© २०२३
बुटवल, २४ फागुन । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा सञ्चालित समुदायमा आधारित नियमित सरसफाई र हरियाली प्रवद्र्धन अभियानको एक सयऔं श्रंखलामा आइपुगेको छ ।
सरसफाई र हरियाली प्रवद्र्धन अभियान २०७४ साल साउन ६ गते तत्कालीन नगर प्रमुख बासुदेव घिमिरेले शुरुवात गरेका थिए ।
नेपाली कांग्रेसबाट निर्वाचित मेयर खांणले पनि उक्त अभियानलाई निरन्तरता दिंदै ९९औं श्रृंखला पूरा गरी एक सयऔं श्रृंखलामा ल्याई पु¥याएका हुन् ।
आगामी चैत्र १ गते वृहत मानव साङलो सहित सरफसाई गरेर श्रृंखलाको एक सयऔं संस्करण पूरा गरी नगरलाई ‘नो हर्न नगर’ घोषणा गरिने बुधबार पत्रकार सम्मेलन गरेर नगरपालिकाले जनाएको छ ।
एकसयौं श्रृंखलालाई व्यापक जनसहभागिता जुटाएर सप्ताहव्यापी कार्यक्रमसहित गर्न लागिएको नगर प्रमुख रामकृष्ण खांणले बताए । जस अन्तर्गत विद्यालय स्तरीय वक्तृत्वकला तथा कला प्रदर्शनी प्रतियोगिता, नगर स्तरीय सरसफाई र रक्तदान कार्यक्रम गरिने नगर प्रमुख खाँणले जानकारी दिए । यसैगरी सामुदायिक÷संस्थागत विद्यालय तथा कलेज परिसर र शौचालय सरसफाई, आनन्दवन शंकरनगर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको सहकार्यमा लक्षित समुदायलाई १ हजार थान कम्पोष्ट विन वितरण र ३० गते मानव साङ्लोसहित सिक्सलेन सडक सरसफाई गरिने उनले बताए ।
श्रृंखलाको १ सयौं संस्करण चैत १ गते मुल समारोहसहित कुहिने र नकुहिने फोहोर अलग–अलग उठाउने कार्यक्रमको सुरुवात गरिने नगर उपप्रमुख जगेश्वर देवी चौधरीले बताइन् ।
मुल समारोहमा विभिन्न जातजाती तथा साँस्कृतिक झाँकी प्रदर्शन तथा अभियानमा सहभागी व्यक्तिहरुलाई सम्मान गरिने श्रृंखला मुल समारोह व्यवस्थापन समितिका संयोजक तथा कार्यपालिका सदस्य सुरेन्द्र श्रीले जानकारी दिए । नगरमा हाल ४० जना सरसफाईकर्मीद्वारा फोहर संकलनको काम भैरहेको तथा १७ वटै वडामा फोहरमैला संकलन तथा व्यवस्थापन हुँदै आएको उनले बताए । तिलोत्तमामा हाल दैनिक २८ टन कुहिने तथा नकुहिने फोहर उत्सर्जन हुँदै आएको छ ।
नगरपालिकामार्फत् नगर सरसफाईमा १९९ वटा टोल विकास संस्थाहरुको सरसफाई कार्यमा योगदान रहदै आएको छ । नगरपालिकावाट हाल ४० जना सफाईकर्मीहरु परिचालित छन् । तिलोत्तमा नगरपालिकामा हाल १७ वटैं वडामा फोहोरमैला संकलन तथा व्यवस्थापनको काम भएको छ ।
अन्तरक्रियामा बोल्दै नेपाल पत्रकार महासंघका अध्यक्ष रामराज पोखरेलले फोहोर व्यवस्थापनमा छिमेकी पालिकाहरुसँग पनि समन्वय गरि अघि बढ्न सके अभियानले सार्थकता पाउने सुझाव दिए ।
तिलोत्तमा नगरपालिका दुई वर्ष अघि नै खुल्ला पोलिथिनमुक्त नगरपालिका घोषणा भइसकेको छ भने अहिले पूर्ण सरसफाईयुक्त नगर घोषणाको क्रममा रहेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले बताए ।
ग्रीन तिलोत्तमा ः क्लिन तिलोत्तमा अभियानको क्रममा हालसम्म दुई लाख भन्दा बढी वहुगुणी फलफूल तथा वनस्पतिका विरुवाहरु नगरपालिकामार्फत् रोपिएका छन् । नगरपालिकाले सिटी फ्लावरको रुपमा बेगनबेली निर्धारण गरेको छ भने जन्मदिनमा कम्तिमा एउटा विरुवा रोप्न नगरबासीलाई आह्वान गरेको छ ।