© २०२३
बुटवल,६ फागुन । पूर्वराजा ज्ञानेन्द्र शाहले दलहरूलाई राजसंस्थासँग सहकार्य गर्न आह्वान गरेका छन् । प्रजातन्त्र दिवसका अवसरमा सन्देश जारी गर्दै पूर्वराजाले देश अधोगतिमा जान लागेको भन्दै देश जोगाउन सहकार्यको आवश्यकता रहेको औँल्याएका हुन् ।
जनताले चाहेको निर्णय स्वीकार गर्ने परम्परा र संस्कार आफ्नो वंशमा रहेको उल्लेख गर्दै शाहले अहिले देशको दीर्घकालीन शान्ति, स्थिरता, अन्तर्राष्ट्रिय सम्मान र सार्वभौमिकतामा चिरा पर्न थालेको भन्दै चिन्ता व्यक्त गरेका छन् ।
देश जोगाउन प्रजातन्त्रका लागि अपरिहार्य राजनीतिक दलहरू र देशभक्तिपूर्ण ऐतिहासिक विरासत बोकेको राजसंस्था आएर आपसी विश्वासका साथ सहकार्यका लागि विलम्ब गर्नुहुँदैन– पूर्वराजाको विज्ञप्तिमा भनिएको छ ।
नेपाल एकीकरणको २४० वर्षपछि शासकीय सत्ता जनताको नासो जनतालाई आफूले बुझाएको उल्लेख गर्दै शाहले अहिले देश कुशासन, भ्रष्टाचार, निराशलाग्दो आर्थिक शिथिलता र सामाजिक विग्रहको चपेटामा फसेको बताएका छन् ।
उनले अब आफू अब मौन रहन नसक्ने बताएका छन् ।