© २०२३
बुटवल, १७ फागुन । नेपाल कप्युनिष्ट पार्टी (एमाले) को ‘मिसन ग्रासरुट’ अभियान बुटवलमा सुरु भएको छ । बुटवल उपमहानगरपालिका– १३ बेलवासमा आज एक कार्यक्रम गरी दुई महिने अभियानको औपचारिक सुरुआत गरिएको हो ।
कार्यक्रममा नेकपा एमालेका स्थायी समिति सदस्य तथा पार्टीका बिदेश विभाग प्रमुख डा राजन भट्टराईले पार्टीलाई बलियो बनाउन ग्रासरुट अभियानको थालनी गरिएको बताए । “एमाले तल्लो तहका कार्यकर्ताले जोगाएको पार्टी हो, यसमा अझै धेरैलाई जोड्न जरुरी छ”, उनले भने ।
माधव कुमार नेपाल, झलनाथ खनाल लगाएतका नेताले पार्टी छोड्दा एमाले सकिन्छ भनेर सोच्नेहरु अहिले दङ्ग परेको बताउँदै नेता भट्टराईले यो अभियानले पार्टी झनै बलियो बन्ने दाबी गरे । राष्ट्रिय राजनितीमा एमालेको भुमिका अझै प्रभावकारी बनाउन युवालाई पार्टीप्रती आकर्षण गर्न जरुरी रहेकामा उनको जोड थियो ।
देश र जनताको हितलाइ केन्द्रमा राखेर एमालेले निति कार्यक्रम बनाएको बताउँदै यसबारे तल्लो तहका कार्यकर्तालाई जानकारी गराउन तथा राष्ट्रिय एकता, र विकास निर्माणमा पार्टीले खेलेको भूमिकाबारे आमनागरिकलाई जनकार बनाउन अभियानलाई सफल पार्न उनले सबैलाई आग्रह गरे ।
“मुलुक इतिहासकै अफ्ठ्यारो मोडमा छ, अहिले अन्तर्राष्ट्रिय शक्ति मिलेर हामीलाई एक्ल्याउन खोजक छन् । प्रतिकुलतालाइ अनुकुलतामा बदलेर अघि बढ्न पार्टीलाई सबैको साथ आवश्यक छ”, उनले भने ।
एमालेका केन्द्रीय सदस्य बैजनाथ चौधरीले पार्टी अराजकताको अन्त्य गरी पार्टीलाई सशक्त बनाउन अभियान प्रभावकारी हुने विश्वास व्यक्त गरे ।
“पहिले एक समयमा सिङ्गो मुलुकको हेडक्वाटर बुटवल थियो । यो ठाउँले धेरै दिग्गज नेता जन्माएको छ, यस्तो ठाउँमा सिन ग्रासरुटले अझै सकारात्मक प्रभाव पार्नेछ”, उनले भने ।
अभियान अन्तर्गत प्रदेश तथा जिल्लास्तरका पार्टीका नेताहरुले वडादेखि पालिकास्तर सम्मका कार्यक्रताहरुलाई प्रशिक्षण दिइने छ । स्थानीय तह, संघ र प्रदेश निर्वाचनमा हार ब्यर्होनुको कारण र त्यसको कमीकमजोरीबारे पनि अभियानमा कार्यकर्तामाझ व्यापक छलफल गरी सुदृढीकरणमा जागरुक गराइने एमालेका जिल्ला अध्यक्ष तेजेन्द्र केसीले बताए ।
अभियान अन्तर्गत यही २० गते बुटवल उपमहानगरका १९ वटै वडा र २८ गते उपमहानगरका दुई सय ९९ टोलमा अभिमुखीकरण गरिने नगर अध्यक्ष किसन ज्ञवालीले जानकारी दिए ।