© २०२३
बुटवल, ८ फागुन । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले जनताको जनजिविकाको पक्षमा संघर्ष गर्ने भएको छ । केन्द्रीय प्रदेश समन्वय समिति लुम्विनीको वैठकले यस्तो निर्णय गरेको पार्टीका प्रदेश अध्यक्ष सुदर्शन वराल बताए ।
माओवादी केन्द्रले तय गरेको संघर्षको कार्यक्रमहरुमा विभिन्न सरकारी निकाय तथा अन्य स्थानमा भएका भ्रष्टाचार, ढिला सुस्ती, विकृती विसंगती विरुद्ध वाई.सि.एल तथा विधार्थी, पत्रकार संगठनद्धारा जनसमुदायसंग सहकार्य गर्दै वैधानिक रुपमा प्रतिवाद गर्ने पहिलो नम्बरमा रहेको छ । यस्तै विभिन्न पेशागत संगठनहरुद्धारा आफ्नो वर्ग, पेशा वा समुदायको पक्षमा न्यायोचित मागहरुका साथ समुदायलाई संगठित गर्ने र ति मागहरुको कार्यान्वयनका लागि आवश्यक पहल गर्ने÷ जनताको जनजिविकाका सवालमा संवेदनशिल भई आवाजहरु उठाउने र समाधानको लागि पहल गर्ने, हालैका दिनहरुमा प्रदेशभर लघु वित्तिय संस्थाहरुबाट हजारौ जनसमुदाय पिडित भएको गुनासो आएको र जनसमुदायले त्यस विरुद्धमा संघर्ष गर्दै आएकाले पिडितहरुप्रति ऐक्यवद्धता जाहेर गर्दै त्यसको तत्काल उचित समाधानको लागि सरकारसंग पहल गर्ने र आवश्यक समन्वयका लागि किसान संगठनले पहल गर्ने रहेका छन् ।
यसैगरी कपिलवस्तु, नवलपरासी लगायतका जिल्लाका उखु किसानहरुले प्राप्त गर्नु पर्ने रकम लामो समयदेखि प्राप्त गर्न नसकेको भन्ने गुनासो आएकाले भूक्तानीका बारेमा किसान संगठनले संयोजन गर्देे आवश्यक पहल गर्ने निर्णय गरेको प्रदेश अध्यक्ष बरालले जानकारी दिए ।
महंगी नियन्त्रण गर्न, मल, विउ लगायतको यथासमयमा उपलव्धता आदिका लागि सरकारसंग पहल गर्ने निर्णय पनि माओवादीले गरेको छ ।
प्रदेशका कतिपय जिल्लामा सहकारी संस्थाहरुबाट जनता पिडित भएको, संस्थामा अनियमितता भएका कारण सर्वसाधारण जनताको निक्षेप जोखिममा रहेको भन्ने रिपोर्टहरु प्राप्त भएकाले सम्वन्धीत निकायलाई आवश्यक नियमन र व्यवस्थापनको लागि पहल गर्ने, सर्वसाधारण जनसमुदायको संघर्षमा आवश्यक सहयोग गर्ने तथा जनसमुदायको लगानी डुब्न नदिन आवश्यक पहलकदमी लिने निर्णय गरेको प्रदेश अध्यक्ष बरालले जानकारी दिए ।