहजीकरण निर्देशिका २०७७ जारी गरिसकेको छ । उक्त निर्देशिकामा स्थानीय सरकार र विद्यालयले आवश्यकता अनुसार सिकाइ केन्द्रहरु स्थापना गरि संचालन गर्ने र गराउने उल्लेख छ ।
विद्यालयका शिक्षक घनश्याम गौतमले विद्यालयले मजुवामा ५, पाखापानीमा ३, गढिटोलमा ३ लगायत गरि १२ वटा सिकाई केन्द्रमार्फत बालबालिकाको सिकाईमा सहजीकरण शुरु गरिएको बताए । उनले सिकाई केन्द्र संचालनका लागि आवश्यक पर्ने रेडियो र स्टेशनरीको सहयोग लायन्स क्लब अफ बुटवल स्टारर्सले गरेको जानकारी गराए । विद्यालयका शिक्षक यज्ञ सापकोटाले विद्यालयले विद्यार्थीहरुको प्रविधि पहुँचको बिषयमा गरेको सर्वेक्षणमा ७० प्रतिशत बालबालिका डिजिटल साधनको पहुँच बाहिर, १५ प्रतिशत रेडियोको पहुँचमा, १० प्रतिशत टेलिभिजनको पहुँचमा, ३ प्रतिशत कम्यूटर इन्टरनेटको पहुँचमा र २ प्रतिशत विद्यार्थी सबै प्रविधिको पहुँच भित्र रहेको पाईएको जानकारी गराए । उनले क्लबको सहयोगले समुदायमा सिकाइ केन्द्र खोल्न सकिएको र काम गर्नमा लागि पनि उत्साह मिलेको बताए ।
लायन्स क्लब अफ बुटवल स्टार्रसका अध्यक्ष सुशील पाण्डेले नेपाल सरकारको निर्देशन अनुसार कक्षा संचालनमा संस्थागत रुपमा सहयोग गरेको बताए । कार्यक्रममा लायन्स क्लव इन्टरनेशनल डिष्ट्रिक ३२५ बि २ का एरिया –४ चिफ एमजेएफ सन्दिप कसौधन, रिजन चेयर पर्सन एमजेएफ आशिष कृष्ण श्रेष्ठ, जोन चेयरपर्सन एमजेएफ एम.एल पाण्डे,लायन्स डिष्ट्रिक लियो कमिटि मेम्बर सिप एमजेएफ दिपक भट्टराइ, शिक्षा पत्रकार समुहका उपाध्यक्ष कृष्ण मल्ल, कार्यक्रमका संयोजक दुर्गा आले लगायतले लकडाउनको समयमा विद्यार्थीहरु घरमा सिर्जसिल तरिकाले सहजीकरण गर्नका लागि सुझाव दिएका थिए ।