© २०२३
प्युठानको मल्लरानी गाउँपालिका–३ चौरपानीमा खानेपानीको ब्यबस्था मिलाउन स्थानीयबासीले आफ्नो वलबुताबाट निकै प्रयास गरे । गाउँमा पानी ल्याउन त्यति सहज थिएन । ठूलो लगानी लाग्थ्यो । स्थानीयबासीलाई घण्टौँ लाग्थ्यो एक गाग्रो पानी घरमा ल्याउनको लागि । यो समस्यालाई उनीहरूले नेताका कानमा पुराए । सरकारका सदरमुकामस्थित विकासे योजनामा पुराए । डेलिगेशन गए । निर्वाचनका बेलामा भोट माग्न आउने नेताहरूलाई गुनासा पोख्दै सहयोग गर्न अपिल गरे । नेताहरूबाट फोस्रा आश्वासन पनि पाए । त्यहि क्षेत्रबाट निर्वाचित भएकी संघीय जनप्रतिनिधि हुन् श्रीमती दुर्गा पौडेल । जसले योजनाविद् डा. गोविन्द पोखरेललाई झिनो मतले हराएकी थिइन् । योजनाविद् गोविन्द पोखरेल पनि सोही गाउँपालिका निकटका बासिन्दा हुन् । चाहेको भए उनले पनि त्यहाँ पानी ल्याउन पहल गर्न सक्थे । नेताहरूलाई त भोटमात्र चाहिएको थियो । चुनाव जितेपछि जनता किन आवश्यक पर्छन् र ? आफूहरूलाई मिनरल वाटर उपलब्ध भएपछि जनताको पेटमा पानी परोस् कि नपरोस् यो चासोको विषय हुँदैन । सदरमुकाम खलंगा देखि नजिकै रहेको चौरपानीमा पानीको लागि कतैबाट सहयोग नपाएपछि प्यासले छट्पटाएका जनताले पानी आन्दोलन शुरु गरे । यसपालिको तिहारमा रित्तो गाग्रो ठटाएर युवाहरू भैलो खेले । युवाहरूको नेतृत्वमा तीन दिनसम्म गाउँमा खेलेको भैलोबाट ६५ हजार रूपैयाँ नगद संकलन भयो । यसरी खेलिएको भैलेको तस्वीर सामाजिक सञ्जालमा आएपछि घरबाहिर भएका गाउँबासीबाट दुई लाख ७७ हजार रूपैयाँ समेत संकलन भयो ।
अहिले आएर त्यहाँ पानीको राजनीति शुरु भएको छ । राजधानी र सदरमुकाममा बस्ने नेताहरूको ध्यान खिचिएको छ । यसकारण पनि खिचिएको छ कि चौरपानीबासी जनताले राजनैतिक पार्टीका कार्यक्रमहरू नै बहिस्कार गरिदिए । पार्टीव्दारा राखिएका जुनसुकै कार्यक्रममा सहभागी नहुने गरी बहिस्कार गरेपछि भाषणलाई प्राथमिकता दिने नेताहरू समस्यामा परेका छन् । स्थानीय जनताले चाहेमा राजनीति नै ठप्प पारिदिन सक्छन् भन्ने कुराले नेताहरूलाई तर्साएको छ । पानी मानिसको लागिमात्र नभएर अन्य जीबजन्तुको लागि पनि नभई नहुने आधारभूत पेय हो । पानी विना एक दिनको जीवन पनि कल्पना गर्न सकिन्न । सरसफाइ, सिचाइँ, सबैचिजको लागि पानी नै चाहिन्छ । यस्तो महŒवपूर्ण चिजको लागि भुक्तभोगी जनताले कुरा उठाउँदा नेताहरूले सुन्दैनन् भने तिनीहरूलाई कसरी आफ्ना जनप्रतिनिधिको दर्जा दिने ? यहाँसम्म कि डा. गोविन्द पोखरेलको निबास रहेको रस्पुरकोटमा पनि पानीको हाहाकार छ । प्युठानका अधिकांश दुरदराजका बस्तीमा पानीको टड्कारो समस्या देखिएको छ । प्युठान त यतिबेला आन्दोलन उठेको स्थान भएकोले चर्चा भएको हो । यस्तो समस्या देशैभरी छ । खासगरी पहाडी बस्तीमा याो समस्या बढी देखिएको छ ।
अनावश्यक ढंगबाट डोजर जोतेर चुरे र माथिल्ला जंगलहरूमा सडक निर्माण गर्ने कार्यले पानीका मुहानहरू सुकेको सबैलाई छर्लंग छ । त्यसमाथि खोलाका ढुंगा, गिट्टी, बालुवा निकाल्ने, रुखहरू जथाभाबी कटान गर्ने कार्यले त्यत्तिकै प्राथमिकता पाएको छ । वन माफियाहरू, गिट्टी, बालुवा, ढुंगा निकासी गरेर कमाउन पल्केका नदी माफियाहरू मोटाउने गरेका छन् । उनीहरूको पहुँच सरकारका महŒवपूर्ण मानिससम्म जोडिएको छ । एकातिर हरियाली नष्ट भइरहेको छ भने अर्कोतिर बाढी पहिरोको समस्या बढ्दै छ । पानीका मुहानहरू सुक्दै गएका छन् । वातावरणीय सन्तुलन खल्बलिएको छ । हरियालीको अभाव हुँदैजाँदा बन्यजन्तु, चराचुरुंगीहरू लोप हुँदैछन् । पहिले बाह्रै महिना ठूलै पानी बग्ने बुटवलको तिनाउ नदी अहिले मंसिरको महिनामा पनि मरुभूमि देखिन थालेको छ । योमात्र हैन, हरेक ठूला साना नदीहरू पानी विहीन हुँदैछन् । यो कुरालाई गम्भीरताकासाथ लिनु आवश्यक छ । किनभने भोलिका दिनमा नदीको जलप्रबाहबाट उत्पादन हुने विद्युत गृहहरू पनि पानीको अभावमा बन्द हुन सक्छन् । सिंचाई प्रणाली डामाडोल हुन सक्छ । प्युठानको चौरपानी खानेपानीको समस्या पनि यस्तै कारणबाट जन्मेको हो । सरकारमा रहेर नीति निर्माण गर्नेहरूले यो कुरा बेलैमा सोँच्नु आवश्यक छ ।