© २०२३
तिलोत्तमा, ५ फागुन । तिलोत्तमा–६स्थित डन मोडल एकेडेमीले खाना महोत्सव तथा पुरस्कार वितरण कार्यक्रम भएको छ । कार्यक्रममा विद्यालयमा कक्षा ७ र ८ मा अध्ययनरत विद्यार्थीहरुले सात वटा स्टलमा २० भन्दा बढी खानाका परिकारहरु राखेर विक्रि गरेका थिए । सबै खानाका परिकारहरु विद्यार्थीहरुले आफै बनाएका थिए । पाक शिक्षा जिवनका लागि चाहिने अनिवार्य शिक्षा रहेको र विद्यार्थीहरुमा पाक शिक्षाको विकास गर्न तथा उनीहरुसँग भएको सिपलाई तिखार्न उक्त महोत्सवको आयोजना गरिएको विद्यालयका प्राचार्य सीताराम भट्टराईले बताए ।
खाना महोत्सव सँगै गत माघ २३ गते देखि २७ गते सम्म भएको खेलकुद सप्ताहमा विभिन्न खेलकुद प्रतियोगिताका विजेता विद्यार्थीहरु एवं अभिभावकहरुलाई मेडल तथा प्रमाणपत्र वितरण गरियो । विद्यालयका सह–प्राचार्य सन्तोष पौडेल तथा अतिरिक्त क्रियाकलाप संयोजक ज्योति रेग्मीले सञ्चालन गरेको पुरस्कार वितरण कार्यक्रम विद्यार्थी एवं अभिभावक गरी करीब १५०० व्यक्तिहरुको उपस्थिति रहेको थियो । खाना महोत्सवले विद्यार्थीहरुले सैद्धान्तिक ज्ञानलाई व्यवहारिक ज्ञानमा सजिलै उतार्न सक्छन् भन्ने प्रमाणित भएको प्रबन्ध निर्देशक यज्ञराज अर्यालले बताए । प्रमाणपत्र वितरण कार्यक्रमको समापन गर्दै आगामी वर्षहरुमा पनि अझ बढी प्रभावकारी रुपमा खेलकुद, खाना महोत्सव लगाएत अन्य कार्यक्रमहरु संचालन गरिने कुरा अध्यक्ष शिवकुमार पाठकले बताए । विद्यालयले फागुन १२ गते शुक्रबार विज्ञान प्रर्दशनिको आयोजना गरेको सह–प्राचार्य सन्तोष पौडेलले जानकारी दिए ।