© २०२३
बुटवल, ६ फागुन । नेकपा एमालेका केन्द्रीय सदस्य दुर्गा प्रसाईंलाई पार्टीबाट निष्काशन गर्न एमाले प्रदेश १ कमिटीले केन्द्रीय कमिटीलाई सिफारिस गरेको छ।
एमाले प्रदेश कमिटीको बैठकले मेडिकल व्यवसायीसमेत रहेका प्रसाईंले पार्टीको नीति, सिद्धान्तविपरीत गतिविधि गरेको भन्दै उनलाई पार्टीबाट निकाल्न केन्द्रसँग अनुरोध गरेको हो।
एमाले केन्द्रीय सदस्य प्रसाईंले यही फागुन १ गते पूर्वराजा ज्ञानेन्द्र शाह तथा उनका छोरा पारसलाई सहभागी गराई मेचीनगर–६ मा नागरिक बचाउ महाअभियानको उद्घाटन गरेका थिए। कार्यक्रममा पूर्वराजासँगै पूर्वरानी कोमल शाह, पूर्वराजकुमार पारस, पूर्वराजकुमारी शिताष्म शाह सहभागी भएका थिए। त्यसयता प्रसाईं विवादमा परेका हुन्।
त्यसैगरी बैठकले ८१ जना प्रदेश कमिटी सदस्यलाई कारबाही गरेको छ।
एमाले प्रदेश कमिटीका सचिव चिन्तन पाठकका अनुसार प्रदेश कमिटीको जिम्मेवारीमा रहेर ५ पटकसम्म बैठकमा अनुपस्थित भएकाहरूलाई पार्टीबाट हटाउने निर्णय गरेको हो।
बैठकमा उपस्थित नभएका र प्रदेश कमिटीको कुनै पनि गतिविधिमा संलग्न नभएका ८१ जनालाई जिम्मेवारीबाट हटाइएको नेता चिन्तन पाठकले बताए।
स्थानीय तहदेखि प्रदेश र प्रतिनिसभाको निर्वाचनमा पार्टीविरुद्ध बागी बनेहरूलाई पार्टीबाट निष्कासन गरिएको पाठकले बताए।