© २०२३
बुटवल,२३ फागुन । जनयुद्धमा मारिएका व्यक्तिका आफन्तले प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरुद्ध मङ्गलवार सर्वोच्च अदालतमा रिट दर्ता गरेका छन्।
२८ जनाले संयुक्त रुपमा दिएको निवेदन दर्ता भएको हो। यसअघि सर्वोच्च अदालत प्रशासनद्वारा दरपिठ गरिएको रिट दर्ता गर्न भन्दै आदेश जारी भएको थियो।
अधिवक्ता ज्ञानेन्द्रराज आरणसहितका कानुन व्यवसायीहरुले प्रचण्डविरुद्धको जाहेरी दर्ता गरी उनलाई पक्राउ र कारबाही हुनुपर्ने आदेशको माग गर्दै सर्वोच्च अदालत पुगेका हुन् ।
यसअघि सर्वोच्च प्रशासनले राजनीतिक अभिव्यक्तिमा टेकेर पेश भएको निवेदन दर्ता हुन नसक्ने भन्दै दर्ता नहुने आदेश गरेको थियो । त्यसविरुद्ध परेको निवेदनमा न्यायाधीश ईश्वर खतिवडा र हरि फुयालको संयुक्त इजलासले शुक्रबार रिट दर्ता गर्न आदेश दिएको थियो ।
१ माघ २०७६ मा टुँडिखेलमा भएको एक कार्यक्रममा प्रचण्डले सशस्त्र द्वन्द्वकालमा मारिएका ५ हजारको जिम्मा आफूले लिने बताएका थिए । त्यही अभिव्यक्तिलाई लिएर प्रचण्डमाथि छानबिन गरी कारबाही गर्नुपर्ने माग गर्दै कानुन व्यवसायी रिट लिएर सर्वोच्च अदालत गएका थिए ।
रिटप्रति माओवादी केन्द्र र विभिन्न चिरामा विभाजित माओवादी घटकहरुले आपत्ति जनाएका छन् ।