© २०२३
दशैं र तिहार सकिन्छ तबतब जिल्ला प्रशाशन कार्यालय गुल्मीमा सेवाग्राहीहरूको भीडभाड पनि ह्वात्तै बढ्ने गर्दछ । जसका कारण सेवादिने सेवा प्रदायक कार्यालयहरूलाई पनि सेवाग्राहीहरूलाई सेवा दिन समेत हम्मेहम्मे पर्ने गर्दछ ।
मानिसहरू वर्षदिनमा चाडवाड मनाउनकालागि भनेर आफ्नो कर्मथलोवाट घर आउने र त्यही घरमा आएको मौका छोपेर एकैपटक आफ्नो र आफ्नो परिवारको सरकारी कार्यालयमा कामकाज समेत फत्ते गरेर फर्कने भएका कारण यो समयमा सरकारी कार्यालयमा यसरी सेवा ग्राहीहरूको भीड बढ्ने गरेको हो ।
चाडवाड शुरु हुनु अघि सामान्य मात्रमा सेवा ग्राहीहरूको उपस्थिति हुने जिल्ला प्रशासन कार्यालय गुल्मीमा आजभोली सयौं मानिसहरू दशैं तिहार सकिएपछि पनि नागरिकता, राहदानी र अन्य सिफारिसकालागि विहानैदेखि दिनहुँ लाईनमा देखिन्छन् । कार्यालय समय शुरु हुनु अगाडि उनीहरू आफ्नो पालो चाँडै लगाएर काम फत्ते गरि घर फर्कने आशमा हातमा नागरिकता र राहदानीको सिफारिस वोकेर घण्टौसम्म लाईनमा वसेर उनीहरू पालो कुरि रहेका हुन्छन् ।
दैनिक सरदर ३० देखि ४० वटा सम्म नागरिकता वितरण र राहदानीको सिफारिस हुने जिल्ला प्रशासन कार्यालयमा अहिले दैनिक एक सय भन्दा वढी नागरिता वितरण हुने गरेको छ भने राहदानी वनाउन र सिफारिस गरि लैजानेहरूको संख्या पनि उत्तिकै मात्रमा रहेको जिल्ला प्रशासन कार्यालय गुल्मीले जनाएको छ । “दशै र तिहारले गर्दा होला यस पटक दैनिक एक सय २७ वटा जति नागरिकता वितरण गरियो, कार्यालयमा आउने सेवा ग्राहीहरूलाई समस्या नपरोस भनेर अन्य फाँटवाट साथीहरूलाई वोलायएर पनि सेवा प्रदान गर्दै आइरहेका छौं”, प्रशासकीय अधिकृत गोपाल प्रसाद पाण्डेले भने ।
नागरिकता फाँटका प्रमुख मेघप्रसाद पोख्रेलले यस पटक विगतमा भन्दा नागरिकता बनाउन आउनेहरू धेरै भएको वताए । त्यसैगरि प्रशासन कार्यालयमा नागरिकताको प्रतिलिपि लिने र अभिलेख प्रमाणित गर्न आउने सेवाग्राहीहरूको संख्या पनि यो पटक विगतमा भन्दा धेरै छ ।
दशै तिहार अगाडि दैनिक दशदेखि १५ जनाले नागरिकताको प्रतिलिपि लिने गर्दथे भने हाल दैनिक सरदर ४५ जना भन्दा वढीले प्रतिलिपि लिएर जाने गरेको प्रतिलिपि फाँटका कम्यूटर अपरेटर कृष्ण प्रसाद पन्थीले बताए ।
जिल्ला प्रशाशन कार्यालयमा यस सिजनमा भीडभाड बढ्ने भएकोले मानिसहरू नागरिकता वनाउनकालागि विहान नौं वजेदेखिनै कार्यालय परिसरमा पुगेर पालो पर्खनका लागि लाईमा बस्ने गर्दछन् । कतिपय मानिसहरू भने भिडभाडका कारण एकदिन कुरेर पनि आफ्नो काम फत्ते गरेर फर्कने गरेका छन् । सरकारी कार्यालयहरू मध्य सवै भन्दा बढी भीडभाड आजभोली जिल्ला प्रशासन कार्यालयमा देखिने गरेको छ । à