© २०२३
प्रदेश नं. ५ सरकारले बिद्यालयका लागि मेरो एक दिन अभियानको औपचारिक शुरु गरेको छ । तुलसीपुर उपमहानगरपालिका–७ मा रहेको माध्यमिक विद्यालय, कालाखोलाको कक्षा १० ‘ए’ मा पढाएर मुख्यमन्त्री शंकर पोखरेलले अभियानको शुभारम्भ गरेका हुन ।
सरोकारवालाहरुको सामूहिक सहभागिताको माध्यमबाट सामुदायिक बिद्यालयहरुमा रहेका विविध समस्या तथा मुद्दालाई उजागर गरी शैक्षिक सुधारको अभियानलाई सकारात्मक दृष्टिकोणबाट सुधार गर्ने उद्देश्यले प्रदेश सरकारले यो अभियान शुरु गरेको हो । प्रदेश सरकारले स्थानीय सरकारसँग समन्वय गरेर विद्यालय र समुदायको सम्बन्धलाई समधुर बनाएर शैक्षिक गुणस्तर उकास्न यो अभियान अघि बढाएको बताएको छ ।
अभियान २०७५ भाद्र २३ गते ३९ औँ राष्ट्रिय शिक्षा दिवस तथा अन्तर्रा्ष्ट्रिय साक्षरता दिवसको अवसरमा सामाजिक बिकास मन्त्रालयले शुरू गर्ने घोषणा गरेको थियो । अभियान प्रदेश नं. ५ का १ सय ९ स्थानीय तहमा रहेका ४ हजार ६ सय ३९ सामुदायिक बिद्यालयसम्म पुग्ने मन्त्रालयको भनाई छ ।
अभियानको शुरुवाद गर्न मुख्यमन्त्री शंकर पोख्रेल विहान ठिक १० बजे तुलसीपुर उप महानगरपालीका ५ को माध्यामीक विद्यालय कालाखोला पुगेका थिए । चक र डस्टर बोकेर कक्षाकोठामा सधै उपस्थीतहुने शिक्षक नदेख्दा एकैछिन विद्यार्थीहरु पनि अलमलमा परेका देखीन्थे । मुख्यमन्त्री पोख्रेलले करीव एक घण्टा विद्यार्थीहरुसंग कक्षा कोठामै विताए ।
मुख्यमन्त्री पोख्रेलले मावि कालाखोलाका विद्यार्थी र शिक्षकहरुसंग अन्तरक्रीया गरेरै विद्यार्थीहरुले पढिरहेको कक्षा कोठामा प्रवेश गरेका थिए । मुख्यमन्त्रीले कक्षा कोठामा प्रवेश गरेर विद्यार्थीको शैक्षिक अवस्था मात्रै सोधेनन, उनले विद्यार्थीले पढाइमा सुधार गर्नुपर्ने पक्षमा सुझाव समेत दिएका थिए । शिक्षकले पढाउने शैली र विद्यार्थीको पढाइका वारेमा पनि चर्चा गरे । शिक्षकले कक्षा कोठामा एकोहोर पढाउने तर विद्यार्थीहरुले सिक्ने उत्सुकता देखाएनन् भने त्यस्तो पढाईको अर्थ नहुने भन्दै मुख्यमन्त्री पोख्रेलले विद्याथीहरुलाई शिक्षकसंग आफ्ना कुराहरु निर्धक्क राख्न आग्रह गरे ।
“एक आपसमा सल्लाह गरेर शिक्षकहरुसंग निर्धक्क सहीत आफ्ना समस्याहरु राखेर नजानेका कुराको समाधान गरेमा मात्र सहि ज्ञान प्राप्तहुन्छ” मुख्यमन्त्री पोख्रेलले विद्यार्थीहरुलाई भने । शिक्षकहरुसंग विद्यार्थीहरु बोल्न डराउने भएकोले मुख्यमन्त्री पोख्रेलले जायज तथा विषयवस्तुसंग संम्वन्धीत कुरा सोध्न नडराउन विद्यार्थीहरुलाई उनले आग्रह समेत गरे । परीक्षाका वेला नआत्तीएर आफुले जानेका कुराहरुवाट सुरु गर्नुपर्ने बताउदै मुख्यमन्त्री पोख्रेलले विद्यालयको नाम चिनाउने कुरामा पनि र विद्यार्थीले आफ्नो क्षमता अनुसार पढाईलाई अगाडी बढाउनुपर्ने विचार ब्यक्त गरे । करीव एक घण्टा भन्दा बढि मुख्यमन्त्री पोख्रेलले कक्षा कोठामा प्रवेश गरेर विद्यार्थी ज्ञानका कुरा सिकाएका थिए ।
