© २०२३
मुलुकमा अहिले लैंगिक हिंसाविरुद्ध १६ दिने अभियान चलिरहेको छ । अभियानमा हिंसा रोक्नको लागि सचेतना अपनाउनु पर्ने, कानुनलाई ध्यान दिनुपर्ने, मानबीय सभ्यतालाई ख्याल गर्नुपर्ने, मानिसमा कुन कारणबाट क्रुरता आउँछ त्यस्ता बस्तुहरू सेवन गर्न रोक्नुपर्ने लगायतका कुराहरू सिकाउने गरिएको पाइएको छ । लागूऔषधको सेवन तथा मद्यपान सेवन कार्यले लैँगिक तथा घरेलु हिँसा बढाएको कुरालाई कसैले पनि बिर्सन मिल्दैन । यसलाई मध्यनजर राख्दै अहिले कतिपय जिल्लालाई मदिरा निषेधित जिल्ला घोषणा गर्न थालिएको छ भने कतिपय प्रदेशमा साँझ चार बजेभन्दा अगाडि मदिरा बेच विखन र सेवन गर्न रोक लगाउने नीतिहरू अघि सार्न थालिएको छ । यसलाई कडाइकासाथ लागू गर्न सकियो भने लैंगिक हिंसा तथा घरेलु हिंसामा कमी आउने मान्यता राख्न सकिन्छ । तर, बुझ्नु पर्ने सैद्धान्तिक कुरा के हो भने मदिरा सेवनमात्र हिंसाको प्रमुख कारण हो भन्न सकिँदैन । मदिरा सेवन नगर्नेहरूबाट पनि लैंगिक तथा घरेलु हिंसा भएका तमाम उदाहरणहरू छन् ।
लैंगिक तथा घरेलु हिंसाको प्रमुख पेटारा हाम्रा धार्मिक पोथीपात्राहरू नै हुन् । मनुस्मृतिमा उल्लेख भएका मानबीय वर्गीकरण, आर्थिक सामाजिक वर्गीकरण, वर्ग विभाजित समाजको निर्माण नै प्रमुख कारण हो । कसैलाई तागाधारी र कसैलाई मतवाली भनेर त्यहाँ मानिकाबीचमा भेद ल्याइएको छ । महिला तथा सुद्रहरूले बेद पढेमा जिब्रो थुत्ने, सुनेमा कानमा लाहा पगालेर हालिदिने जस्ता धार्मिक कानुन ल्याइयो । त्यसलाई हाम्रा पुर्खाहरूले अक्षरसः पालना गर्दै आए । जसको कारण महिला तथा सुद्रहरूले पढ्न पाएनन् । पढ्न नपाएको कारणले नै उनीहरू हरेकखाले ज्ञानबाट वञ्चित भए । उनीहरूमाथि शोषण, दमन, अन्याय, अत्याचार बढाउने काम तागाधारीले नै गर्दै आए । भने जति दाइजो नपाएको रिसमा बुहारीलाई जिउँदै जलाउने काम तागाधारीबाट नै बढी हुने गरेको छ । घरमा श्रीमती हुँदाहुँदै पुरुषत्व देखाउन अर्को श्रीमती ल्याउने काम तागाधारीबाटै बढी हुने गरेको छ । मद्यपान गर्नेहरूलाई दोषको भागिदारी बनाएर फाइदा उठाउने काम उनीहरूबाटै हुँदै आयो । यो कुरा कसैले पनि भुल्न हुँदैन ।
हरेकखाले हिंसाहरू रोक्नको लागि सबैभन्दा पहिला राज्य नै हिंसारहित हुनुपर्छ । जहाँ राज्य नै हतियारको बलमा टिकाइन्छ, सत्तामा आसिन हुने ठूला नेताहरूको लागि दुनियाभरका सुबिधा र सुरक्षा दिइन्छ त्यहाँ जनतामा पनि त्यहिखाले संरचना बन्न थाल्छ । चाहे त्यो नमुनाको रूपमा नै किन नहोस् ? सरकारले पनि त्यस्तै संरचना बनाउन घोषित वा अघोषित रूपमा उत्प्रेरित गरिरहेको हुन्छ । किनभने उसको लागि त्यो एकखालको ढाल बनिदिन्छ । लैंगिक तथा घरेलु हिंसा यदि प्रणालीगत रूपमा नै रोक्ने हो भने सबैभन्दा पहिला संबिधानमा नै समानता ल्याउन सक्नुपर्छ । राष्ट्रपति, प्रधानमन्त्रीलगायत सरकारका उच्च ओहदामा बसेकाहरूको भान्सा र सरकारले घोषणा गरेको दलित तल्ला तहका कर्मचारीहरूको भान्साको मेस एउटै हुनुपर्छ । उनीहरूले बुझ्ने तलब रकम एउटै हुनुपर्छ । गाउँका जमीन्दार र हलो जोत्ने हलीको खाना एउटै हुनुपर्छ । के सासु ससुरा के बुहारी चेली एकैसाथ खाना खाने ब्यवस्था भयो भने त्यहाँ समानता आउँछ । तर, वर्ग विभाजित समाजमा यो सम्भव छैन । वर्ग विभाजन नै हरेकखालको शोषण, दमन, उतपीडनको जरो हो । लैंगिक तथा घरेलु हिंसाको जन्म पनि यही विभाजनले गरिदिएको हो । मादक पदार्थ सेवन त एउटा ब्यष्टिमात्र हुन सक्छ । जुन सरकारको लागि एउटा निहुँ बनेको छ । यदि मादक पदार्थ नै मुल कारक हो भने सरकारले मदिरा उत्पादन गर्ने डिष्टिलरीहरू किन बन्द गर्न खोज्दैन ? बस्तुलाई यसरी बुझ्नु आवश्यक हुन्छ ।