© २०२३
तिलोत्तमा नगरपालिका शान्तिनगरका उज्जरसिंह थापा र उनकी पत्नी घरमा प्रायःजसो मगर भाषा नै बोल्छन् । पतिपत्नीबीच मगर भाषामै कुराकानी र विचार साटासाट हुन्छ । उनकी बुहारीले सासु ससुराले मगर भाषामा बोल्दा नेपालीमै उत्तर दिन्छिन् अनि उनकी नातिनी निर्दिका आफ्ना हजुरबा आमा मगर भाषामा बोल्दा ट्वाल्ल पर्दै आफ्नी आमालाई सोध्छिन “ममी बाजेले के भनेका हुन र ?”
रानाको परिवारमा जस्तै समस्या छ भैरहवाका अब्दुल रहमानको परिवारमा पनि । मुस्लिम बुद्धिजिवी तथा शिक्षक समेत रहेका अब्दुलको परिवारका पाका पुस्ता आपसमा उर्दूमा कुराकानी गरेपनि पछिल्लो पुस्ता आपसमा अवधि वा नेपालीमै कुराकानी गर्छन् ।
उज्जरसिंह र अब्दुलको परिवारमा मात्र हैन लुम्बिनी प्रदेशका आफ्नै जातीय र क्षेत्रीय भाषा भएका धेरै जनजातिहरुको परिवारका पछिल्लो पुस्ताले आफ्नो घरपरिवारभित्र आफ्नो मातृभाषा बोल्न छोडिसकेका छन् ।
उच्च पहाड, चुरे, भित्रि मधेश र तराईमा फैलिएको लुम्बिनी प्रदेश भौगोलिक विविधता संगै भाषिक रुपमा समृद्ध रहेको छ । यो प्रदेशमा दश जना भन्दा धेरै वक्ताहरु रहेको भाषाहरु ४२ वटा रहेका छन् । यो प्रदेश मातृभाषा नेपाली भएका मानिसहरुको संख्या सबैभन्दा धेरै र चामलिंग तथा मुसहर भाषा बोल्नेहरुको संख्या सबैभन्दा कम रहेको छ । एघारौ राष्ट्रिय जनगणना २०६८ का अनुसार नेपाली मातृभाषा भएका मानिसहरु यहाँको जनसंख्याको ५३ प्रतिशत अर्थात २६ लाख २८ हजार २२ छ भने चामलिंग र मुसहर भाषाका वक्ताहरु १० जना मात्र रहेका छन् ।
लुम्बिनी प्रदेशमा ४२ वटा भाषाहरु बोलिने भएपनि एक हजार भन्दा धेरै मानिसहरुले बोल्ने भाषा १९ वटा मात्र रहेको केन्द्रीय तथ्यांक विभागको जनगणना प्रतिवेदनले देखाएको छ । प्रदेशको ९९.७ प्रतिशत जनसंख्या यिनै १९ वटा भाषाहरु बोल्ने मानिसको छ । प्रतिवेदनका अनुसार सरकारी कामकाजको भाषा नेपाली बाहेक दश हजार भन्दा धेरै जनसंख्या हुने ठुला भाषिक समूहहरु थारु, भोजपुरी, अवधि, मगर, उर्दु,मैथली नेवारी, , गुरुङ खाम, हिन्दी रहेका छन् । .मातृभाषा तामांग ,कुमाल,डोटेली,बोटे,खस,दरै, राई र शेर्पा भाषा भएकाहरुको जनसंख्या एक हजारदेखि सात हजारको बीचमा रहेको छ । जनगणना प्रतिवेदनलाई हेर्दा असामी,बराम, चेपांग,दैलेखी,दनुवार,गनगाई,घले, ह्योल्मो,लोहारुंग, मेचे र सिन्धी भाषीको जनसंख्या एक सय भन्दा कम भएको देखिन्छ ।
नेपालका थारु र अवधिभाषीको मुल थलोको रुपमा रहेको नारायणी पश्चिमीको तराईमा पछिल्ला ६० वर्षमा यो क्षेत्रको दुई भाषालाई मातृभाषाको रुपमा बोल्नेहरुको अनुपात निरन्तर घटिरहेको छ । वि.सं.२०११ सालमा नारायणि पश्चीमको तराईमा अवधी र थारु भाषा बोल्नेहरुको जनसंख्या क्रमश ४९ प्रतिशत र ४० प्रतिशत भएकोमा वि.सं. २०६८ मा यो जनसंख्या करिब १० प्रतिशत र २२ प्रतिशतमा झरेको देखिन्छ । वि.