तुलसीपुर उपमहानगरपालिकाबाट शुरु भएको भन्दै यो अभियान प्रदेशका सबै सामुदायिक विद्यालयमा पु¥याइने मुख्यमन्त्री पोख्रेलले बताए । सामुदायिक विद्यालयको स्रोतसाधन धेरै भए पनि निजी विद्यालयप्रति अभिभावक र विद्यार्थीको आकर्षण बढेको भन्दै सामुदायिक विद्यालयमा विद्यार्थीलाईं आकर्षणको केन्द्र बनाउनुपर्ने उनको भनाई छ ।
मुख्यमन्त्रीसगैं विद्यालय पुगेका प्रदेशसभा सदस्य उत्तर कुमार वलीले कक्षा ८ मा र तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले कक्षा १० को ‘बि’ मा पढाएर उक्त अभियानमा सहभागी भएका थिए । तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले शिक्षाको गुणस्तर वृद्धि गर्न यो कार्यक्रमले महत्वपूर्ण भूमिका निर्वाह गर्ने प्रतिक्रिया दिए ।
बिद्यालयका लागि मेरो एक दिन अभियानमा सामुदायिक बिद्यालयहरुमा जनप्रतिनिधि, राजनैतिक दल आबद्ध सामाजिक कार्यकर्ता, बिश्वबिद्यालय तथा प्राबिधिक बिद्यालयका प्राध्यापकहरु तथा प्रशिक्षक, सेवा निबृत कर्मचारी सहभागी हुनसक्ने प्रदेश नं. ५ को सामाजिक विकास मन्त्रालयका शैक्षिक योजना तथा अनुसन्धान महाशाखा प्रमुख उपसचिव थानेश्वर ज्ञवालीले बताए । यसका साथै सुरक्षा निकायका कर्मचारी, पत्रकार, शिक्षाविद्, सरकारी निकायका कर्मचारी, नागरिक समाज, समाजसेवी, खेलाडी, उद्योगी तथा व्यापारी, स्वास्थ्यकर्मी तथा अन्य पेशाकर्मी पनि अभियानमा सहभागी हुन सक्नेछन् । अभियानमा अभिभावकहरु एवम् सबै सरोकारवालाहरुले आ–आफ्नो दक्षता, बिज्ञता तथा गच्छे अनुसार विद्यालयमा शैक्षिक, भौतिक, आर्थिक र नैतिक पक्षमा स्वयमसेवी रुपमा योगदान गर्न सक्ने र एक दिन बिद्यालयमा स्वयमसेवी रुपमा काम गर्न चाहने, सचेत तथा जागरुक स्वदेशी बिदेशी सबैले अभियानमा सहयोग गर्न सक्ने मन्त्रालयले जनाएको छ ।
सामाजिक विकास मन्त्रालयका प्रवक्ता मित्रमणी खनालका अनुसार यस अभियानबाट प्रदेश सरकारले बिद्यालयहरुको पठनपाठनमा गुणात्मक सुधार हुने, बिद्यालयमा सहभागिता, पारदर्शिता र जवाफदेहिताा बढ्ने, शिक्षक र बिद्यार्थीको उपस्थिति दरमा सुधार आउने, बिद्यालय ब्यबस्थापन समिति तथा शिक्षकहरुको बिभिन्न क्षेत्रमा क्षमता अभिबृद्धि हुने अपेक्षा राखेको छ । यसैगरी स्वयमसेवी र बिद्यालयका बीचमा भाइचाराको सम्बन्ध बिकास हुने, बिद्यालयलाई स्रोत तथा साधनहरुको उपलब्धताका क्षेत्रहरु बृद्धि हुने, बिद्यालयमा मेरो एक दिन अभियानमा संलग्न हुने ब्यक्तिहरुमा आत्मगौरवको अनुभूति तथा सेवाभाव बढ्ने अपेक्षा छ ।
प्रदेश स्तरमा अनुगमन तथा मूल्याङ्कनको लागि सामाजिक बिकास मन्त्रीको अध्यक्षतामा मुख्यमन्त्री तथा मन्त्रिपरिषदका सचिव सदस्य, सामाजिक बिकास मन्त्रालयका सचिव सदस्य तथा सामाजिक बिकास मन्त्रालयका सम्बन्धित महाशाखा प्रमुख सदस्य र शिक्षा बिकास निर्देशनालयका निर्देशक सदस्य सचिव रहने गरी एउटा समिति रहने व्यवस्था छ । बिद्यालय तहमा व्यबस्थापन समिति र स्थानीय तहका शिक्षा शाखाले अनुगमन गर्ने नीतिगत व्यवस्था मिलाइएको छ । ति समिति तथा शाखाले सूचकहरुको आधारमा यस अभियानको अनुगमन र मूल्यांकन गर्नेगरी प्रणालीको बिकास गर्ने सामाजिक विकास मन्त्रालयले जनाएको छ ।