© २०२३
बुटबल १८ वैशाख । रुपन्देहीको तिलोत्तमामा रहेको लुम्बिनी वल्ड स्कूलले कोडिङ कक्षा सञ्चालन गर्न थालेको छ । कोडिङ कक्षासँगको साझेदारीमा लुम्बिनी प्रदेशमै पहिलो पटक स्कुलमा कोडिङ कक्षा कार्यक्रम लागू गरिएको विद्यालयले दावी गरेको छ ।
प्रविधिको विकाससँगै कक्षा १ देखि नै विद्यार्थीहरुलाई सीप सिकाउँदै जाने उद्देश्यले स्कूलले आफ्नो पाठ्यक्रममा कोडिङ पाठ्यक्रमहरु लागि गरेको विद्यालयका प्रिन्सिपल विष्णु प्रसाद ढकालले जानकारी दिए ।
विद्यालयले शुरु गर्न लागेको कोडिङ कक्षा सञ्चालनका लागि नेपाल स्टीम एलाईन्सका सिईओ शुशिल बुढाथोकी र विद्यालयका प्रिन्सिपल विष्णु प्रसाद ढकालले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । कोडिङ कक्षा सञ्चालनका लागि लुम्बिनी वल्र्ड विद्यालयले वैशाख ९ गतेदेखि १७ गतेसम्म शिक्षकहरुलाई तालिम प्रदान गरेको थियो ।
कोडिङ भनेको कम्प्युटरको भाषा हो, २१ औं शताब्दीको लागि विभिन्न सीपमध्ये एक हो । बच्चाहरूलाई प्रारम्भिक उमेरमा नै कोडिङ सिकाउनाले उनीहरूका लागि नयाँ क्यारियर अवसरहरू खोल्न सक्ने विद्यालयको दावी छ ।
‘कोडिङ अभ्यासले समस्या समाधान र कम्प्युटेसनल सोच क्षमतामा सुधार गर्दछ-विद्यालयका प्रिन्सीपल ढकालले भने ।
कार्यक्रममा बोल्दै विद्यालयका शैक्षिक निर्देशक डा. मीन प्रसाद खनालले विद्यालयलाई गतिविधिमा आधारित सिकाइ केन्द्रको रुपमा विकास गर्दै जाने बताए । उनले युग सुहाउँदो शिक्षा प्रदान गर्न आफूहरु लागिपरेको बताउँदै त्यसैअनुसारको पाठ्यक्रम लागू गर्दै आएको बताए ।
कोडिङ कक्षाका एकेडेमिक हेड दीपर्शन श्रेष्ठले कोडिङ कक्षाको माध्यमबाट विद्यार्थीहरु परम्परागत अवधारणाभन्दा माथि उठ्ने बताए ।