सं.२०११ सालमा साबिकको लुम्बिनी अञ्चलको तराईका जिल्लामा थारु मातृभाषीको जनसंख्या करिब २० प्रतिशत रहेकोमा पछिल्लो जनणनामा यो संख्याा ८ प्रतिशतमा झरेको छ र सोही समयमा अवधि मातृभाषा बोल्नेहरुको संख्या ७४ प्रतिशतबाट १६ प्रतिशतमा झरेको देखिन्छ । वि.सं. २०११ द्येखि २०६८को अवधिमा पश्चिमी तराईमा मातृभाषा नेपाली बोल्नेहरुको जनसंख्या भने ७ प्रतिशतबाट बढेर ३५ प्रतिशत भएको थियो ।
वि.स.ं २०४८ सालसम्म पश्चिमी तराईका जिल्लाहरुमा जस्तै लुम्बिनी प्रदेशमा नेपाली मातृभाषीहरुको संख्या निरन्तर बढिरहेको भएपनि त्यसपछिको अवधिमा नेपाली भाषालाई मातृभाषाको रुपमा बोल्नेहरुको जनसंख्या कूल जनसंख्याको ५७ प्रतिशत बाट घटेर ५२ प्रतिशत भएको छ । त्यसैगरी सोही अवधिमा भोजपुरी, अवधि, हिन्दी र राई बोल्नेहरुको संख्या घटेको तथा थारु, मगर,उर्दु, मैथली, नेवारी, गुरुङ, तामाङ भाषीहरुको जनसंख्या अनुपात बढेको देखिन्छ । तर जनगणनामा मातृभाषीको संख्या बढेको देखिनुलाई मातृभाषाको प्रयोग बढेको मान्न सकिदैन । जनजाति र मुस्लिमहरुमा हाम्रो समुह भन्ने भावना बढेको र संख्याको राजनीति बढी हुने भएकोले संख्यात्मक रुपमा ठुलो समुह देखिनको लागि पनि नेपाली वा अन्य मातृभाषा बनाएकाहरूले समेत जनगणनामा आफ्नो जातीय भाषालाई मातृभाषा लेखाएका छन् ।.त्यसैगरी जातीय मातृभाषाको बढी प्रचलन रहेका कर्णाली, धौलागिरी र गण्डकी अञ्चलका मानिसहरु बसाई सरेर लुम्बिनी प्रदेशका तराई क्षेत्रमा आएकोले पनि यो क्षेत्रमा मातृभाषाका वक्ताहरुको जनसंख्या अनुपात बढेको हो । प्रचलनमा कम र तथ्यांकमा बढी मातृभाषी देखेर खुशी मान्नुपर्ने अवस्था छैन ।
लुम्बिनी प्रदेशमा बोलिने अवधि, भोजपुरी क्षेत्रिय र मैथली तथा उर्दु सांस्कृतिक भाषा भएको अन्य भाषाहरु जातीय भाषाको रुपमा बोलिने गरेको पाइन्छ । पछिल्लो समयमा एकल जातीय भाषाहरु बोल्ने क्रम घट्दै गएको देखिन्छ । एघारौँ जनगणनालाई आधार मान्दा जनजातिहरुले आफ्नो भाषा बोल्न छोड्दै गएको देखिन्छ । यो क्षेत्रमा बसोबास गर्ने ९० प्रतिशत शेर्पा, ५६ प्रतिशत गुरुङ तथा ५५ प्रतिशत तामाङहरुले मात्र आफ्नो जातीय भाषालाई मातृभाषाको रुपमा बोलेपनि लुम्बिनी प्रदेशमा दोश्रो ठुलो जनसंख्या समूहको रुपमा बसोबास गर्ने मगरहरु मध्ये एक तिहाइले मात्र मगर वा खामभाषालाई आफ्नो मातृभाषाको रुपमा बोल्ने गरेका छन् । नेपालमै दरै, कुमाल जातिको ठुलो जनसख्या रहेको यो प्रदेशमा ५७ प्रतिशत दरै र ९२ प्रतिशत क’मालले आफ्नो मातृभाषा बोल्न छोडिसकेका छन् ।
