© २०२३
यत्रो विशाल संसार
आज एउटै गाउँ भएको छ
हो, यहि मेरो गाउँको पश्चिम पट्टी
त्यो भव्य सेतो महलमा बस्ने साहु जी
आफूलाई बडो समाजसेवी सम्झन्छ
र ठान्छ
आफू नै सबैको न्याय दाता हुँ
म नै सर्वेसर्वा हुँ ।
कसैलाई केहि भयो कि
उसैलाई चाँसो पर्छ
कोहि रुचाओस् वा नरुचाओस्
अरुको मामलामा हस्तक्षेप गर्छ
गाउँका हुने खानेहरु
उसैको हो मा हो मिलाउँछन्
किनकी ऊ संग धन छ, शक्ति छ
शक्तिको भक्ति गर्नु
उनीहरु कर्तव्य ठान्छन् ।
त्यसैले
विचरा निमूखाहरु
अन्यायमा पनि प्रतिकार गर्न सक्दैनन्
केहि नयाँ ठिटाहरु
उसलाई देखि सहन्नन्
उसका कर्तुतको भण्डाफोर गर्छन्
तसर्थ,
उसका आँखाको कसिङ्गर बनेका छन्
उसको मात्र हैन
उसका मतियार, भरौटेहरुका पनि ।
केहि वर्ष पहिला
एक दिनको कुरा
ठिटाहरु आक्रमणमा तम्सिए
केहि मात्र सफलता पाए
तर, लक्ष्यमा निशाना चुक्यो
ठिटाहरु अलप भए
साहु रिशले चुर भयो
खोजी खोजी मार्ने धम्की दियो
कैयौं प्रयत्न पछि
ठिटाको नाइके मार्यो पनि
र ठिटाहरुको टोलबासीलाई
तर्साईरहन्छ, धम्काईरहन्छ
किनकी ऊ संग बन्दुक छ
पछाडी ठूलै जमात छ
र अथाहा शक्ति छ ।
मेरै घरमा पनि
त्यहि साहुले किचलो हालेको छ
कति मेरा दाजुभाइ
उसको समर्थन गर्दै भन्छन्
उसले हामीलाई सहयोग गर्छ
केहि दाजुभाइ
उसको व्यवहार पटक्कै देखिसहन्नन्
अनि भन्छन्
ऊ धुर्त हो, चुसुवा हो, भँडुवा हो
दयालु र परोपकारी ऊ छैन
विना स्वार्थ ऊ केहि गर्दैन ।
हुन पनि हो
सबै गाउँको हितार्थ बनाएको साझा संस्था
सबैको थोरै थोरै चन्दा थियो
उसको अधिक अरुको भन्दा थियो
उसले भनेको के भएन कुन्नि
सहयोग दिन्न भन्दै संस्था छोडिदियो ।
असन्तुष्ट गाउँलेहरु
अगाडी बोल्न डराउँछन्
पछाडी खासखुस खासखुस कराउँछन्
हेरौं,
साहुको यो हैकम कहिले सम्म चल्ने हो ?
भव्य सेतो महल युगौं युग ठडिने हो
या एकदिन गर्ल्याम्म ढल्ने हो ??
…….अस्तु……