© २०२३
बुटवल,१० फागुन । आसन्न राष्ट्रपति चुनावलाइृ लिएर दलहरुबचि राजनिितक सरगर्मी तीब्र बनेको छ । यही क्रममा बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच बालुवाटारमा छलफल भएको छ ।
राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनका लागि चुनावी कार्यतालिका सार्वजनिक भइसकेपनि सत्ता गठबन्धनमा राष्ट्रपतिको उम्मेदवारबारे खासगरी माओवादी र एमालेबीच सहमति हुन सकेको छैन ।
पुस १० मा एमालेलाई राष्ट्रपति दिने सहमतिअनुसार प्रचण्ड प्रधानमन्त्री बनेका थिए । तर, प्रचण्डले अहिले राष्ट्रपतिमा १२ बुँदे पक्षधर एकठाउँमा उभिनुपर्ने भन्दै राष्ट्रिय सहमति हुनुपर्ने बताउँदै आएका छन् । यसमा एमाले सशंकित छ ।
नेपाली कांग्रेसले पनि राष्ट्रपतिमा समर्थन गर्न प्रचण्डसँग छलफल गरिरहेको छ ।
नेकपा एकीकृत समाजवादीले सचिवालय बैठक बोलाएको छ । दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बैठक बस्न लागेको पार्टीका महासचिव डा बेदुराम भुसालले बताए ।
बैठकमा अध्यक्ष नेपालले विकसित राजनीतिक घटनाक्रमबारे ब्रिफिङ गर्ने र राष्ट्रपतिको निर्वाचनको विषयमा पार्टीको धारणा बनाउने कार्यसूची छ ।
नेकपा एमालेका अध्यक्ष केपी शर्म ओलीले अध्यक्ष नेपाललाई भेटेर राष्ट्रपति दिएर पार्टी एकताको प्रस्ताव गरेको चर्चा छ । बैठकमा ओलीसँगको भेटबारे पनि अध्यक्ष नेपालले पार्टीमा जानकारी गराउने जनाइएको छ ।
उता महन्थ ठाकुरलाई भावी राष्ट्रपति बनाउनुपर्ने माग लिएर लोसपा नेताहरूले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेका छन् ।
प्रधानमन्त्री प्रचण्ड, कांग्रेसलगायतका दलले राष्ट्रिय सहमतिमा जोड दिइरहेको बेला त्यसका लागि उपयुक्त पात्र ठाकुर भएको भन्दै राष्ट्रपतिका लागि समर्थन गर्न लोसपा नेता धुम्वाराही पुगेका हुन् ।
प्रधानमन्त्री प्रचण्डबाट बारम्बार राष्ट्रिय सहमति भनिरहेकाले अहिले बाहिर आइरहेको नाममा ठाकुर नै उपयुक्त भएको लोसपाको जिकिर थियो ।
लोसपाका नेताले हिजोमात्र प्रधानमन्त्री प्रचण्डलाई पनि भेटेका थिए । भण्डारीले आफूहरू बालकोट पनि पुगेको जानकारी गराउँदै संसदमा रहेका सबै दलसँग आग्रह गर्ने जानकारी दिए ।