ऐतिहासिक रुपमा आफ्नै थातथलोमा बसिरहेकाहरुले भन्दा बसाई सरेर आएकाहरुले मातृभाषा विर्सदै जाने भाषाविदहरु बताउँछन् । मिश्रित समुदायमा मातृभाषामा सामाजिक सम्वाद हुन कठिन हुने र मातृभाषा बोल्दा असहज महसुस हुने भएकोले मातृभाषाका वक्ताहरु घर बाहिर आपसमा कुराकानी गर्दा पनि राष्ट्रिय वा क्षेत्रीय भाषा प्रयोग गर्ने भएकोले विस्तारै परिवार भित्र पनि आफ्नो मातृभाषा बोल्न छोड्ने गरेको भेटिन्छ । लुम्बिनी प्रदेशमा तिब्र बसाइसराइ भैरहेकोले यो प्रदेश भन्दा बाहिर उद्गम थलो भएका जनजातिहरुमा मातृभाषा बोल्नेको संख्या कम भएको देखिन्छ ।
देशको फरकफक भुगोल र संस्कृतिबाट आएका मानिसहरुले साझा भाषाको रुपमा नेपाली भाषालाई अपनाउदा तराईमा स्थानीय मातृभाषाहरु चेपुवामा परेको आरोप लागिरहँदा पहाडी क्षेत्रमै पनि जातिय र स्थानीय मातृभाषा बोल्नेहरुको संख्या घट्दै गएको पाईएको छ । लुम्बिनी प्रदेशका पहाडी जिल्लाहरुमा मगरहरुको जनसंख्या करिव ५ लाख भएपनि यी जिल्लाहरुमा मगर भाषा बोल्नेहरुको जनसंख्या करिब एकलाख ३७ हजार र खाम भाषा बोल्नेहरुको संख्या १२ हजार मात्र रहेको छ । पाल्पा जिल्लाका ६५ प्रतिशत मगरहरुले मगर भाषालाई मातृभाषाको रुपमा बोल्ने गरेको भएपनि अर्घाखाँचीका ७ दशमलव ६ प्रतिशत मगरहरुले मात्र मगर वा खाम भाषा बोल्ने गरेको जनगणना तथ्यांकले देखाएको छ । त्यसैगरी यहाका पहाडी जिल्लाहरुमा २५ हजार ७१० जना कुमालहरुको बसोबास रहेपनि दुई हजार ७६८ जनाले मात्र कुमाल भाषालाई मातृभाषाको रुपमा अपनाएको पाईन्छ ।
वि.स. २०४६ साल पछि देशमा क्षेत्रीय र जातीय समूहहरुमा मातृभाषा प्रतिको चेतना बढ्दै गएको छ । पछिल्लो पुस्तालाई मातृभाषा सिकाउनको लागि विभिन्न क्षेत्रमा मातृभाषाका विद्यालयहरु खुलेका भएपनि सम्बन्धित भाषिक समूहका अभिभावकहरु र सरकारी निकायले चासो नदेखाएपछि रोल्पा, दांग, कपिलवस्तु, पाल्पाका प्रायःजसो मातृभाषाका विद्यालयहरु बन्द भैसकेका छन् । राज्यले शिक्षामा बह’भाषिक नीति ल्याएको भएपनि मातृभाषा पढ्दा बालबालिकाको ज्ञानको भण्डार साँघुरो हुने र विश्वबजारमा प्रतिष्पर्धा गर्न कठिन हुने ठानेर अभिभावकहरुले नै बालबालिकालाई मातृभाषा भन्दा पनि अंग्रेजीलाई प्राथमिकता दिने गरेको तथा राज्यले मातृभाषा अध्ययन गरेकालाई अवसर नदिदा मातृभाषामा शिक्षा र बहुभाषिक शिक्षा नीति सफल हुन नसकेको मातृभाषाका अभियन्ताहरु बताउछन् ।
मातृभाषा आपसी कुराकानी र सम्पर्कको माध्यम मात्र नभएर स्थानीयता, लोकगाथा र लोकपरम्परा जस्ता कुराको रक्षक पनि हो । अहिले जताततै पहिचानको कुरा उठिरहेको छ तर पहिचानको मुख्य आधार मातृभाषाको बारेमा खासै चासो राखेको पाइदैन ।. जबसम्म मातृभाषाको प्रयोगलाई शिक्षा, आमसञ्चार, न्यायालय, प्रशासन आदि जस्ता निकायमा विस्तार गरिँदैन या पहुँच पुग्दैन, तबसम्म मातृभाषाको दिगो विकास हुन सक्दैन । नयाँ पुस्तालाई मातृभाषाको महत्व बुझाउँदै भाषालाई पुस्तान्तरण गर्न र भाषाको प्रयोग विस्तारलाई नै ध्यान दिन सकिएन भने आउदो दशकको अन्त्य सम्ममा यो प्रदेशबाट धेरै मातृभाषाहरु हराएर जाने देखिन्छ ।