© २०२३
कपिलवस्तुको चन्द्रौटामा जारी पाँचौं चन्द्रौटा कृषि, पर्यटन तथा औद्योगिक व्यापार महोत्सवमा दर्शकहरूको उत्साह दिनप्रति दिन बढ्दै गएको छ । महोत्सवका विविध आकर्षणले दर्शकहरूको उल्लेख्य सहभागिता बढेको आयोजकको दाबी छ । महोत्सवको सातौं दिन अर्थात बुधबार मात्र ११ हजार दर्शकद्वारा महोत्सव अवलोकन गरिएको महोत्सवका प्रवक्ता जगत पौडेलले जानकारी दिए । महोत्सव सोंचेभन्दा राम्रो भएको बताउदै सातौ दिन ४० लाख वढीको कारोबार भएको प्रवक्ता पौडेलले बताए ।
थारुहरूको कला, संस्कृति, भेषभुषा जगेर्नाका लागि महोत्सवमा पहिलो पटक प्राथमिकता दिइएको थारु सांस्कृतिक नृत्य प्रतियोगिताले पनि थारु समुदायको निकै चहलपहल बढेको थियो । कूल १२ वटा प्रतियोगी समूहले मंसिर ११ र १२ गतेका दिन आफ्ना प्रस्तुति देखाएका थिए । जसमध्ये ४ समूह छनौटमा परेको थारु सांस्कृतिक संयोजक जगतदेव चौधरीले जानकारी दिएका छन् ।
प्रतियोगितामा शिवराज नगरपालिका वडा ९ भगवानपुरको भगवानपुर गाउँ समाज समिति, शिवराज नगरपालिका २ डोंगरडिहवाको लुम्बिनी बाल तथा युवा क्लब, विजयनगर गाउँपालिका २ लोहरौलाको सूर्योदय सामाजिक सेवा संघ र बाणगंगा नगरपालिका वडा ७ मोतीपुरको नव जनशक्ति युवा संगठन फाइनल राउण्डको छनौटमा परेको थारु सांस्कृतिक संयोजक चौधरीले बताए । चार समूहको अन्तिम छनौट मंसिर १४ गते शुक्रबार हुने र नतिजा डान्स आइडलसँगै मंसिर १६ गतेका दिन सार्वजनिक गरिने संयोजक चौधरीले जानकारी दिए ।पटकको महोत्सवमा डान्स आइडल छनौटको लागि पहिलोपटक एस.एम.एस.बाट भोट दिने व्यवस्था मिलाइएको सुमन पौडेलले जानकारी दिए ।
साथै दर्शकको टिकटको अर्धकट्टी र निर्णायकको अंकको आधारमा डान्स आइडलको छनौट गरिएको पौडेलले बताए । डान्स आइडलले समेत दर्शकहरूको मन खिच्न सफल भएको आयोजकले जनाएको छ ।यसका साथै महोत्सवमा राखिएका धार्मिक एवं पर्यटकीय स्थलहरूको फोटो प्रदर्शनी अवलोकन र सेल्फी लिनेको भिडभाड बढेको छ । नेपालकै होंची किशोरीको प्रदर्शनी, स्थानीय कृषि उत्पादन, उद्योग, व्यापार, हस्तकलाको प्रदर्शनीले दर्शकलाई आकर्षित पारेको छ ।