© २०२३
बुटवल, १७ बैसाख । एसएसपी बढुवा सिफारिसप्रति असन्तुष्टि जनाउँदै नेपाल प्रहरीका एसपी आभुषण तिम्सिनाले राजीनामा दिएका छन् ।
गृहमन्त्रालयले शुक्रबार प्रकाशित गरेको बढुवा सिफारिसप्रति असन्तुष्टि जनाउँदै उनले प्रहरी हेडक्वार्टरमा आइतबार राजीनामा बुझाएका छन् । १८ जना एसपीको एसएसपीमा बढुवा हुँदा सिनियर र कार्यक्षमता भएकामाथि अन्याय गरिएको भन्दै उनले राजीनामा दिएको बताएका छन् । एसएसपी बढुवामा एसपी नान्तीराज गुरुङलगायतले पनि असन्तुष्टि जनाउँदै कार्य सम्पादन मुलयाङकन सार्वजनिक गर्न चुनौती दिएका छन् ।
तिम्सिना नेपाल प्रहरीभित्र अपराध अनुसन्धानमा काबिल अधिकृत हुन् । २०५६ असार ३ गते प्रकाशित प्रहरी निरीक्षक छनौटको सूचीमा सर्वोत्कृष्ट अंक ल्याई एक नम्बरमा भर्ना एसपी तिम्सिना त्यसपछिका बढुवा र जिम्मेवारीमा पछाडि पारिँदै आएका थिए ।
०६२–६३ को जनआन्दोलनपछि तत्कालीन शाही पार्श्वपति भरतकेशर सिंहको हातमा हत्कडी लगाएर चर्चामा आएका तिम्सिनाले प्रहरीको स्याङ्जा, सिन्धुली, कैलालीलगायतका जिल्लाको नेतृत्व सम्हालेका थिए । १५ वैशाखमा १८ एसपीलाई एसएसपी बढुवाका लागि सिफारिस गरिँदा तिम्सिना छुटेका थिए ।
०७५ जेठ २९ मा डीएसपीबाट एसपी र ०६७ पुस २३ मा इस्न्पेक्टरबाट डीएसपी बढुवामा तिम्सिनाभन्दा कम नम्बर ल्याएका एसपीहरू यसचोटि एसएसपी सिफारिस भएको प्रति उनले संगठनका उच्चपदस्थ अधिकृतसमक्ष असहमति व्यक्ति गर्दै आएका थिए ।
मैले राजीनामा दिने निर्णय किन लिएँ ?
म, प्रहरी उपरीक्षक आभुषण तिम्सिना मिति २०५६ साल असार ३ गतेबाट जनसेवा गर्ने उत्कृष्ट संस्थाको रुपमा दरिएको नेपाल प्रहरीमा प्रहरी निरीक्षक पदमा नियुक्त भई हालसम्म नेपाल प्रहरीमा कार्यरत छु ।
मैले नियुक्तिको प्रमाणपत्र पाउने समयमा म लोकसेवा पास गरेर लोकसेवाको वरीयतामा पहिलो नम्बरमा नाम निकालेर भर्ना हुँदा म मा देशप्रतिको जुन अगाढ निष्ठा, जनसेवा गर्ने जुन प्रगाढ भावना थियो, त्यसलाई बोकेर नेपाल प्रहरीमा मेरा सहकर्मी साथीहरुसँगै सेवा प्रवेश गरेको थिएँ ।
तर आज मिति २०८० साल वैशाख १७ गतेबाट म मैले लगभग २५ वर्ष पूरा हुन ४९ दिन बाँकी रहँदा नेपाल प्रहरी जस्तो जनस्तरसम्म जोडिएको पबित्र संस्थाबाट राजीनामा दिएर अलगिने निर्णय गरेको छु ।
नेपालको संबिधान २०७२ को मौलिक हकमा नअटाएका भेदभाव, असमानता, अन्याय, थिचोमिचो, विभेद, नातावाद, कृपावादको माखेसाङ्लोबाट नेपाल प्रहरीका क्षमतावान, उत्कृष्ट राष्ट्रसेवक कर्मचारीहरु कहिले मुक्त हुने र कानूनले नचिनेका शक्तिकेन्द्रहरु धाउने क्रम कहिले अन्त्य हुने भन्ने ठुलो प्रश्नको बोझले नेपाल प्रहरीका कर्मचारीहरु कहिले मुक्त हुने भन्ने प्रश्नको उत्तर खोज्ने प्रयास कहिले सार्थक हुने ?
