© २०२३
जिल्ला सरकारी वकिल कार्यालय रूपन्देहीका प्रमुख जिल्ला न्यायधीवक्ता कोषहरि निरौला घुस रकम सहित पक्राउ परेका छन् ।
उनलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोग टंगाल, काठमाडौंको टोलीले मंगलबार पौने बाह्र बजे कार्यकक्षबाटै ८० हजार घुस रकमसहित पक्राउ गरेको हो । निरौलाले ठगीको मुद्दा मिलाइदिने भन्दै सेवाग्राहीसँग घुस लिएको अख्तियारका प्रवक्ता रामेश्वर दंगालले पुष्टि गरेका छन ।
निरौलाले आफ्नो कार्यकक्षको (घर्रा) ड्रवरमा उक्त रकम राखेका थिए । उनको ड्रवरमा रहेको नोटको फोटोकपि अख्तियारको टोलीले सँगै राखेको थियो ।
अख्तियारका अनुसार उनलाई सेवाग्राहीको गुनासोका आधार पक्राउ गरिएको हो । स्रोतका अनुसार निरौलाले सेवाग्राहीसँग फोनमा गरेको कुराकानीका आधारमा अख्तियारले उनलाई केही दिनदेखि निगरानीमा राखेको थियो ।
भारत राजस्थान बस्ने राजेश गुर्जरले देवदह नगरपालिका वडा नम्बर ६ बस्ने यशोदा भट्टराई माथी ठगिको मुद्दा हालेको र सोही मुद्दा मिलाउन भन्दै निरौलाले रकम माग गरेको श्रोतको भनाई छ । यशोदालाई गुर्जरले ३ लाख रूपैयाँ नेपालीलाई भारु बनाउन दिएको र सो रकम लिएर उनि हराएको भन्दै गुर्जरले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए । प्रहरीले आवश्यक अनुसन्धान गरि जिल्ला सरकारी वकिल कार्यालयमा मिसिल पेश गरे पनि समाचार तयार पार्दा सम्म उक्त मुद्दा रूपन्देही जिल्ला अदालतमा दर्ता भएको छैन । ५१ वर्षीय निरौला डेढ वर्ष अघि जिल्ला सरकारी वकिल कार्यालय रूपन्देहीको प्रमुख भएर आएका थिए । त्यसअघि उनी राजश्व अनुसन्धान कार्यालय काठमाडौं कार्यरत थिए । जन्मस्थल ओखलढुंगा जिल्ला भए पनि उनी पछिल्लो समय काठमाडौंमा बस्दै आएका थिए ।