© २०२३
गुल्मी, चैत- गुल्मीको मुसिकोट नगरपालिका ८ मालारानीका कृषकहरु यतिवेला व्यवसायीक मौरी पालनमा आकर्षित बनेका छन् । अग्लो र पहारिलो गाउँको वरिपरि ढपक्क ढाँकिएको जंगलका कारण त्यहाँका कृषकहरुलाई मौरीपालनमा आकर्षित बनेका हुन । गत तीन वर्षअघि कृषि ज्ञानकेन्द्र गुल्मीकोे सहयोगमा ‘सालीमे मौरी स्मार्ट कृषि गाउँ’ कार्यक्रम लागु भएसँगै त्यहाँका कृषकहरु व्यावसायीक मौरी पालनमा लागेका हुन ।
मुसिकोट नगरपालिका अन्र्तगत ८ र ९ वार्डमा संचालित मौरी स्मार्ट कार्यक्रममा यतिबेला ५० जना कृषकहरु आबद्ध रहेका छन् । समूहमा आवद्धता जनाएका एउटा कृषकको घरमा न्यूनतम आठ घार मैरी रहेका छ । त्यस क्षेत्रका मौरीपालक कृषकहरुलाई व्यावसायीक बनाउँदै कृषकहरुको जीवनस्तर माथि उठाउने उद्देश्यले मुसिकोटमा मौरी स्मार्ट कृषि गाउँ कार्यक्रम लागु गरिएको कृषि ज्ञान केन्द्र गुल्मीका प्रमुख नवराज भण्डारीले बताए ।
शालीमे मौरी स्मार्ट कार्यक्रमका लागि कृषि ज्ञान केन्द्र मार्फत चार वर्षको अवधिमा एक करोड २५ लाख रुपैंया अनुदान उपलब्ध गराउने कार्यक्रम छ । उक्त कार्यक्रम अन्र्तगत कृषि ज्ञान केन्द्रले पहिलो वर्ष ५० लाख, दोश्रो वर्ष ३७ लाख ५० हजार, तेश्रो वर्ष २५ लाख र चौंथो वर्ष १२ लाख ५० हजार अनुदान उपलब्ध गराउँदै आएको छ ।
रापिलो भौगोलिक बनावट र वस्ती वरिपरि घना जंगल भएका कारण पनि मुसिकोटको मालारानी, मैदान, पुरानोगाउँ, अर्लाङ्गकोट लगायतका स्थानहरु मौरी पालनका लागि निकै उपयुक्त ठाउँ मानिन्छ । मौरीको लागि प्रशस्त मात्रमा चरन क्षेत्र भएको र वातावरण र हावापानी पनि सुहाँउदो भएका कारण मुसिकोटलाई मौरी पकेट क्षेत्रको रुपमा विकास गर्न शालिमे मौरी स्मार्ट कृषि गाउँ कार्यक्रम संचालन गरिएको मुसिकोट नगरपालिका प्रमुख जीवन खरेलले बताए ।
शालिमे मौरी स्मार्ट कृषि गाउँ कार्यक्रम अन्र्तगत मौरी पकेट समूहका अध्यक्ष चुमा घर्तिमगर त्यस क्षेत्रका मौरी विज्ञ हुन । उनको दिनचर्या भनेको बिहानदेखि बेलुकासम्मको समय मौरीसँग खेलेर बित्ने गर्दछ । चुमाको घरमा मात्र अहिले एक सय ५० मौरी घारहरु छन । चुमाले तिनै घारहरुवाट एक सिजनमा छ क्वीण्टल मह उत्पादन गर्दै आईरहेका छन । चुमा घर्तिमगर जस्तै मालारानीका खुम कुमारी छन्तेल, मोहन छन्तेल र अर्लाङ्कोटका टोपनारायण खरेल जस्ता दर्जनौ किसानहरुले सिजनमा एक लाख रुर्पैया भन्दा बढी मह बिक्रिबाट आम्दानी गर्ने कृषक हुन ।
कृषि ज्ञान केन्द्र गुल्मीले समय समयमा जिल्लादेखि मौरी विकास केन्द्र गोदाबरीदेखि विज्ञ प्रशिक्षकहरु मार्फत मौरी पालनको बारेमा कृषकहरुलाई जानकारी गराउनुका अतिरिक्त मौरीमा देखिने रोगकिराको समस्या पहिचान र कृषकहरुलाई समुहको तर्फवाट उद्यमशिलताका साथै क्षमता अभिवृद्धि तालीम उपलब्ध गराउँदै आएको मौरी स्मार्ट कृषि कार्यक्रमका संयोजक हरिप्रसाद आचार्यले बताएका छन ।
शालिमे मौरी स्मार्ट कृषि गाउँ कार्यक्रम अन्र्तगत पहिलो वर्षलाई आधार वर्ष, दोश्रो वर्ष मौरी वृद्धि वर्ष, तेश्रो वर्ष मह वर्ष र चौंथो वर्ष मौरी निर्यात वर्षका रुपमा वर्गिकरण गरिएको छ । यो वर्ष मह वर्ष भएका कारण त्यहाँका कृषकहरुले मह दिवश मनाउने तयारी गरेको शालिमे मैरी स्मार्ट कृषि गाउँ मौरी पकेट समूहका अध्यक्ष चुमा घर्तिमगरले बताए । मालारानीको मह विषाधि रहित, विभिन्न वनस्पती र फुलहरुको रसवाट उत्पादन भएको र विशुद्ध अर्गानिक भएका कारण पनि बजारमा यसको धेरै माग हुने गरेको छ । यहाँको मह स्थानीय बजारदेखि कोशेलीको रुपमा विदेशसम्म पुग्ने गर्दछ ।
मुसिकोट नगरपालिकालाई मौरी पर्यटकीय स्थलको रुपमा विकास गर्न आफुहरु लागि परेको भएपनि स्थानीय नगरपािलकाले भने सम्झौता अनुसार मौरी पकेट क्षेत्रलाई प्रत्यक वर्ष उपलब्ध गराउने भनेको अनुदान रकम उपलब्ध नगराएको भन्दै सालिमे स्मार्ट कृषि गाउँ मौरी पकेट समुहका अध्यक्ष चुमा धर्तिमगरले गुनासो गरे । शालिमे मौरी स्मार्ट कृषि गाउँमा अहिले ५० घरहरुमा गरि पाँच सय ५० भन्दा बढी मौरीका घारहरु छन ।