अन्यायको शिकार भएका यी तिन दिन र रातहरुमा मैले अन्यायलाई चुपचाप सहनु भनेको अन्यायलाई र अन्यायी प्रवृत्तीलाई थप मलजल र जगेर्ना गर्नु हो भन्ने बिश्वब्यापक धारणालाई गहिरिएर मनन गरेको छु ।
आफ्नै मानव अधिकारको हरण पटक पटक ब्यहोरेको व्यक्तिले आम नागरिकका मानव अधिकारहरुलाई कसरी रक्षा गर्ला भन्ने चिन्ताले म यी ३ रात सुत्न सकिन ।
चन्द्रशमशेरले राणा कालमै अन्त्य गरेको दासप्रथालाई निरन्तरता दिने पक्षमा म सार्बभौम नेपाली नागरिकको हैसियतमा कदापि छैन ।
पदबाट राजीनामा दिएर अलगिएको आजैका मितिबाट म सार्वभौम र कानूनको सम्मान गर्ने पूर्ण नेपाली नागरिकमा रुपान्तरित भएकोमा गौरवान्बित महसुस गरेको छु । म आजैका दिनबाट नेपालको प्रत्यक्ष र समानुपातिक मतदाताको रुपमा दरिने आधारभुत योग्यतालाई पूर्ण विवेकका साथ प्रयोग गर्न पाउने हैसियतमा पुगेको गौरानुभुती भइरहेछ ।
अन्याय, विभेद, अत्याचार, भेदभाव, थिचोमिचो जस्ता मत्स्यन्यायको शिकार भएका आम नेपाली सर्वसाधारण नागरिकलाई न्याय दिलाउने संबैधानिक उद्धेश्य लिएर स्थापना भएको नेपाल प्रहरी जस्तो पबित्र संस्थामा म आफैं अन्यायमा परेको कृत्रिम सुखानुभुति गरेर आफैं अन्यायमा परेको भावनाले पिडीत व्यक्तिको रुपमा कसरी नागरिकका हक अधिकारको संरक्षण गर्न सक्छु र कसरी देश प्रतिको प्रगाढ आस्थालाई जीबन्त राख्न सक्छ भनेर मैले मेरो जागिरलाई निरन्तरता दिएर आम करदाता नेपाली नागरिकको काँधमा बोझको रुपमा रहिरहनु उचित नलागेर मैले मेरो जवानी लुटाएको संस्थाबाट अलग्गीने निर्णय गरेको छु ।
आफू अन्यायको शिकार भएको र आफूप्रति भएको अन्याय चुपचाप सहेर बस्ने अधिकारिले जागिरमा रहँदाबस्दा आफूमाथि भएको अन्यायको बिलौना मात्रै गरेर बस्ने; अन्यायको व्यक्त गर्न नसक्ने तर भित्रभित्रै पिरोलिरहने बोझ र कुण्ठा बोकेर संगठनमा अडेको व्यक्तिको रुपमा आफु समक्ष आउने आम नेपाली नागरिकहरुलाई कसरी न्यायको भरोसा दिलाउन सक्छु भन्ने कुरोको बोध पश्चात मैले यो संगठनमा रहिरहनु उचित मानिन ।
मैले यो संगठनमा रहँदा बस्दा मँसँग काम गरेका मेरा सहकर्मी, सहयोद्धा प्रहरी कर्मचारीहरुले मलाई गरेको सहयोग मेरो जीवनमा मार्गदर्शक सिद्धान्तको रुपमा रहिरहनेछन ।
“Injustice Anywhere is threat to justice everywhere” भन्ने मार्टिन लुथर किङ्गको भनाइलाई आज मेरो अन्यायको बिरुद्ध लडिरहने आदर्श मुल मन्त्र बनाएर मेरो जागिरे जीवनलाई यहिँबाट पुर्णबिराम लगाउदै न्याय दिलाउने संस्था आफ्नै सदस्यहरुलाई न्याय गर्न सक्दैन भने त्यो संस्थाको औचित्य बिस्तारै समाप्त हुदै जाने तर्फ समेत नेपाल प्रहरीका साथिभाइ र अग्रजलाई समेत सुझाव दिन चाहन्छु ।
मैले जागिरे जीवनमा के कस्ता अन्याय सहनु पर्यो भन्ने कुरा म क्रमश: मेरा आफन्त, साथीभाइ र इष्टमित्रले पाउने गरी यहि सार्वजनिक मञ्चमार्फत राख्नेछु ।
यसका साथै नेपाल प्रहरीमा कार्यरत रहँदा मलाई सकारात्मक कार्यको लागि प्रेरणा दिने सम्पुर्ण अमर प्रहरीहरु, संगठनमा कार्यरत हुँदा अशक्त भएका अशक्त प्रहरी कर्मचारीहरु, देशको लागि प्राणको आहुती दिन तयार भएका सम्पुर्ण पुर्व तथा कार्यरत प्रहरी कर्मचारीहरु प्रती हार्दिक नमनका साथ नागरिक समाजका मार्गदर्शकहरु प्रति कृतज्ञता व्यक्त गर्दै सम्पुर्ण प्रहरी कर्मचारीको सहज बृत्तीबिकास, सकारात्मक कार्यवातावरणको प्राप्ति एवम् आगामी दिनमा सफलता र सुस्वास्थ्यको कामना गर्दछु।
धन्यवाद, जयनेपाल ।
आभूषण तिम्सिना
प्रहरी उपरीक्षक