© २०२३
सल्यानमा महिनावारि हुने छात्राहरूको समस्यालाई ध्यानमा राखेर विश्राम कक्ष निर्माण गरिएको छ । महिनावारि भएको बेला विद्यालय नै नजाने समस्या देखिएपछि विद्यालयमा छुट्टै विश्राम कक्ष निर्माण गरिएको हो । जिल्लाको कपुरकोट गाउँपालिकाले गाउँपालिका भित्र रहेका सबै माध्यामिक विद्यालयहरूमा छात्राको लागी आवश्यक सामग्रीको व्यवस्थापन सहित विश्राम कक्षको स्थापना गरिदिएको हो ।
विश्राम कक्षमा कुनै पनि छात्रा महिनावारि भएको बेला गएर आराम गर्न सक्ने, स्यानेटरी प्याड प्रयोग गर्न सक्ने र अत्यधिक दुखाइ भएमा औषधि समेत सेवन गर्न सक्ने व्यवस्था रहेको नेपाल राष्ट्रिय माध्यमिक विद्यालयका प्रधानाध्यापक सिट्टीसाप विष्टले जनाए । ‘पहिले पहिले महिनावारि भएको बेला छात्राहरू स्कुलमा आउँदैनथे । आएपनि पेट देखेको छ भनेर विचमै कक्षा छाडेर घर जाने गर्दथे,’ उनले भने, ‘अव महिनावारि भएका छात्रा निर्धक्क संग विश्राम कक्षमा गएर आराम गर्न सक्नेछन् ।’
विश्राम कक्षका लागी कपुरकोट गाउँपालिका भित्रका माध्यामिक विद्यालयहरूले एउटा छुट्टै कोठाको व्यवस्था गरेका छन् । जसमा गाउँपालिकाले आराम गर्नका लागी बेड, स्यानेटरि प्याड, प्रयोग गरेको प्याड राख्ने डस्वीन, टाउको, पेट देखेमा, ज्वरो आएमा, चोटपटक लागेमा प्रथमिक उपचार गर्ने आवश्यक औषधि र सामग्रीहरूको व्यवस्था गरिदिएको गाउँपालिकाका अध्यक्ष भिम बहादुर सेनले जानकारि दिए ।
उनले भने, ‘विशेष गरि पहिलोपटक महिनावारि हुने छात्राको लागी बढि पिडा हुन सक्छ । विद्यालयमा रहेको बेला महिनावारि भएमा छात्राहरू निकै समस्यामा पर्ने गर्छन् । त्यहि समस्या नहोस् भनेर हामीले छात्रा विश्राम कक्षको स्थापना गरिदिएका हौँ ।’ कुनै पनि विद्यार्थीको पढाइ प्रभावित नहोस् भन्ने आफ्नो चाहना रहेको जनाउँदै अध्यक्ष सेनले महिनावारि भएको बेलामा पनि अभिभावकले स्कूल पठाउनेपर्ने बताए ।
सल्यानका धेरैजसो विद्यालयमा शौचालय, आराम गर्ने ठाउँ नहुदा छात्राहरूले निकै समस्या व्यहोर्ने गरेका छन् । महिनावारि भएको बेला पाँच छ दिन सम्म स्कुल नआउने समस्या रहेको सम्बन्धीत विद्यालयका प्रअहरू बताउँछन् ।छात्रा विश्राम कक्ष निर्माण गर्ने कार्य नमुना र प्रभावकारि भएको भन्दै विद्यालयहरूले कपुरकोट गाउँपालिकाको प्रशंशा गरेका छन् ।
गत वर्ष अन्तराष्ट्रिय वालिका दिवसको अवसरमा आयोजित एक कार्यक्रममा कपुरकोट गाउापालिकाका अध्यक्ष सेनले विद्यालयमा छात्राहरूलाइ आराम गर्ने कोठा निर्माण गरिने प्रतिवद्धता गरेका थिए । त्यहि प्रतिवद्धता अनुसार हरेक विद्यालयमा किशोरिमैत्री शौचालय, रेष्ट रुम र सेनेटरि प्याडको व्यवस्था गरिएको हो । महिनावारि भएको बेलामा दैनिक सरफाइ गर्नु पर्ने र सन्तुलित खानाका साथै आरामको ब्यवस्था गराउनु पर्ने बारेमा विद्यालय स्तरमा जनचेतना फैलाउने कार्य पनि गरिरहेको प्रमुख प्रशासकीय अधिकृत सुवाश रिजालले जनाएका छन् । हाल सम्म पनि महिनावारि भएको बेलामा लाज मान्ने, खुलेर कुरा गर्न नसक्ने र सरफाइमा समस्या आउने भएकोले धार्मिक सँस्कार भन्दा पनि सरसफाइमा जागरुक गराउनु पर्ने उनको जोड छ ।